
एक अमेरिकी महिलाले नेपालबाट हराएका २४ मूर्ति आफैँ फिर्ता गरेकी छिन् । हवाई राज्यमा बसोवास गर्ने सुसन ब्राडफोर्डले वासिङटनस्थित नेपाली दूतावाससँग समन्वय गरेर ती कलाकृति फिर्ता गरेकी हुन् ।
उनले एक महिनाअघि मूर्तिका फोटोसहित दूतावासलाई पत्राचार गरेर फिर्ता दिन चाहेको जानकारी गराएकी थिइन् । त्यसपछि दूतावासले परराष्ट्र मन्त्रालय हुँदै पुरातत्व विभागलाई सो पत्र पठायो । विभागले नेपाली शैलीका मूर्तिकला छुट्याएर यकिन गरेपछि महिलालाई जानकारी गराइएको थियो । त्यसपछि उनले मूर्ति फिर्ता गरेकी थिइन् । प्रक्रिया पुगेपछि २२ जेठमा परराष्ट्र मन्त्रालय हुँदै मूर्ति फिर्ता गरिएको थियो ।
पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले भनिन् – हामीले ती मूर्ति हराएका थिए भनेर थाहापत्तो पाएका पनि थिएनौँ, स्थानीय कोही–कसैले खबर पनि गर्नुभएको थिएन, तर ती महिलाले आफ्नो उमेर ढल्किँदै गएपछि नेपाललाई फिर्ता दिने सोच बनाएकी रहिछन् । अरू देशमा भन्दा अमेरिकामा पुगेका मूर्तिकला फिर्ता ल्याउन सहज भएको छ, कतिपय मूर्तिकला हामीले नखोजे पनि स्वतःस्फूर्त आएका छन्, यो खुसीको कुरा हो ।
‘हामीले ती मूर्ति हराएका थिए भनेर थाहापत्तो पाएका पनि थिएनौँ, स्थानीय कोही–कसैले खबर पनि गर्नुभएको थिएन, तर ती महिलाले आफ्नो उमेर ढल्किँदै गएपछि नेपाललाई फिर्ता दिने सोच बनाएकी रहिछन्,’ पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले भनिन्, ‘अरू देशमा भन्दा अमेरिकामा पुगेका मूर्तिकला फिर्ता ल्याउन सहज भएको छ, कतिपय मूर्तिकला हामीले नखोजे पनि स्वतःस्फूर्त आएका छन्, यो खुसीको कुरा हो ।’ उनले फिर्ता आएका मूर्तिहरू कहाँ थिए र कहिले हराएका थिए भन्ने थाहा नभएको बताइन् । फिर्ता गर्ने महिलाले पनि यसबारे जानकारी नदिएको उनको भनाइ छ ।
स्थानीय कोही व्यक्ति पनि दाबी गर्न नआएकाले हाल ती कलाकृति छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको छ । मूर्तिकला हेर्दा काठमाडौं उपत्यकाभित्रकै र करिब चार सय वर्षअघिसम्मका हुन सक्ने विभागको ठम्याइ छ । त्यसबारे थप अध्ययन पनि भइरहेको विभागले जनाएको छ ।
कुन समयमा पुरातात्विक वस्तु हराएर कहाँ पुगे भन्ने यकिन तथ्यांक सरकारसँग छैन । स्थानीयले उजुरबाजुर गरेपछि मात्रै ऐतिहासिक वस्तुहरू हराएको पुरातत्व विभागलाई पत्तो हुन्छ । अन्यथा चोरी भएर विभिन्न देश पुगेकोबारे विभाग अनभिज्ञ रहन्छ ।
नेपालबाट विभिन्न कालखण्डमा हराएका र अहिले फिर्ता गरिएका मूर्ति
१. तामाबाट बनेको मञ्जुश्रीको शक्ति ।
२. बाराहीको मूर्ति ।
३. ढलोटको कुवेर ।
४. ढलोटको अघोर भैरव ।
५. ढलोटको महिषासुर मर्दिनी ।
६. ढलोटको बिघ्नान्तक भैरव ।
७. तामाको प्रज्ञापारिता ।
८. ढलोट र तामाको किन्नर अप्सरा ।
९. ढलोटको मञ्जुश्री शक्ति ।
१०. काठको चमुण्डाको शिर ।
११. प्रस्तरको सरस्वती ।
१२. प्रस्तरको मञ्जुश्री शक्ति ।
१३. प्रस्तरको अगस्थमुनि ।
१४. कागजको हस्तलिखित ग्रन्थलगायत स्तुपा ।
१५. तामाबाट बनेको कालीयन्त्र ।
१६. हाड कंकालयन्त्र ।
१७. काठ फुर्वा ।
१८. फलामको भोटे ताल्चा ।
१९. ढलोटको सिन्दुर दानी ।
२०. फलामको त्रिशूल ।
२१. तामाको बाला ।
२२. ढलोटको बाला ।
२३. तामाको आरतीपात्र ।
२४. कुवेर, जोगिनी, मञ्जुश्री र सिक्काका साना मूर्ति