राम्रो तलबसहित रोजगारीको आश्वासन दिएर भारतको कस्मिर पुर्याएर तीन महिनादेखि बन्धक बनाइएका ३५ नेपाली मजदुर उद्धारपछि स्वदेश फर्केका छन् । बिहारका चारजना एजेन्टमार्फत ३ फागुनमा कस्मिर लगिएका उनीहरूको नेपाली दूतावास, किन इन्डिया र जम्मु–कस्मिर प्रहरीको पहलमा २६ वैशाखमा उद्धार गरिएको थियो । कस्मिरको बडगाउँबाट उद्धार भएका उनीहरू बुधबार राति स्वदेश फर्केका हुन् ।
पाँचजना बालकसहित उद्धार गरिएका सबै सर्लाही, धनुषा र महोत्तरीका हुन् । कस्मिर पुर्याएलगत्तै उनीहरूसँग भएको पैसा, मोबाइल, नागरिकतासहितका कागजपत्र खोसेर बन्धक बनाइएको थियो । कडा निगरानीमै उनीहरूलाई यातना दिँदै काममा लगाइन्थ्यो । चार कोठामा कोचेर सुत्न दिइन्थ्यो, जहाँ शौचालयको व्यवस्थासमेत थिएन । कोठाभित्रै बोतलमा पिसाब फेर्ने गरी अमानवीय व्यवहार गरिएको थियो ।
‘सुरुमा ४३ जनालाई बिहारका एजेन्टले दैनिक भारु ७२० रुपैयाँ ज्याला हुन्छ भनेर लगेका रहेछन् । प्रतिव्यक्ति सात हजार नेपाली रुपैयाँका दरले सबैलाई पेस्की रकम पनि बाँडेका रहेछन्,’ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमा चतुर्वेदीले टेलिफोनमा भने, ‘लगेकै दिनदेखि उनीहरूलाई एक छाक खुवाएर काममा लगाउने, यातना दिने गरेर बन्धक बनाइएको रहेछ ।’
उद्धार गरिएकाहरूले काम गरेको ज्याला पनि पाएका थिएनन् । बन्धक बनाइएका ४३ मध्ये सातजना पहिले नै भागेर फर्किन सफल भएका थिए । एजेन्टका आफन्त पर्ने एक नेपाली बालक कस्मिरमै बसेका छन् । ‘जुन रात कस्मिर पुगेका थियौँ, त्यही रात हामीलाई कुटेर मोबाइल, भएजति पैसा र नागरिकतासहितका कागजपत्र खोसेर लगे । अर्को दिन पनि बिहानै देखि कुट्दै काम लगाउन थाले । राम्रो खान पनि दिएनन् । साइटमा चाहिँ कुनै ठाउँमा खाना पाइन्थ्यो । कुनै ठाउँमा खाना नपाएर भोकै बस्नुपर्थ्योे । एक दुईओटा समोसा, जुस खान दिएर दिनभर काममा दलाउँथे’ । उद्धार गरिएका दिनेश पासवानले भने, ‘कोठामा ल्याएपछि फेरि गाली गर्ने, कुट्ने गर्थे । बाहिरबाट चुकुल लगाएर थुनेर राख्थे । खाने, सुत्ने, दिसापिसाब पनि त्यही कोठामै गर्नु पर्थ्यो ।’
उद्धार गरिएका अर्का नेपाली मजदुर रञ्जित चौधरीले आफूहरूलाई ज्यान मार्ने धम्कीसमेत दिएको बताए । ‘जम्मु भनेर लगेको, कस्मिर पुर्याएछ । राति न ओढ्ने छ, नि बिछ्यौना छ, न खाना छ । भोकभोकै सुत्यौँ । मोबाइल, पैसा, नागरिकता सबै खोस्यो । फर्किन पाउँदैन भन्थ्यो । मार्दिन्छु, सात जना नेपालीलाई त गोली हानेर, बोरामा कसेर फालेको हो भनेर सुनाउँथ्यो । तिमीहरूलाई यहीँ सडाइदिन्छु भन्थ्यो,’ उनले भने ।
उद्धारमा खटिएका नयाँदिल्लीस्थित किन इन्डियाका अध्यक्ष नवीन जोशीले पीडितहरूलाई सकुसल गाउँ फर्काएको बताए । ‘हामीले १८ वर्षमुनिका पाँचजना बालकसहित ३५ जना नेपालीलाई कस्मिरबाट दिल्ली हुँदै गाउँ फर्काएका छौँ,’ उनले टेलिफोनमा भने, ‘अत्यन्तै अमानवीय अवस्थामा बन्धक बनाएर उहाँहरूलाई राखिएको रहेछ । नेपाली दूतावास, किन इन्डिया, प्रहरी र अन्य एजेन्सीहरूको समन्वयमा उद्धर गर्न सफल भयौँ ।’ उद्धार भएर दिल्ली नल्याउन्जेल उनीहरूलाई प्रहरीले खाने–बस्ने व्यवस्था गरेको थियो । पाल टाँगेर उनीहरूलाई प्रहरी कार्यालयभित्र खाने–बस्ने व्यवस्था मिलाइएको जोशीले बताए ।
जोशीसहित सर्लाहीका सरोज रायलगायतको टोलीले २३ वैशाखमा जम्मु–कस्मिर पुगेर स्थानीय प्रहरीको समन्वयमा बन्धक बनाइएको ठाउँ पत्ता लगाएको थियो । ‘उहाँहरूलाई आवश्यक रेकी गरेर २६ वैशाखको बिहानै उद्धार गर्न सफल भयौँ,’ जोशीले भने, ‘एउटा घरको भुइँतलाका चार कोठामा ४२ जनालाई राखिएको रहेछ । उहाँहरूलाई राति कोठामा थुनेर बाहिरबाट ताल्चा लगाउने रहेछन् । राति बोतलमै पिसाब फेर्नुपर्ने अवस्था रहेछ ।’
उद्धार गरिएका नेपालीले मंगलबार नेपाली दूतावास दिल्लीमा त्यहाँको अवस्थाबारे जानकारी दिएका थिए । ‘गएकै दिनदेखि कुट्ने, पिट्ने, एक छाक पनि राम्रोसँग खाना नदिने, खाना खाएका वेलामा गएर एजेन्टहरूले थुकिदिने, राति शौचालय जान पनि नदिने, एउटा कोठाभित्र ४३ जनालाई कोचेर राख्नेजस्ता अमानवीय हर्कत भएको रहेछ,’ चतुर्वेदीले भने, ‘त्यहाँ पुर्याएकै दिन उनीहरूसँग भएको मोबाइल र पैसा एजेन्टहरूले खोसेर राखेछन् । दिनहुँ रक्सी खाएर एजेन्टले नेपाली कामदारलाई पिट्ने, गालीगलौज गर्ने गरेका रहेछन् ।’
सुरुमा एजेन्टहरू सर्लाही, धनुषा र महोत्तरीका सीमावर्ती गाउँ पुगेर जम्मुमा ५० जना कामदार आवश्यक भएको र दैनिक सात सय २० रुपैयाँ भारु (नेपाली ११५२ रुपैयाँ) ज्याला हुने भन्दै आश्वासन दिएका थिए । ‘खान र बस्नबाहेक दैनिक त्यति धेरै कमाइ हुने भनेपछि नेपाली मजदुर स्वाभाविक रूपमा लोभिए र जान तयार भए । त्यसमाथि पनि सबैलाई सात हजार रुपैयाँका दरले पेस्की बाँड्न लगाएर एजेन्टहरूले भिडियो खिचेछन्,’ किन इन्डियाका अध्यक्ष जोशीले भने ।
जोशीका अनुसार काममा जाने क्रममा भागेर सातजना नेपाली मजदुर पहिले नै दिल्ली हुँदै स्वदेश आएका थिए । ‘उनीहरूले स्थानीय प्रशासन, प्रहरी र नेताहरूलाई जानकारी गराउँदा कुनै पहल भएनछ । अन्तिममा सर्लाहीका सरोज रायलाई यो जानकारी आएपछि उनले परराष्ट्र मन्त्रालयमार्फत दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी दिए, त्यसपछि हामी पनि यो कार्यमा संलग्न भयौँ,’ उनले भने, ‘पहिले नै भागेका एकजना कामदारलाई पनि लिएर गयौँ र ठाउँ पत्ता लगाउन सजिलो भयो ।’
उनीहरूलाई बिहान ५ बजेतिर प्रहरीको सहयोगमा उद्धार भएको थियो । ‘हामी उद्धारमा जाँदा सबैजना बचाइदिनुस् भन्दै रोइकराइ गर्नुभयो । हामीले उहाँहरूलाई सुरक्षित रूपमा ल्यायौँ,’ जोशीले भने । जोशी दिल्लीबाट कस्मिर पुगेर नेपालीहरूलाई उद्धार गरे र उनीहरूलाई बिहार सीमाबाट नेपालतर्फ पठाएर फर्केका छन् ।
चार एजेन्टविरुद्ध मुद्दा, दुई पक्राउ
नेपालीलाई यातना दिएर बन्धक बनाउने कार्यमा संलग्न चारजनामध्ये जम्मु–कस्मिर प्रहरीले दुईजनालाई २६ वैशाखमा पक्राउ गरेर मुद्दा चलाएको छ । बिहार अररिया जिल्लाका मुख्तकिम आलम (३२) र मोहम्मद साजाद (३२) पक्राउ परेको जोशीले बताए । उनीहरूलाई भारतीय कानुनअनुसार आइपिसी ३७४ अन्तर्गत मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको छ । बिहारकै जमाल मन्सुरी र मलिम मन्सुरीविरुद्ध पनि प्रहरीले मुद्दा चलाएको छ । तर, उनीहरू फरार छन् ।
दिनभरि काममा दलाउँथे, राति कोठामा थुनेर राख्थे : उद्धार गरिएका सर्लाहीका दिनेश पासवान
जुन रात कस्मिर पुगेका थियौँ, त्यही रात हामीलाई कुटेर मोबाइल, भएजति पैसा र नागरिकतासहितका कागजपत्र खोसेर लगे । अर्को दिन पनि बिहानैदेखि कुट्दै काम लगाउन थाले । राम्रो खान पनि दिएनन् । साइटमा चाहिँ कुनै ठाउँमा खाना पाइन्थ्यो । कुनै ठाउँमा खाना नपाएर भोकै बस्नुपर्थ्यो । एक–दुईवटा समोसा, जुस खान दिएर दिनभर काममा दलाउँथे । कोठामा ल्याएपछि फेरि गाली गर्ने, कुट्ने गर्थे । बाहिरबाट चुकुल लगाएर थुनेर राख्थे । खाने, सुत्ने, दिसापिसाब पनि त्यही कोठामै गर्नुपर्थ्यो ।