Skip This
विद्यालयले मोबाइल खोसेपछि विष सेवन गरेकी छात्राको उपचार खर्च अभाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Saturday, 27 July, 2024
२o८१ जेठ १६ बुधबार १२:o६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालयले मोबाइल खोसेपछि विष सेवन गरेकी छात्राको उपचार खर्च अभाव

विद्यार्थीलाई मरणसन्न हुने गरी कुटपिट गरेको महिना दिन नबित्दै विद्यालयकै दुर्व्यवहारका कारण छात्राले गरिन् विष सेवन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १२:o६:oo

विद्यालयले मोबाइल खोसेपछि विष सेवन गरेकी एक छात्राको उपचार खर्च अभाव भएको छ । झापाको कमल गाउँपालिका– ५ को मंगलमय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा इक्सा लिम्बूले गत २० वैशाखमा विष सेवन गरेकी थिइन् । विद्यालयले विभिन्न आरोप लगाउँदै अभिभावकलाई सुनाएपछि उनले विष सेवन गरेको परिवारको आरोप छ । 

इलामको माई नगरपालिका घर भएकी लिम्बूको आर्थिक अवस्था कमजोर भएपछि पाँच वर्षदेखि कमल– ५ स्थित सानीआमा सन्ध्या जबेगूको घरमा बसेर पढ्दै आएकी थिइन् । २० वैशाखमा विद्यालयमा मोबाइल लिएर पुगेपछि मंगलमय माविले उनको मोबाइल खोसिदिएको थियो । त्यसपछि घर फर्किएलगत्तै विष सेवन गरेकी लिम्बूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो । दमक अस्पतालले आफूले नसक्ने भन्दै लिम्बूलाई दमकस्थित लाइफलाइन अस्पताल रेफर गरेको थियो । 

लाइफलाइन अस्पतालबाट बिरामीका आफन्तले इक्सालाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगेका थिए । त्यहाँ उनको दुई साताभन्दा लामो समयदेखि आइसियू कक्षमा राखेर उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको उनका सानोबुबा बालचन्द्र जबेगूले बताए । यद्यपि, उपचार रकम अस्पताललाई तिर्न नसकेपछि आइसियू कक्षबाट नर्मल बेडमा सार्न नसकिएको उनले बताए । ‘दमकको लाइफलाइन अस्पतालमा एक लाख २० हजार बिल भएको रहेछ । सानीआमाको सुन धितो राखेर र चन्दा उठाएर त्यो पैसा तिर्‍यौँ र थप उपचारका लागि नोबेल लगियो । नोबेलको फार्मेसी र अस्पतालमा गरेर पाँच लाखभन्दा धेरै बिल भएको छ । उनको परिवार बिहान–बेलुका के खाने भन्ने अवस्थामा छ । धेरै गरिब भएकै कारण मैले ल्याएर पालेको पढाएको हुँ,’ उनले भने, ‘आइसियूबाट नर्मल बेडमा लैजानु भन्छन् । तर, अहिलेसम्मको पैसा नतिरेसम्म नर्मल बेडमा लैजान दिँदैन रहेछ । बिरामी आइसियूमै बन्धक जस्तो बस्नुपरेको छ ।’

विद्यालयले उपचारमा सहयोग गर्ने आश्वासन दिएपछि कतै उजुरी तथा हल्लाखल्ला नगरेका इक्साका परिवार अहिले विद्यालयले सहयोग गर्न आनाकानी गरेपछि समस्यामा परेका छन् । ‘२० वैशाखमा ३:३० तिर विद्यालयबाट हेडसरले फोन गरे । तपाईंको बच्चाले ग्याङ बोलाउन फोन गरेपछि फोन राखिदियौँ भने । सामान्य झगडा भएको भिडियो  खिचेकी रहिछ । मोबाइल खोसेर त्यहाँ भएको अरू भिडियो भने हेरेपछि उनी निराश भएको हामीलाई बताएकी छिन्,’ उनका सानोबुबा बालचन्द्रले नयाँ पत्रिकासँग भने, ‘त्यसपछि घरमा आउनबित्तिकै विष सेवन गरिन् । विद्यालयलाई जानकारी गराएपछि हेर्न पनि आएँ । उपचार खर्च सहयोग गर्न आश्वासन पनि दिए । हामीले कतै हल्ला नगरी उपचारमा लग्यौँ । अहिले उपचारको बिल हामीले तिर्न नसक्ने गरी आयो । तर, विद्यालयले अहिलेसम्म सहयोग गरेको छैन ।’ 

विद्यालयले १६ वैशाखमा सर्वदलीय बैठक बसेर मात्र सहयोगबारे जानकारी दिन सकिने आश्वासन दिएको बालचन्द्र बताउँछन् । यही विद्यालयमा गत चैत अन्तिम साता एक छात्रामाथि प्रधानाध्यापक मोहन बगालेले मरणसन्न हुने गरी कुटपिट गरेका थिए । शरीरमा नीलडाम हुने गरी कुटपिट गरेपछि उनलाई इलाका प्रहरी कार्यालय दमकले अभद्र व्यवहारमा मुद्दासमेत चलाएको थियो । बगाले रिहा भएपछि विद्यालय परिवारले मुद्दा जितेझैँ फूलमालाले स्वागतसमेत गरेको थियो । बगाले जिल्ला प्रशासन कार्यालय झापाबाट धरौटीमा रिहा भएको केही समयमा नै विद्यालय प्रशासनको दुर्व्यवहारले अर्की बालिका इक्साले विष सेवन गरेको घटना बाहिरिएको हो । 

मंगलमय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक डम्बरुप्रसाद पोखरेलले अनुशासन कायम गर्न ती छात्राको मोबाइल खोसिएको स्वीकार गरे । ‘ती बहिनी कक्षा १० मा पढ्ने विद्यार्थी हुन् । नाैमा पढ्ने र १० मा पढ्ने विद्यार्थी भनाभन गरेछन् । त्यो भिडियो ती नानीले खिचेकी रहिछिन् । त्यहीकारण मोबाइल विद्यालयमा राखिएको रहेछ । बहिनीले गएर विष खाइछिन् । विद्यार्थीलाई गालीगलोज गरेको हेइन । कक्षा १२ सम्मका विद्यार्थीलाई मोबाइल अनुमति दिइएको छैन । एक दिन राखेर अभिभावकलाई दिने चलन छ । विद्यालयमा मोबाइल ल्याएर झैझगडा गरेर भिडियो खिचे भने त पढाउन पनि सकिँदैन होला नि त !’ उनले भने, ‘मानवीय सहयोग विद्यालयले गर्ने भन्ने भएको थियो । यस्तो विषयमा विद्यालयले के गर्ने भन्ने छ । बुधबार सर्वपक्षीय बैठक बोलाएको छ । त्यहाँ के हुन्छ त्यसपछि मात्र थाहा हुन्छ । त्यसभन्दा अगाडि केही भन्न सकिन्न ।’