
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट माफर्त स्थानीय तहलाई ८ अर्ब ३७ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभा बैठकमा आगामी आर्थीक वर्षको बजेट प्रस्तुत गर्दै राष्ट्रिय वित्त आयोगको सिफारिसमा स्थानीय तहलाई वितरण हुने विभिन्न अनुदानअन्तर्गत उक्त रकम प्रस्ताव गरेको बताएका छन्।
मन्त्री थपलियाले प्रदेश सरकारले समानीकरण अनुदान तर्फ १ अर्ब ६६ करोड रुपैयाँ, सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड रुपैयाँ, समपूरक अनुदानतर्फ २ अर्ब ४८ करोड रुपैयाँ, विशेष अनुदानतर्फ ७९ करोड ३८ लाख रुपैयाँ विनियोजन गर्ने उल्लेख गरेका छन्।
प्रदेश सरकारले सवारी करको बाँडफाँडबाट प्रदेशका १३ जिल्लाका ११९ वटा स्थानीय तहबाट ५ अर्ब रुपैयाँ उपलब्ध हुने अनुमान गरिएको पनि मन्त्री थपालियाले बताए।