
मटिहानी नगरपालिकास्थित लक्ष्मी सागरमा शनिबार लक्ष्मीनारायण भगवानको साप्ताहिक सन्ध्या आरतीको चौथो वार्षिकोत्सव मनाइँदै छ। शुक्रबार नगरप्रमुख हरिप्रसाद मण्डलको अगुवाइमा नगरपालिकाका कर्मचारीसँगै स्थानीय युवाहरू सरसफाइमा शुक्रबार व्यस्त देखिए। यो व्यवस्था भने यही आयोजनाको लागि नभई लक्ष्मी सागरमा हुने गरेको साप्ताहिक आरती र विशेष पूजाआजाको अवसरमा नियमित रूपमा देखिने गरिएको छ।
झट्ट सुन्दा यो सामान्य कुरा भए पनि मटिहानीनिवासी हिन्दु र मुस्लिम दुवै समुदायका युवाहरूले यसलाई विशेष बनाइदिएका छन्। उनीहरू मटिहानीस्थित दुवै धर्मका धार्मिक स्थलहरूमा सामूहिक सरसफाइ गर्दै धार्मिक सहिष्णुताको अनुकरणीय उदाहरण प्रस्तुत गर्दै छन्।
मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल भन्छन्, ‘हाम्रो मटिहानीमा हिन्दु वा मुस्लिम जुनसुकै धर्मका धार्मिक कार्य हुँदा दुवै धर्म अनुसरण गर्ने युवाहरू एक-अर्काको सहयोगमा तत्पर रहन्छन्। यहाँ युवाको ध्येय हिन्दु वा मुस्लिम जुनसुकै धर्मको अनुष्ठान कसरी सफल गर्न्र भन्नेमा हुने गरेकाे छ। म हिन्दु छु, म कसरी मजारमा गएर सरसफाइ गरुँ? वा म मुस्लिम छु, म कसरी साप्ताहिक आरतीस्थलमा गएर सरसफाइमा सहभागी होऊँ? भन्ने माहोल छैन,’ उनकाे भनाइ छ, ‘हरेक वर्ष हुने दुर्गा विसर्जनमा मटिहानीका सबै नागरिक माता दुर्गाको प्रतिमा नगरपरिक्रमा गर्दा नतमस्तक हुन्छन्। मटिहानीमा मुस्लिम परिवारले दुर्गा विसर्जनको वेला आफ्नो आँगनअगाडि प्रतिमाको स्वागत गर्छन्। हामी पिर बाबा र तस्मैया बाबाको समयदेखि सबै नगरवासी एउटै परिवार छौँ।’
मटिहानी नगरपालिकाका कर्मचारीसमेत रहेका मोहम्मद इसराफिल राइन भन्छन्, ‘मैले मटिहानीमा धर्मकै कारण लडाइँ देखेको छैन। यहाँका सबै धार्मिक तथा सामाजिक कार्यमा हामी सबै युवाको समान सहभागिता हुने गरेकाे छ।’