ओलीको बिरासत पोखरेलले नै लिनुहुन्छ : राजेन्द्र गौतम

२०७६ जेठ १ बुधबार ०६:५१:००

ईश्वर पोखरेलसँग नजिक हुनुहुन्छ । उहाँका पछिल्ला भूमिका र अभिव्यक्तिको अर्थ के हो ? 

पहिलो, उहाँको सम्पूर्ण राजनीतिक जीवनयात्रा हेर्दा उहाँले निरन्तर संस्थापन पक्षमा बसेर पार्टीको मूल नेतृत्वलाई स्थापित गर्न भूमिका खेल्दै आउनुभएको छ । मदन भण्डारी महासचिव हुँदा पार्टी केन्द्रीय कार्यालय सचिव, माधव नेपाल हुँदा संगठन विभाग प्रमुख र केन्द्रीय सचिवालय सचिव, झलनाथ खनाल र केपी ओलीको नेतृत्वकालमा महासचिव भएर काम गर्दै मूल नेतृत्वलाई सहयोग गर्नुभो । महाधिवेशनका शृंखलाहरू हेर्ने हो भने उहाँ जसको पक्षमा उभिनुभो, त्यही व्यक्ति मूल नेतृत्वमा स्थापित भएको देखिन्छ । अहिले पनि उहाँ केपी ओली धार (संस्थापन)को नेतृत्व गर्दै अघि बढ्ने प्रयासमा हुनुहुन्छ भन्ने प्रस्टै छ । 

उहाँको भूमिकाले मूल नेतृत्वलाई नै सहयोग गरेको छ भन्ने आधार के छ ? 

उहाँले अहिले पनि मूल नेतृत्व–केपी ओलीलाई नै सहयोग गरिरहनुभएको छ । किनभने, सरकारमा प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री र रक्षामन्त्रीका रूपमा उहाँले दोस्रो पोजिसनमा रहेर सहयोग गरिरहनुभएको छ । पार्टीमा महासचिवको जिम्मेवारीमा नरहे पनि सचिवालयमा सातौँ वरीयताका नेताको हैसियतमा अध्यक्ष केपी ओलीलाई हरेक बखत सहयोग गरिरहनुभएकाले भूमिकाको हिसाबमा दोस्रै पोजिसनमा देखिनुहुन्छ ।

सचिवालयमा सातौँ वरीयताका नेताको हैसियतमा अध्यक्ष केपी ओलीलाई हरेक बखत सहयोग गरिरहनुभएकाले भूमिकाको हिसाबमा दोस्रै पोजिसनमा देखिनुहुन्छ 

त्यसो भए उहाँ ओली समूहको नेतृत्व गर्दै प्रमुख पदमा पुग्ने प्रयासमा हुनुहुन्छ ? 
हरेक पार्टी महाधिवेशनले पास गरेका नीति र फैसलाहरूलाई कार्यान्वयन गराउन उहाँ दृढतापूर्वक क्रियाशील हुँदै आउनुभएको छ । देशभरका संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने सवालमा, पार्टीका अन्तरविरोधहरू व्यवस्थापन गर्ने, विधिसम्मत ढंगले पार्टी सञ्चालन गर्ने, कार्यकर्ताहरूको योग्यता–क्षमताको मूल्यांकन गर्ने विषयमा उहाँ अब्बल हुनुहुन्छ । उहाँसँग संगठनको नेतृत्वमा रहेको लामो अनुभव पनि छ । त्यसैले, अहिले मूल नेतृत्वलाई सहयोग गर्दै उहाँकै बिरासतमा टेकेर स्थापित हुने प्रयासमा हुनुहुन्छ भन्ने मलाई लाग्छ ।