इरानका राष्ट्रपति रायसी इब्राहिमले इजरायली आक्रमणप्रति सानो पनि कदम चाले ‘पीडादायी जवाफ’को सामना गर्नुपर्ने चेतावनी दिएको छ।
सिरियास्थित दमास्कस वाणिज्य दूतावासमा अप्रिल १ मा भएको हवाई आक्रमणको जवाफमा शनिबार इरानले इजरायलमाथि पहिलो प्रत्यक्ष आक्रमण गरेको थियो। दूतावासमा भएको आक्रमण इजरायलले गरेको आरोप इरानले लगाएको छ।
उक्त आक्रमणमा इरानी दूतावासको पाँचतले कन्सुलर खण्ड ध्वस्त भएको थियो भने दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए। ‘इरानको हितविरुद्ध थोरै पनि कारबाहीप्रति निश्चित रूपमा गम्भीर, व्यापक र पीडादायी जवाफ दिइनेछ भन्ने हामी दृढतापूर्वक घोषणा गर्दछौँ,’ राष्ट्रपति रायसीले सोमबार राति कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँगको टेलिफोन वार्तामा भनेका थिए।
उनले इरानले ‘आत्मरक्षा’का लागि काम गरेको दोहोर्याए। उनको कार्यालयको विज्ञप्तिमा अपरेसनले वाणिज्य दूतावासमा आक्रमण गर्न प्रयोग हुने इजरायली आधारहरूलाई लक्षित गरिएको उल्लेख छ। उनले इजरायलका लागि केही पश्चिमी सरकारको समर्थनको आलोचना गरे।
व्यापक क्षेत्रीय द्वन्द्वको आशंकाका कारण विश्वका नेताहरूले संयमता अपनाउन आग्रह गरेको भए पनि इजराइली सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हलेबीले सोमबार अभूतपूर्व आक्रमणको जवाफ दिइने बताएका थिए। ‘इजरायली क्षेत्रमा यति धेरै मिसाइल, क्रुज मिसाइल र युएभीको प्रक्षेपणको जवाफ दिइनेछ,’ हलेबीले नेवातिम एयरबेसमा सैनिकहरूलाई भने।
अमेरिका र अन्य सहयोगीको मद्दतमा अधिकांश इरानी हतियारलाई खसाइएको र आक्रमणमा न्यूनतम क्षति मात्र भएको इजरायली सेनाले बताएको छ। इरानले इजरायलमा आफ्नो ‘सीमित’ आक्रमण गर्नुअघि अमेरिकालाई सूचित गरेको र छिमेकी मुलुकहरूलाई ७२ घण्टाको चेतावनी दिएको जानकारी गराएको छ।