![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/himalayan-hydro-expo2024-04-19-04-33-28.jpeg)
चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ। एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिएको हो।
एक्स्पो आगामी वैशाख १२, १३ र १४ गते (अप्रिल २४, २५ र २६) भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ। वैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी र्याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए।
विद्युतको आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको इभी र्याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युत् प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शीतलनिवास, बालुवाटरलगायतका मुख्य स्थान हुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुनेछ। र्यालीमा विद्युतबाट चल्ने दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे र ६ पांग्रे इभीहरूलाई निःशुल्क रूपमा सहभागी गराइनेछ।
‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन इभी र्यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेस मिटिङहरू पनि आयोजना गरिएको छ। जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पिटिसीलगायतका कम्पनीका प्रतिनिधिहरूसँग बिजनेस मिटिङ हुनेछन्। एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरूको बुकिङ सम्पन्न भइसकेको छ।
आर्थिक गतिविधिहरू सुस्त भइरहेको अहिलेको अवस्थामा पनि एक्स्पोमा उत्साहजनक सहभागिता भएको अध्यक्ष कार्कीले बताए। एउटा आयोजना बनाउन जेजति सेवा र वस्तुहरू चाहिन्छन्, सबै एकैठाउँमा पाइने भएकाले ऊर्जा क्षेत्रसँग सरोकार राख्ने सबैले एकपटक एक्स्पोमा भिजिट गर्नै पर्ने पनि उनले बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ। नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् दीर्घकालीन रूपमा निर्यात गर्ने सम्झौता भैसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माण गरिसकेको सन्दर्भमा र लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानको अपेक्षा छ।
ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रूप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजनाा गरिएको हो। नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका बारेमा ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानका महासचिव बलराम खतिवडाले बताए।
एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकतालगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिनेछ। यी सबै प्राविधिक सत्रहरूलाई विश्वको जुनसुकै स्थानबाट पनि सजिलै भर्चुअल माध्यम प्रयोग गरी सहभागिता तथा अवलोकन गर्न सकिने बताइएको छ। साथै, एक्स्पोमा सहभागी प्रदर्शनकर्ताहरूसँग सीधै सम्पर्क पनि गर्न सकिनेछ।
हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रोपावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिस्पर्धा एक्स्पोको आकर्षण बन्ने आयोजकले जानकारी दिएको छ।