
संखुवासभाको धार्मिक तथा पर्यटकीय तीर्थस्थल सभापोखरी गाउँपालिका– ५ स्थित सभापोखरी धाम घुम्न आएका एक वृद्धको मृत्यु भएको छ।
कास्की, पोखरा महानगरपालिका– २९ घर भएका ७० वर्षीय बुद्धिबहादुर गुरुङको शव ताप्लेजुङ र संखुवासभाको सिमाना सभापोखरी गाउँपालिका– ५ लोरुम्बा भन्ने ठाउँमा शुक्रबार बिहान ८ः१५ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।
संखुवासभाको धार्मिक तथा पर्यटकीयस्थल सभापोखरी।
उनको अनुसार, मृतक बुद्धिबहादुर र निजको छोरा २७ वर्षीय सागर गुरुङ संखुवासभाको धार्मिक तथा पर्यटकीयस्थल सभापोखरी घुम्न र दर्शन गर्न गत ५ जेठमा जिल्लाको चैनपुर नगरपालिका– १ गुफापोखरीबाट सभापोखरीतर्फ गएका थिए।
९ जेठसम्म तीन दिनसम्म लगातार हिँड्दा पनि गन्तव्यमा पुग्न नसकेपछि बुबा बुद्धिबहादुरलाई सोही स्थानमा एक्लै छाडी ९ जेठ बिहान सो स्थानबाट छोरा सागरनजिकको गाउँबस्ती खोज्दै जाने क्रममा १० जेठमा सभापोखरी गाउँपालिका– ५ फाकुवास्थित स्थानीय मानिसको घर गोठमा पुगी सहयोग मागेका थिए। उनीहरू बाटो भुलेर समस्यामा परेका थिए।
त्यसपछि स्थानीय मानिसहरूसँग सहयोग मागेपछि जिल्ला प्रहरी कार्यालय संखुवासभामा समन्वय गरी एभरेस्ट हेलिकाेप्टर झिकाई स्थानीय र हेलिकाेप्टरबाट खोजतलास गर्ने क्रममा ११ जेठ शुक्रबार (आज) सभापोखरी गाउँपालिका– ५ लोरुम्बा भन्ने ठाउँमा मृत अवस्थामा भेटिएको छोरा सागर गुरुङले बताए।
आज (शुक्रबार) सोही हेलिकाेप्टरबाट सदरमुकाम खाँदबारी ल्याएर जिल्ला अस्पतालमा पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा गरी शव सागरलाई जिम्मा लगाएको संखुवासभा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सागरले आफ्ना बुबाको शव अन्तिम संस्कारका लागि पोखरा लगेका छन्।
समुद्री सतहबाट चार हजार दुई सय ४० मिटरको उचाइमा सभापोखरी अवस्थित छ। उचाइमा अवस्थित सभापोखरीमा घुम्न आउने पर्यटक तथा तीर्थयात्रीमा लेक लाग्ने, बिरामी पर्ने समस्या देखिने गरेकाे छ। भौगोलिक विकटताले गर्दा तत्कालै उद्धार हुन नसक्दा कतिपय पर्यटकले अकालमा ज्यान गुमाउने गरेका छन्।