मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ४ शुक्रबार
  • Tuesday, 18 February, 2025
डा. भवानीशंकर भट्टराई/डिल्ली निरौला
२o८१ श्रावण ४ शुक्रबार ११:१९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गुरुकुलीय शैक्षिक पद्धतिका प्रभाव

Read Time : > 2 मिनेट
डा. भवानीशंकर भट्टराई/डिल्ली निरौला
नयाँ पत्रिका
२o८१ श्रावण ४ शुक्रबार ११:१९:oo

संस्कृत शिक्षाको रोजगारी क्षेत्र स्पष्ट नभएको अवस्थामा पनि गुरुकुलप्रति विद्यार्थी आकर्षित भई राम्रो नतिजा ल्याउनुले सकारात्मक सन्देश दिएको छ

केहीअघि प्रकाशित एसइई नतिजा (२०८०) मा कोशी प्रदेशका गुरुकुल र संमाविको नतिजा तुलनात्मक रूपमा राम्रो देखिएको छ । कोशी प्रदेशमा सञ्चालित आठ गुरुकुल तथा चार संमाविबाट १८७ जना विद्यार्थीले एसइई दिएकामा १३२ विद्यार्थी विभिन्न ग्रेडमा उत्तीर्ण भई ११ कक्षा पढ्नयोग्य देखिएका छन् । देशभरिका सामुदायिक विद्यालयबाट ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भइरहँदा कोशी प्रदेशका गुरुकुल र संमाविबाट भने ७० प्रतिशतभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् ।

आवासीय संरचनामा सञ्चालित गुरुकुलहरूको मात्र नतिजा हेर्दा यो प्रतिशत अझ माथि पुग्छ । यस प्रदेशका आठवटा आवासीय गुरुकुलबाट १२९ विद्यार्थीले एसइई परीक्षा दिएकामा १०६ जना अर्थात् ८२.५ प्रतिशत उत्तीर्ण भएका छन् । तीमध्ये केहीले ३.६ भन्दा माथि जिपिए ल्याएका छन् । दुई गुरुकुलले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । यस्ता गुरुकुलमा राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुल संमावि चतरा सुनसरी र जलजलेश्वर गुरुकुल संमावि ओखलढुंगा रहेका छन् । अन्य गुरुकुलको उत्तीर्ण प्रतिशत पनि उत्साहजनक छ । संस्कृत शिक्षाको रोजगारी क्षेत्र स्पष्ट नभएको अवस्थामा पनि गुरुकुलप्रति विद्यार्थी आकर्षित भई राम्रो नतिजा ल्याउनुले सकारात्मक सन्देश दिएको छ । यसले गुरुकुलको निजी तहको संरचना सबल छ, यसमा समुदायको पूर्ण साथ र सहयोग भएको पुष्टि गरेको छ । कोशीमा सञ्चालित अन्य गुरुकुलले पनि उत्साहजनक ढंगले कक्षोन्नति गरिरहेका छन् । थप एक दर्जनभन्दा बढी विद्यालयले यस वर्ष कक्षा ८ को वार्षिक परीक्षा चलाएका छन्, केही आधारभूत तहका बीचतिरै छन्, अबको पाँच वर्षपछि यीमध्ये धेरै गुरुकुल एसइईमा सहभागी हुनेछन् ।

हाल कोशीमा सञ्चालित सामुदायिक संस्कृत माविबाट ५८ विद्यार्थी एसइईमा सहभागी भएकामा ३२ जना अर्थात् ५५.१७ प्रतिशत उत्तीर्ण भएका छन् । यो नतिजा गुरुकुलसामु केही निराशाजनक देखिए पनि समग्र देशको उत्तीर्ण प्रतिशतभन्दा चाहिँ राम्रो छ ।     

कोशीमा गुरुकुल र संमावि गरी ५५ संस्कृत विद्यालय छन् । तीमध्ये झापामा २५, मोरङमा १२, सुनसरीमा पाँच तथा अन्य जिल्लामा १३ छन् । यीमध्ये सात विद्यालयमा कक्षा १२ सम्मको र १२ वटा विद्यालयमा १० कक्षासम्मको पठनपाठन भइरहेको छ । कक्षा १० सम्म पढाइ सञ्चालन गरिरहेका यी १२ संस्कृत विद्यालयमध्ये आठवटा दानदातव्य एवं सरकारको नगण्य अनुदानबाट चलेका छन् भने बाँकी चारवटा चाहिँ सामुदायिक विद्यालयसरह सञ्चालित छन् । सामुदायिक संमाविमध्ये धेरै दिवाकक्षाको संरचनामा चलेका छन् भने गुरुकुलचाहिँ आवासीय संरचनामा छन् । त्यस्ता विद्यालयमध्ये कतिचाहिँ स्थानीय पालिकाबाट आधारभूत तह सञ्चालनार्थ स्वीकृति पाई दानदातव्य एवं मुष्टिदानबाट चलिरहेका छन् । त्यहाँ आवासीय रूपमा रहेर अनुशासन, घरायसी काम, सनातनी संस्कार, योग, ध्यानलगायत विधिव्यवहार सिक्दै बिहान, दिउँसो र बेलुका गुरुको सान्निध्यमा रहेर पढ्दै छन् । साथसाथै ठूलाले सानालाई पढाउने परिपाटी पनि त्यहाँ छ । यसरी कडा अनुशासनमा रहेर नित्य निरन्तर पढ्ने अनि पढेका विषयलाई पटक–पटक आवृत्ति गर्दै सानालाई पढाउने परिपाटी गुरुकुलीय शिक्षामा हुन्छ । यसरी गरिने कडा मिहिनेत, पटक–पटक गरिने आवृत्ति, सहपाठी शिक्षण, शास्त्रार्थ अभ्यास र ध्यानबाट विद्यार्थीमा विषयगत बोध गम्भीर रूपमा हुनुका साथै चित्तमा एकाग्रता पनि आउँछ, जसका कारण विद्यार्थी सफल हुन्छन् ।   

गुरुकुल संस्कृत तथा आधुनिक विषय पढ्ने–पढाउने प्राचीन र आवासीय प्रणाली हो, जसमा शास्त्रीय र आधुनिक दुवै किसिमका विषयको अध्ययन–अध्यापन हुन्छ । हालका गुरुकुलमा प्राचीन गुरुकुलका सबै गुण नभेटिए पनि आधुनिक र प्राचीन शिक्षालयका गुणको संयोजन पाइन्छ । संस्कृत गुरुकुल शिक्षा नेपाललगायत समग्र दक्षिण एसियाकै प्राचीन शिक्षण प्रणाली हो । प्राचीन गुरुकुलमा पाँच किसिमका शाला (ठाउँ/विभाग) रहन्थे– पाठशाला (पढ्ने ठाउँ), पाकशाला (पकाउने ठाउँ), देवशाला (मन्दिर), गौशाला (गोठ) र धर्मशाला (अतिथि गृह) । त्यहाँ रहने शिष्यले पढाइसँगसँगै व्यावहारिक ज्ञान गुरुकुलमै आर्जन गर्थे । फलतः त्यहाँबाट निस्किएपछि पढाइका साथसाथै पाककला, अतिथि सेवा, अनुशासन र नैतिक आचरण, सामाजिक विधि व्यवहार आदिमा परिपक्वता प्राप्त गर्थे । यही नै प्राचीन गुरुकुलको विशेषता र सफलता दुवै थियो । गुरुकुलले जताततै सफलता पाउनुमा कडा मिहिनेत र रटाइ मात्रै होइन, शिष्यले गुरु–गुरुआमा र अग्रजबाट पाउने माया र पारिवारिक स्नेह पनि एक हो । 

गुरुकुल शैक्षणिक संस्था मात्र होइन, यो त प्राचीन पूर्वीय संस्कारको जग हो । यही जगमा पूर्वका धेरै आचार्यले आचार्यत्व प्राप्त गरेर समाजलाई सुदूर क्षितिजसम्म आलोकित गरिरहेका छन्, त्यसैले गुरुकुललाई शैक्षणिक संस्थाका साथसाथै पूर्वीय संस्कृति, सभ्यता, आदर्श परम्परा आदि मान्ने गरिन्छ । यो एउटा शिक्षणशैली पनि हो । आधुनिक शिक्षाशास्त्रीले गुरुकुलीय शिक्षणशैलीलाई अव्यावहारिक, घोकन्ते भनी जति आलोचना गरे पनि शिक्षणमा प्रयुक्त यस शैलीले नै धेरै विद्यार्थीले आजसम्म सफलता पाएको र आजका पनि अधिकांश विद्यार्थीले पढाइमा यही शैलीलाई अक्षरशः प्रयोग गर्दै गरेको तथ्य बिर्सन सकिन्न । चाहे गणितका सूत्र हुन् या विज्ञानका, चाहे पाणिनीय व्याकरणका कठिन सूत्र हुन्, यो तथ्यांक शास्त्रका लामा–लामा तालिका, ती सबै याद गर्ने तथा स्थिर गर्ने प्रणाली भनेको गुरुकुलीय शिक्षण प्रणाली नै हो । ‘घोकन्ती विद्या, धावन्ती खेती’ भन्ने उखान त्यसै बनेको होइन । अतः गुरुकुलीय शिक्षणशैलीलाई आधुनिक शिक्षालयहरूले पनि आत्मसात् गर्न सके नेपालको समग्र शिक्षा प्रणालीमा अवश्य सुधार हुनेछ ।  

(डा.भट्टराई पिण्डेश्वर विद्यापीठ, धरानका सहप्राध्यापक हुन् भने निरौला उपप्राध्यापक हुन्)