मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format o६:३६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

११ देशमा राजदूत बाँडफाँटमा तीन दलबीच सहमति : एमाले आठ, रास्वपा दुई र माओवादीलाई एक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३६:oo

कुन देशको राजदूत कसले पाउने भन्ने अर्को बैठकबाट टुंगो लगाउने सत्तागठबन्धनका प्रमुख दलबीच सहमति

दुई साताअघि ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलगत्तै रिक्त देशमा नयाँ राजदूत नियुक्ति गर्ने राजनीतिक प्रक्रिया सुरु भएको छ । प्रमुख सत्तासाझेदार दल एमाले, माओवादी र रास्वपाबीच रिक्त ११ मुुलुकका लागि राजदूत नियुक्ति सिफारिस यथाशीघ्र गर्ने सहमति भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बिहीबार सिंहदरबारमा भएको बैठकमा राजदूत नियुक्ति सिफारिस गर्ने सहमति भएको हो । एमालेको प्रस्तावअनुसार राजदूतको भागबन्डामा सहमति भएको छ । 

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले राजदूतको संख्याका विषयमा सत्तारूढ दलहरूबीच सहमति भएको, तर केही विषय टुंगिन बाँकी रहेको बताए । रिक्त ११ मध्ये आठमा एमाले कोटाका, दुई देशमा रास्वपा कोटाका र एक देशमा माओवादी कोटाबाट राजदूत सिफारिस हुनेछन् ।

‘कुन दलले कुन देश पाउने भन्ने पनि शुक्रबार अपराह्नसम्म टुंग्याउने भन्ने छ । त्यसो भयो भने शुक्रबार मन्त्रिपरिषद्ले केही देशका लागि राजदूत नियुक्ति सिफारिस गर्न सक्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । 

विगतमा कांग्रेस र जसपाको सिफारिसअनुसार नियुक्त भएका ११ राजदूतलाई २४ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारले भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा. रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ । पोर्चुगलका लागि राजदूत नियुक्त भएका, तर जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरिसकेको छ । नेपाल कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका थिए । 

एमालेले भारत, अमेरिकासहितका देशका लागि राजदूत पाउने सम्भावना रहेको निकटस्थ स्रोतले जनाएको छ । माओवादीले बेलायतका लागि राजदूत पाउने सम्भावना छ । रास्वपाले एउटा युरोपेली मुलुक र एउटा खाडी मुलुकका लागि राजदूत पाउने सम्भावना रहेको स्रोतले भन्यो ।