Skip This
कोरोनापछि बन्द भएका नेपाल–चीनका ७ परम्परागत नाका खुले
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नवीन गुरुङ किमाथांका
२o८१ जेठ १३ आइतबार o७:o८:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोनापछि बन्द भएका नेपाल–चीनका ७ परम्परागत नाका खुले

बाँकी ७ परम्परागत नाका चरणबद्ध रूपमा खोलिने, तीन अन्तर्राष्ट्रिय नाका यसअघि नै खुलिसकेका छन्

Read Time : > 3 मिनेट
नवीन गुरुङ, किमाथांका
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o७:o८:oo

पहिलो चरणमा खुलेका नाका
१. तिब्बतको चेन्ताङ बन्दरगाहनजिकै साँघु जोड्ने संखुवासभाको भोटखोला गाउँपालिका– १ स्थित किमाथांका नाका
२. चीनतर्फ रिउ (डिङ्गे काउन्टी)सँग जोडिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलास्थित तिप्ताला भञ्ज्याङ
३. चीनको तिब्बततिर न्यालम काउन्टीअन्तर्गत रान्मुदिंमामा जोडिने दोलखाको बिगु गाउँपालिका– १ लामाबगरस्थित लाप्ची नाका 
४. तिब्बततिर रोङसिया जोड्ने दोलखाकै बिगु गाउँपालिका– १ मा पर्ने अर्को फालक नाका 
५. तिब्बतको गिरुङ काउन्टीको गोङदाङ जोड्ने गोर्खाको छेकम्पारस्थित नाका थाप्ला पास 
६. तिब्बतको मियायोङ पियान्जी जोड्ने डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित मार्युम्ला पास
७. तिब्बतको झोङ्बा काउन्टी जोड्ने मुस्ताङको ल्होमान्थाङ गाउँपालिका– ४ मा अवस्थित कोरला नाका

कोरोना महामारीका कारण बन्द भएको संखुवासभाको किमाथांका नाका शनिबारदेखि खुला भएको छ । योबाहेक परम्परागत ६ व्यापारिक नाका यसअघि नै खुला भइसकेका छन् । 

पहिलो चरणमा संखुवासभाको किमाथांका, मुस्ताङ, गोरखा, डोल्पा र ताप्लेजुङका एक–एक परम्परागत नाका तथा दोलखाका दुई परम्परागत नाका खुलेका छन् । बाँकी नाका चरणबद्ध रूपमा खोल्न चीन सहमत भएको छ । 

शनिबार किमाथांका नाकाबाट चीनतर्फ तिब्बतको चेन्ताङ टाउनमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले नेपाल–चीनका १४ परम्परागत नाका सञ्चालनमा आएको घोषणा गरेका छन् । कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, ल्हासाका नेपाली महावाणिज्यदूत नवराज ढकाल, संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटे, परराष्ट्र र गृह मन्त्रालयका उच्च पदाधिकारी तथा सुरक्षा अधिकारी तिब्बत पुगेका थिए । चीनका तर्फबाट उपाध्यक्ष निमा, नेपालका लागि चिनियाँ राजदूत चेन सोङलगायत चिनियाँ अधिकारी पनि सीमानाका खुला भएको घोषणा कार्यक्रममा सहभागी थिए । 

उपप्रधानमन्त्री श्रेष्ठ शनिबार बिहान संखुवासभाको तुम्लिङटार विमानस्थलमा अवतरण गरी चीनको सीमावर्ती किमाथांका नाका खोल्ने कार्यक्रममा सहभागी भएर शनिबारै फर्केका छन् । तुम्लिङटारमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले नेपालका तर्फबाट चीन सरकारलाई पटक–पटक गरिएको पहलपछि परम्परागत १४ नाका एकैपटक खुला भएको घोषणा गरिएको बताए । घोषणा गरिए पनि किमाथांकालगायत सातवटा नाका मात्रै खुला भएको तथा बाँकी नाका पनि सुचारु एनले हुने बताए । 

‘नेपाल र चीनबीचका परम्परागत नाकाहरू व्यापारिक र सामान्य हिसाबले आवातजावत हुने नाका हुन् । यी नाका कोभिडअघि जस्तै मौसमी रूपमा खुला हुन्छ,’ श्रेष्ठले भने । नेपालबाट चीन जाँदा भिसा शुल्क नलिने, ल्हासाबाट सामान आयात गर्दा सोही यातायातका साधानमार्फत सीधै नेपाल ल्याउन पाइने, नाकावरपर स्थानीयले चरिचरन गर्न पाइने तथा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध झन् विस्तार गर्नेलगायत समझदारी भएको पनि उनले बताए । 

चीनले तिब्बत आवतजावतका लागि जाने नेपालीको डिजिटल परिचयपत्र जारी गर्न र भ्रमण गर्ने व्यक्तिको विवरण पहिले नै जिल्ला प्रशासन कार्यालयमार्फत चीन पक्षलाई उपलब्ध गराउन आग्रह गरेको थियो । तर, यस वर्ष नेपालका जिल्ला प्रशासन कार्यालयले परिचयपत्र जारी गरिसककेका कारण चीनले त्यसमा अडान नराखेको कूटनीतिक स्रोतले बतायो । 

हाल सिन्धुपाल्चोकको तातोपानीबाट तिब्बतको जाङ्मु जोड्ने नाका, रसुवाको रसुवागढीबाट तिब्बतको केरुङ जोड्ने नाका र हुम्लाको हिल्साबाट पुराङ काउन्टी जोड्ने नेपाल–चीन नाका सञ्चालनमा छन् । यी तीन अन्तर्राष्ट्रिय नाका हुन् ।

१४ नाका खोल्ने घोषणासँगै खुला भइसकेका सात नाकामा एउटा हो, संखुवासभा र तिब्बतको चेन्ताङ बन्दरगाहनजिकै साँघु जोड्ने किमाथांका । भोटखोला गाउँपालिका– १ मा रहेको यो नाका समुद्री सतहबाट २,२७० मिटर उचाइमा छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोला र चीनतर्फ रिउ (डिङ्गे काउन्टी)बीचको तिप्तालाभञ्ज्याङ खुलेको छ । यो फक्ताङलुङ गाउँपालिका– ७ मा रहेको नाका समुद्री सतहबाट ५,२०० मिटर उचाइमा छ । 

त्यस्तै, दोलखाको लामाबगरमा रहेको लाप्ची नाका पनि खुलेको छ । चीनको तिब्बततिर न्यालम काउन्टीअन्तर्गत रान्मुदिङमामा यो नाका जोडिन्छ । बिगु गाउँपालिका– १ मा रहेको यो नाका समुद्री सतहबाट ४,०६३ मिटर उचाइमा छ । तिब्बततिर रोङसिया जोड्ने दोलखाकै अर्को फालक नाका पनि खुलेको छ । यो पनि बिगु गाउँपालिका– १ मा छ । यो तिब्बतको डिग्री काउन्टीमा जोडिन्छ । यो नाका समुद्री सतहबाट २,५१३ मिटर उचाइमा छ । 

गोरखाको छेकम्पारस्थित थाप्लापास र तिब्बतको गिरुङ काउन्टीको गोङदाङ जोड्ने नाका पनि खुलेको छ । यो नाका समुद्री सतहबाट ५,१०४ मिटर उचाइमा छ । 

डोल्पाको मार्युम्ला पास पनि पहिलो चरणमा खुलेको छ । यो तिब्बतको मियायोङ पियान्जी जोड्ने नाका हो । समुद्री सतहबाट ४,७९६ मिटर उचाइमा रहेको यो नाका डोल्पोबुद्ध गाउँपालिकामा छ । गण्डकी प्रदेशको महत्वपूर्ण मानिने कोरला नाका पनि खुलेको छ । मुस्ताङ र तिब्बतको झोङ्बा काउन्टी जोड्ने नाका ल्होमान्थाङ गाउँपालिका– ४ मा छ । यो समुद्री सतहबाट ४,६०० मिटर उचाइमा छ । 

खोल्ने घोषणा भइसकेका यी सात नाका पनि चरणबद्ध रूपमा खुल्नेछन्
मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका अगस्ट अन्तिम साता खोल्ने तयारी छ । गोरखाको रुइला र तिब्बतको गिरोङ काउन्टी जोड्ने नाका पनि जुन अन्तिममा खुल्ने भएको छ । यो समुद्री सतहबाट ४,९९८ मिटर उचाइमा छ । 

बझाङको उराइलेक पास पनि ३० जुनमा खुल्दै छ । साइपाल गाउँपालिका– ४ मा रहेको यो नाकाले तिब्बतको बुराङ काउन्टीस्थित बोलिंला क्षेत्र जोडेको छ ।

मनाङको नारपाभूमि गाउँपालिका– ५ फुस्थित क्याङछिमी र तिब्बतको गिरुङ काउन्टी जोड्ने नाका पनि खुल्नेछ । यो ५,८०० मिटर उचाइमा छ । 

हुम्लाको लिमी लाप्चा र तिब्बतको बुराङ काउन्टी जोड्ने लिमी लाप्चा नाका २० जुनमा खुल्नेछ । यसको उचाइ समुद्री सतहबाट ४,९१४ मिटरमा छ । हुम्लाकै हिल्सा नाकालाई भने नेपाल र चीनले अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएका छन् । नेपालबाट कैलाश मानसरोवर पुगिने छोटो दूरीका नाकाका रूपमा हिल्सा चर्चित छ । हिल्सा अन्तर्राष्ट्रिय नाका खुलिसकेको छ । 

दार्चुलाको तिंकर र तिब्बतको बुराङ (पुलान)को डिंगाछिदे जोड्ने नाका २५ जुनमा खुल्दै छ । यो भारत, चीन र नेपाल जोड्ने त्रिदेशीय विन्दुको नजिक पर्ने हुनाले दुवै छिमेकीका लागि रणनीतिक महत्वको ठाउँ हो । दार्चुलाको ब्याँस गाउँपालिका– १ मा रहेको यो नाकाको उचाइ ५,३०३ मिटर छ । 

सोलुको सीमा जोडिएको नाका जुनको मध्यमा खोल्न चीन सहमत भएको छ । 

नाका खुलेपछि भोटखोलावासी खुसी 
कोरोना संक्रमणका कारण चीन सरकारले ५ माघ ०७६ देखि बन्द गरेको किमाथांका नाका चार वर्षपछि खुलेपछि भोटखोलावासी खुसी भएका छन् । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले नाका खुलेपछि नागरिकलाई राहत मिलेको प्रतिक्रिया दिए । नाका खुला भएपछि भोटखोलावासीमा खुसियाली छाएको बताए । महँगो मूल्यमा सदरमुकाम खाँदबारीबाट दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्न, लत्ताकपडालगायत आपूर्ति गर्दा भोटखोलाका स्थानीय मारमा पर्ने गरेकोमा अब हटेको अध्यक्ष भोटेले बताए । सदरमुकाम खाँदबारीदेखि १६२ किमि उत्तरमा रहेको किमाथांका पुग्न अझै पनि ५–६ दिन लाग्छ । सूचना र सञ्चारको राम्रो पहुँच नभएको भोटखोला जिल्लाकै दुर्गम र विकट क्षेत्र हो । भोटखोला क्षेत्रका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु आयात गर्छन् । सदरमुकाम खाँदबारी झर्न (आउजाउमा) करिब एक साता लाग्ने भएकाले उनीहरूलाई किमाथांकाको पारिपट्टिको चीनको देदाङ, रियु र चाँगा बजार नै नजिक पर्छ । 


 

ad
ad
ad
ad