१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
आरती लामा
Invalid date format o७:२९:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विद्यार्थी आन्दोलनले उठाउनुपर्ने मुद्दा

गुणस्तरीय, सीपयुक्त र रोजगारमुखी शिक्षाका लागि दबाब र जागरण पैदा गरी राज्यलाई जिम्मेवार बनाउने दायित्व विद्यार्थी आन्दोलनको काँधमा आएको छ

Read Time : > 5 मिनेट
आरती लामा
नयाँ पत्रिका
Invalid date format o७:२९:oo

कुनै वेला शासकको बोली नै कानुन बन्थ्यो । उसको उर्दीले जनताको आवाजमाथि प्रतिबन्ध लाग्थ्यो । उसको निरंकुशताको जाँतोमा जनता पिसिइरहनुपथ्र्यो । हो, तिनै शासकविरुद्ध गंगालाल, चिनियाँकाजीहरूले भने– ‘जनतामारा शासक मुर्दावाद !’ खुनी शासकको नाभीमा तीर रोप्ने यो बोली तिनलाई किन पाच्य हुन्थ्यो र ? बोलीको बदला फाँसीमा चढाइयो । प्रजातन्त्र प्राप्तिका खातिर नेपालको विद्यार्थी आन्दोलनले आफ्ना महान् योद्धा सहपाठी गुमायो । इतिहासका कहालीलाग्दा अँध्यारा रात्रिमा विद्रोहको चेतना बोक्दै मृत्यु रोज्न पुगे ती विद्रोही विद्यार्थी नेताहरू ।

सत्तालाई ठाडो नजरले हेर्नु भनेको आफ्नै आँखामा झिर रोप्नुसरह हुने अवस्थामा भुइँमान्छेहरूको मुक्ति र स्वतन्त्रताका लागि एकीकृत र संगठित हुँदै यस आन्दोलनले कठोर संघर्षको बाटो राज्नुपर्‍यो । यही सिलसिलामा राष्ट्रघाती असमान सन्धि खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र पूर्णतः बन्द गर्नुपर्ने, स्ववियु खोल्न पाउने अधिकार वहाली गर्नुपर्ने र बन्दी विद्यार्थीलाई निःसर्त रिहाइ गर्नुपर्नेलगायत माग राख्दै उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलनमार्फत १ जेठ ०२२ मा आत्माराम खरेलको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘अनेरास्ववियू’ गठन भयो । यो ऐतिहासिक पहलकदमीको हर्षोल्लासमा ‘१ जेठ’ लाई विद्यार्थी समुदायले विद्यार्थी दिवसका रूपमा मनाउन थाल्यो । त्यसयता एकातिर टुटफुट र विभाजनको घानमा पर्दै र अर्कातिर जनवादी शिक्षा प्राप्ति, राष्ट्रियताको रक्षा तथा लोकतन्त्र र जनजीविकाका सन्दर्भमा आन्दोलित हुँदै र विविध जनपक्षीय मुद्दा बोक्दै विद्यार्थी आन्दोलन अघि बढाइए ।

संविधानमा दस्ताबेजीकरण भइसकेको समाजवादउन्मुख व्यवस्थालाई व्यवहारमा कार्यान्वयनका लागि विद्यार्थी आन्दोलन सैद्धान्तिक, राजनीतिक र सांगठनिक रूपले पुनः सशक्त र व्यवस्थित रूपले अघि बढाउन आवश्यक छ
 

मुलुकको प्रत्येक अग्रगामी राजनीतिक आन्दोलनको अग्रदस्ता बन्दै विद्यार्थी आन्दोलनले दबाब, जागरण र प्रतिपक्षीय भूमिकामा आफूलाई अब्बल सावित गर्दै आयो । उल्लिखित सम्पूर्ण भूमिकाको पछिल्‍लो कडीस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भयो र जनताको हक अधिकार तथा स्वतन्त्रताको संविधानमा दस्ताबेजीकरण भयो । विद्यालय, कलेज तथा विश्वविद्यालयमा हुने बेथिति, अनियमितता र विद्यार्थीमाथि हुने अन्यायविरुद्ध खबरदारी गर्दै विद्यार्थी हक–अधिकारका लागि आवाज बुलन्द गर्नु यस आन्दोलनको दैनिकी नै बन्यो । राजनीतिक प्रशिक्षण, सचेतना र लोकतन्त्रको पैरवीदेखि यातायात क्षेत्रमा विद्यार्थीलाई ४५ प्रतिशतसम्म छुट गराउन निर्णायक पहल लिनेजस्ता कार्य विद्यार्थी आन्दोलनबाटै सम्भव भए । यसर्थ, नेपालको शैक्षिक तथा राजनीतिक परिवर्तनको इतिहास विद्यार्थी आन्दोलनको इतिहासविना अपूरो हुन्छ ।

आज विद्यार्थी समुदायको लडाइँ, आन्दोलन र अभियानको स्वरूप नयाँ ढंगले प्रारम्भ गर्नुपर्ने अवस्थामा आइपुगेको छ । शिक्षामा असमानता बढेको छ । बेरोजगारीले युवा पलायनको भयावह स्थिति उत्पन्न भएको छ । भू–राजनीतिक जटिलता बढेको छ । सामाजिक राजनीतिक र आर्थिक रूपमा छाएको नकारात्मकता व्याप्त छ र समाज निराशाजनक अवस्थाबाट गुज्रिरहेको छ । कूटनीतिक सन्तुलनदेखि समाजको आर्थिक तथा सांस्कृतिक पक्ष कमजोर बन्दै गएको छ । यस्ता सबैखाले समस्याको पृष्ठभूमि दलाल पुँजीवाद बनेको छ । त्यसकारण संविधानमा दस्ताबेजीकरण भइसकेको समाजवादउन्मुख व्यवस्थालाई व्यवहारमा कार्यान्वयनका लागि विद्यार्थी आन्दोलन सैद्धान्तिक, राजनीतिक र सांगठनिक रूपले पुनः सशक्त र व्यवस्थित रूपले अघि बढाउन आवश्यक छ । यस आलेखमा विद्यार्थी आन्दोलनले उठाउनैपर्ने आजका ज्वलन्त सवालबारे चर्चा गर्ने प्रयत्न गरिएको छ । 

सर्वसुलभ र निःशुल्क शिक्षा :  नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकका रूपमा व्याख्या गरेको छ भने आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भनेको छ । तर, व्यवहारतः त्यस्तो देखिँदैन । प्रि–स्कुलका नाममा भइरहेको लुटदेखि प्लस टुका नाममा भइरहेका व्यावसायिक धन्दा चलाउन छुट दिएर राज्य आफैँले दोहोरो शिक्षानीतिलाई बढावा दिइरहेको छ । सम्पूर्ण विद्यार्थीको अभिभावकत्व लिनुपर्ने दायित्वबाट गैरजिम्मेवार ढंगले पन्छिने राज्यको यस्तो व्यवहारले शिक्षामा निजीकरण, माफियाकरण र दलालीकरणलाई संस्थागत गरेको छ । यसविरुद्ध संगठित रूपमा लड्नु र शिक्षालाई व्यापारको वस्तु बन्न नदिनु हाम्रो आन्दोलनको प्रमुख कार्यनीति बन्न पुगेको छ । विद्यार्थी आन्दोलनले यो मुद्दालाई छोडेको दिन शिक्षामा झन् ठूलो व्यापारीकरण बढ्ने र निम्नवर्गीय जनताका छोराछोरीले शिक्षा आर्जन गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउनेछ । 

ज्ञान, सीप, श्रम र उत्पादनसँग जोड्ने शिक्षा :  विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थी कम्तीमा कुनै क्षेत्रका लागि सीपयुक्त जनशक्ति बनोस्‌ वा आफ्नो देशमा कुनै उद्यम गर्न योग्य बनोस्‌ । यसका निम्ति शिक्षण संस्था र विश्वविद्यालयको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन जरुरी छ । पाठ्यक्रम बदलिँदो ज्ञान, विज्ञान, प्रविधि, परिवर्तन र विश्वव्यापी स्तरमा प्रतिस्पर्धी बनाउन सक्दा मात्रै हाम्रा विद्यार्थी सीपयुक्त बन्छन् । अब विश्वविद्यालय पढेर निस्केको विद्यार्थी रोजगारीका लागि विदेशी भूमिमा जान लाग्ने लाम बन्द गर्नुपर्छ । राज्यले एक्काइसौँ शताब्दीका आधुनिक दास जसरी नेपाली युवालाई बेचिरहेको छ, जसको अन्त्य गर्नुपर्छ । युवाको श्रमलाई कौडीको भाउमा बेच्न बन्द गर्नुपर्छ ।

हाम्रो शिक्षाले प्रदान गरेका प्रमाणपत्र फगत कागजको खोस्टो किन बनिरहेका छन् ? के यही परिस्थितिलाई बोकेर हाम्रो संविधानले परिकल्पना गरेजस्तो समाजवादी आर्थिक, राजनीतिक र सांस्कृतिक प्रणालीको अभ्यासमा पुग्न सकिन्छ ? समाजवादी व्यवस्थाका लागि चाहिने आधारभूत तत्व शिक्षालाई ज्ञान, श्रम, सीप, रोजगार र उत्पादनसँग नजोडी अघि बढदा देश समृद्ध बन्छ ? यस्ता प्रश्नको जवाफ खोज्दै गुणस्तरीय, सीपयुक्त र रोजगारी सिर्जना गर्न सक्ने शिक्षाका लागि दबाब र जागरण पैदा गरी राज्यलाई जिम्मेवार बनाउने दायित्व विद्यार्थी आन्दोलनको काँधमा छ । 

समतामूलक समाज निर्माणको अभिभारा :  नेपाली समाज आज पनि उच–निचपूर्ण विभेद र विभिन्न उत्पीडनसँग संघर्षरत छ । विभेदमुक्त मस्तिष्क निर्माणमा जुट्नुपर्ने वेला आएको छ । हाम्रो शिक्षा प्रणालीले यस गम्भीरतालाई गहिरो गरी आत्मसात् गरेको पाइँदैन । समानता र समतामूलक समाज निर्माणको पहलकदमी उठाउन सकिरहेको छैन । लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय विभेद एवं उत्पीडनजस्ता तमाम अन्यायपूर्ण सामाजिक संरचनाका पर्खाल भत्काउने प्रतिरोधी आवाजका संवाहक युवा विद्यार्थी बन्नुपर्नेछ । विद्यार्थी संगठनले यस्ता युवा विद्यार्थीलाई संगठित तथा प्रोत्साहित गर्दै समतामूलक समाज निर्माणको अभिभारा पूरा गर्नतर्फ लाग्नुपर्छ । 

देशभक्तिको जागरण :  एकातिर हामीलाई विस्तारवादीहरूले देशको सिमानामा सताइरहेका छन् भने अर्कातिर निश्चित बहुराष्ट्रिय कम्पनिको हितार्थ बहुसंख्यक भुइँमान्छेलाई कंगाल बनाउने विश्व भूमण्डलीकृत पँुजीवादका नयाँ–नयाँ स्वरूप र नामबाट नेपालमा आफ्नो उपनिवेश खडा गर्न अनेक चाल चालिरहेका छन् । हाम्रा शैक्षिक पाठ्यक्रम डिजाइन तथा भाषा र संस्कृतिमा अदृश्य ढंगले बाह्य आक्रमण बढेको छ । यी सम्पूर्ण परिवेशमा विद्यार्थी संगठनले ती भूराजनीतिक गतिविधिका नियतबारे छलफल र विमर्श गरी जनतामाथि यथार्थ सुसूचित गर्नुपर्नेछ । देशभक्तिपूर्ण स्वाधीनताका लागि आन्दोलन गर्नुपर्नेछ र लडाइँ लड्नुपर्नेछ ।

पर्यावरणीय संरक्षण :  केही मुठीभर कुलीन वर्गका मान्छेबीचको धनाढ्य बन्ने होडबाजी र धनी देशको अस्वस्थ प्रतिस्पर्धाको चपेटामा परेर हाम्रा प्राकृतिक स्रोत–साधनको प्रचुर दोहन भइरहेको छ । आज विश्वमा कार्बन उत्सर्जनको तीव्र वृद्धिले वातावरणिय प्रदूषणको कहालीलाग्दो अवस्था निर्माण हुँदै छ । यसले असन्तुलित पारेको पर्यावरणको लयलाई हामीले फर्काउन सकेको खण्डमा मात्र हाम्रा भावी सन्‍ततिले आरामको सास फेर्न पाउनेछन् । होइन भने पृथ्वीको आयु नै छोटिने खतरा बढदो छ । पर्यावरणीय संकट निराकरणका लागि आवश्यक पर्ने नयाँ जागरण र सचेतना फैलाउने काम संगठित विद्यार्थी समुदायकै हो । विश्वको यो पेचिलो संकटबाट मुक्ति गराउने व्यापक छलफल, बहस र नयाँ परिवर्तनको मार्ग कोर्नु छ । विद्यार्थी संगठनले त्यसका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्नेछ ।

सामाजिक रूपान्तरणमा अग्रसरता :  नेपाली समाज आजको युगमा पनि अन्धविश्वास र रुढीग्रस्त छ । एकातिर परम्पराका नाममा विभिन्न कुंसस्कारले समाजमा नंग्रा गाडेर बसेका छन् भने अर्कातिर दलाल तथा आजको वित्तीय पुँजीवादले उपभोक्तावादी संस्कृति निर्माण गरिरहेको छ । यसले हाम्रो समाजलाई प्रगतिशील र वैज्ञानिक संस्कृतिको बाटामा हिँड्न तगारो तेस्र्याइरहेको छ । यसकारण विद्यार्थी संगठनले समाजमा प्रगतिशील चेतना प्रवाह गराउनुपर्नेछ । समाजका हरेक अन्धकारलाई तोड्दै सुन्दर उज्यालो देखाउनुपर्नेछ ।

विज्ञान र प्रविधिमैत्री शिक्षालय :  हाम्रा शिक्षालयले अझै पनि विद्यार्थीलाई हरघटना तथा परिवेशलाई वैज्ञानिक दृष्टि, तर्क र प्रमाणका कसीमा हेर्न सिकाइरहेका छैनन् । फलस्वरूप विश्वविद्यालयका डिग्रीधारी विद्यार्थीले पनि बिरामी पर्दा डाक्टरभन्दा पहिले धामीझाँक्री सम्झिन पुग्छन् । हाम्रा शिक्षालयमा नवीनतम प्रविधिको उपयोग न्यून छ । विद्यार्थी कम्प्युटरका सामान्य ज्ञानका विषयमा पनि अल्मलिन्छन् । यी सम्पूर्ण विषयको प्राप्तिका लागि विद्यार्थी संगठनले संघर्ष गर्नु अपरिहार्य छ ।

मुलुकको पछिल्‍लो राजनीति तथा समुदायमा फैलिरहेको व्यक्तिवादी, लोकरिज्याइँवादी र पश्चगामी विचारको आडमा विद्यार्थी संगठनको औचित्य सकियो भन्ने संगठनमा लाग्ने विद्यार्थीमाथि क्षुद्र टिप्पणी गर्ने र बदनाम गर्न खोज्नेजस्ता प्रयास भइरहेका छन् । उनीहरू विद्यार्थी समुदायलाई राजनीतिक सचेतनाबाट अलग्याउन सकियो भने गणतान्त्रिक व्यवस्थामाथि धाबा बोल्न सजिलो हुने ठान्छन्‌ । किनकि, उनीहरूलाई थाहा छ, सत्ताको चालबाजीलाई नजिकबाट नियाल्‍ने, त्यसका गतिविधिमा बहस र पैरवी गर्ने तथा आन्दोलन छेडने एवं आमसमुदायमाझ जागरण पैदा गर्ने भनेको अग्रगामी विद्यार्थी समुदायले नै हो ।

अबको अग्रगामी विद्यार्थी आन्दोलनले यसरी निर्माण गर्न खोजिएका सबै खालका विद्यार्थी आन्दोलनविरोधी अवधारणा, भाष्य र कुप्रचारमाथि प्रहार सुरु गर्नुपर्छ । त्यो प्रहार विद्यार्थी समुदायका हितविरुद्ध फैलिएका तमाम गलत विचारको खण्डनसहित वैचारिक, शैक्षिक कार्यक्रम, राजनीतिक र संगठनात्मक रूपमा नयाँ ढंगले गर्न जरुरी छ । आजको समाजको मुख्य उत्पादक शक्ति विज्ञान तथा प्रविधि बनेर आएको छ ।

नवीन परिस्थितिमा हामीले सांगठनिक गतिविधि र आन्दोलनलाई नयाँ युगसापेक्ष बनाउनु अबको अनिवार्य आवश्यकता हो । इतिहासमा यस्तो जटिल आवश्यकता पूरा गर्ने अभिभारासहित जन्मिएको विद्यार्थी आन्दोलनको स्वर्णिम समयलाई आत्मसात् गर्दै अघि बढ्नुको विकल्प छैन । दुनियाँलाई बुझाउनु छ, गणतान्त्रिक व्यवस्थासम्मका यो बदलाव कुनै सर्कस टोलीको खेल थिएन भनेर । अग्रगामी, समाजवादी तथा देशभक्त तमाम न्यायप्रेमी विद्यार्थी समुदायले शैक्षिक उन्नयन र राजनीतिक सचेतनाका लागि ‘१ जेठ’को वास्तविक आन्दोलनको अस्त्रलाई ओजस्वी बनाउन साँचो अर्थमा पुनः तीव्र ढंगले लागिपर्नु जरुरी छ ।
(लामा अनेरास्ववियूकी अध्यक्ष हुन्)