१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लगानी सम्मेलनअगाडि नै दर्जन ऐन संशोधन हुन्छन् : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:३५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा लगानीको वातावरण बिग्रिन नदिन गम्भीर भएर लागेको बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघ (सिएनआई)को २१औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधारमा आफूले धरै पहल थालेको बताएका हुन् । ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रले गति लिन्छ भन्नेमा स्पष्ट छौँ, निजी क्षेत्रको मनोबल बढाउन पनि सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्र सुधारमा सरकारले सकारात्मक हस्तक्षेप गरिरहेको छ र गरिरहनेछ ।’ निजी क्षेत्रबाट सरकारको स्थायित्वमाथि आशंका भएको भन्दै उनले अब अर्को चुनाव नहुँदासम्म सरकार चलिरहने आश्वासन दिए । उनले भने, ‘तपाईंहरूले तनाव लिइरहनुपर्दैन, ढुक्क हुनुहोस्, यसबीचमा मैले तीनपटक विश्वासको मत लिएँ, तर प्रधानमन्त्री त म नै छु ।’

प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनअगाडि नै निजी क्षेत्रको मनोबल बढाउन दर्जन ऐन संशोधन हुने प्रतिबद्धता जनाए । उनले भने, ‘सम्मेलनअगाडि नै निजी क्षेत्रको चिन्ता सम्बोधन हुन्छ, ऐन संशोधनको प्रक्रिया सुरु भइसकेको छ, संशोधनको प्रक्रियामा गइसकेपछि लामो समय अल्झाएर राख्न अब छुट छैन, अल्झाउनुपर्ने कारण पनि छैन । अर्थतन्त्र सुधार, निजी क्षेत्रको मनोबल वृद्धि, ऐन संशोधनलगायतमा एक वर्षदेखि मिहिनत गरिरहेको भए पनि सोचेको नतिजा अझै नआएको उनले बताए । 

आगामी वर्षको बजेट नयाँ उत्साह र आशा जगाउने खालको हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । पछिल्लो समयम अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको प्रधानमन्त्री प्रचण्डले बताए । नागढुंगा–नौबिसे सुरुङमार्गको ब्रेक थ्रुसँग देश सुरुङमार्गको युगमा प्रवेश गरेको उनको भनाइ थियो । यस्तै, वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनलाई पनि उनले आफ्नो उपलब्धिमा समेटेका छन् । फलाम, जस्तापाता, सिमेन्ट, क्लिंकरको उत्साहप्रद निर्यात, पर्यटक आगमनमा उछाल, उपत्यकाबाहिर हाउजिङ तथा अपार्टमेन्ट विस्तार, रेमिट्यान्स आप्रवाहमा वृद्धि, भारतसँग १० हजार मेगावाट बिजुली बिक्रीको सम्झौता, बंगलादेशमा बिजुली बिक्री गर्न ढोका खुला हुनु अर्थतन्त्रका सकारात्मक पाटो रहेको उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधि (आइटी) क्षेत्रमा राम्रो सम्भावना देखिएको बताउँदै सरकारले आइटी क्षेत्रको प्रवद्र्धनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । 

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बैंक तथा वित्तीय संस्थामा अर्बौँ लगानीयोग्य रकम थुप्रिने, तर लगानी गर्न नसक्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताए । ‘अहिले समग्रमा उत्पादनमूलक उद्योगहरूले आफ्नो क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन्, त्यसैले अर्थतन्त्रलाई अगाडि बढाउन समग्र माग बढाउने नीति लिन आवश्यक छ,’ उनले भने, ‘अर्थतन्त्रमा अस्वाभाविक संकुचन आएर समग्र माग बढ्न नसक्दा उद्योग–व्यवसाय बन्द हुने क्रम बढ्दै गएको छ, जसको गम्भीर असर बैंकहरूको वासलातमा समेत देखिएको छ ।’

 पछिल्ला केही महिनायता उद्योगहरूमा गरिएको अघोषित लोडसेडिङले उद्योगी–व्यवसायी थप मर्कामा परेको अध्यक्ष अग्रवालको गुनासो थियो । ‘एकातिर विद्युत् खपत बढाउन विद्युत् प्राधिकरण लागिरहेको छ, अर्कोतर्फ धेरै विद्युत् खपत गरिरहेका उद्योगहरूमा नै १६ घण्टासम्म लोडसेडिङ गराइरहेको छ,’ उनले भने, ‘यो कस्तो नीति हो ? हामीले बुझ्न सकेका छैनौँ ।’

ad
ad