मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Wednesday, 12 February, 2025
२o८१ जेठ १२ शनिबार १४:१२:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आहा रारा ! जाने होइन त घुम्न ? (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १४:१२:oo

‘स्वर्गकी अप्सरा’ उपनामले चिनिने मुगुस्थित रारा ताल क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको मुख्य आकर्षण हो। यति वेला गर्मी छल्न आउने पर्यटकका लागि यो क्षेत्र बढी उपयुक्त छ। त्यसो त प्रायः सबै याममा पर्यटकको आवागमन भइरहन्छ। यो सिजनमा भने फूलैफूलले ढाकेको रारा हेर्न पाइन्छ।

हिउँदमा हिउँ पर्दा वरिपरि हिउँको घुम्टोमा सजिएकोजस्तो देखिने रारा वसन्तमा पालुवाले सजिएको हुन्छ। मौसम सफा भएको समयमा यहाँबाट छायाँनाथ, कान्जिरोवा, कान्ति र चंखेली हिमालसहित मध्य र सुदूरपश्चिमका ९ जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ।

रारालाई स्वर्गको टुक्राजस्तै देखिने भन्दै तत्कालीन राजा महेन्द्र शाह २०२० सालमा रारा आउँदा यसलाई ‘स्वर्गकी अप्सरा’को उपनाम राखेका थिए। यहाँ विश्वकै दुर्लभ तीन प्रजातिका असला माछा पाइन्छ।

नेपालकै ठूलो रारा ताल समुन्द्री सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा छ। १०.६२७ वर्गमिटर क्षेत्रफलमा फैलिएको यो तालको औसत लम्बाइ ५.२  किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १६९.९३० मिटर छ। रारा तालको पूरा आकृति हेर्न समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा अवस्थित मुर्माटप हिमाललाई उपयुक्त स्थान मानिन्छ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको रारा ताललाई सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो। नेपालगन्जबाट हवाई र स्थल दुवै मार्गबाट रारा पुग्न सकिन्छ।

कर्णाली प्रदेशको राजधानी  सुर्खेतबाट दुई दिनको सवारीसाधनको यात्रा र नेपालगन्जदेखि ४० मिनेटको हवाई यात्रापछि रारा विमानस्थल पुगिन्छ।  त्यहाँबाट २ घण्टा पैदल यात्रापछि रारा पुग्न सकिन्छ।

माथिल्लो मिली र लामाचौरसम्म सवारीसाधन लिन पाइए पनि त्यहाँदेखि रारा तालआसपास र मुर्माटपसम्म भने पैदल यात्रा गर्नुपर्छ। पैदल यात्रा गर्न नसक्नेका लागि यहाँ घोडाहरू तैनाथी अवस्थामा हुन्छन्।