१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १० सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १० सोमबार १८:५९:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

तेस्रो नेरुफमा ‘सतीदेवी’ले जित्यो सर्वोत्कृष्ट फिल्मसहित तीन अवार्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १० सोमबार १८:५९:oo

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव–०८० मा लक्ष्मण सुवेदीको ‘सतीदेवी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। वरिष्ठ निर्देशक तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहालसहितको जुरी कमिटीले महोत्सवको प्रतिस्पर्धामा रहेका फिल्ममध्येबाट ‘सतीदेवी’लाई सर्वोत्कृष्ट ठहराएको हो।

यो फिल्मबाट निर्देशक सुवेदीले सर्वोत्कृष्ट स्क्रिप्ट राइटर र यही फिल्मकी शीर्ष अभिनेत्री मलिका महतले सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्डसमेत जित्न सफल भए।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका– ८ स्थित गौरीशंकर माविमा ६–८ वैशाखमा आयोजना गरिएको महोत्सवमा ‘सतीदेवी’ हेरेका दर्शक रुँदै निस्किएका थिए। उनीहरूले ‘सतीदेवी’ अहिलेसम्म हेरेकामध्येकै उत्कृष्ट फिल्म लागेको प्रतिक्रिया दिँदै यस्तै विषयवस्तुमा फिल्म बनाउन चलचित्रकर्मीहरूलाई सुझाव दिएका थिए।

‘सतीदेवी’ले यसअघि गत माघ तेस्रो साता सौराहामा सम्पन्न सौराहा दक्षिण एसियाली फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्म र शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक (लक्ष्मण सुवेदी)अवार्ड जितेको थियो।

महोत्सवमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’बाट निश्चल बस्नेतले जिते भने यही फिल्मबाट स्वस्तिमा खड्काले सर्वोत्कृष्ट अभिनेत्री र राजेन्द्र मोक्तानले उत्कृष्ट कलरिस्टको अवार्ड पाए। यो फिल्मको निर्माण कम्पनी सिनेमा आर्टस् उत्कृष्ट ब्यानर घोषित भयो। दयाहाङ राईले ‘नांगो गाउँ’ फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड जिते भने यही फिल्मबाट बनिस शाहले उत्कृष्ट सम्पादनको अवार्ड हासिल गरे। त्यसैगरी, उत्कृष्ट छायाँकारको अवार्ड ‘विच्छेद’ फिल्मका लागि संकल भुजेलले पाए भने यो फिल्मले जुरी मेन्सन अवार्डसमेत जित्यो।

यसैगरी, सर्ट फिल्मतर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा उत्कृष्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले बाजी मर्‍यो। उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड अनिल बुढामगर निर्देशीत ‘द आइरन डिजरले’ले जित्यो भने ‘अन्तै माया’ले उत्कृष्ट म्युजिक सर्ट फिल्म र ‘रित्तो गाउँ’ले जुरी मेन्सन अवार्ड जित्न सफल भयो।

सेलिब्रेटी नेपालको आयोजनामा सम्पन्न महोत्सवमा ‘सतीदेवी’,‘नांगो गाउँ’,‘दिमाग खराब’,‘विच्छेद’  ‘डेसान’ (अप्रतियोगी) फिचर फिल्म तथा विभिन्न डकुमेन्ट्री अनि सर्ट फिल्म प्रदर्शन गरिएको थियो।

ग्रामीण परिवेशका कथामा निर्माण भएका चलचित्रलाई समेटेर ग्रामीण भेगमा नेपाली चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सवको दोस्रो संस्करण काभ्रेको भकुन्डेबेँसीमा सम्पन्न गरिएको थियो।