१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Friday, 24 May, 2024
राबाह एरेज्की
२o८१ जेठ ११ शुक्रबार १o:२२:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सेनेगलको चुनावले अफ्रिकामा जगाएको आशा 

Read Time : > 3 मिनेट
राबाह एरेज्की
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १o:२२:oo

भ्रष्टाचारविरोधी कदम चाल्न र आर्थिक समावेशीकरणलाई बढावा दिन राष्ट्रपतिलाई बलियो जनादेश मिलेको छ

सेनेगलको कुल गार्हस्थ्य उत्पादन अर्को पश्चिम अफ्रिकी मुलुक नाइजेरियाको तुलनामा कम भए पनि खुला अर्थतन्त्र भएको सानो देशले ‘परिपक्व लोकतन्त्र’को हैसियतमार्फत अफ्रिका महादेशभर निकै ठूलो भूमिका खेल्छ । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता हासिल गरेदेखि सेनेगलमा एकपटक पनि सैन्य कु भएन, जसप्रति सेनेगलवासी गर्व गर्छन् । प्रजातान्त्रिक इतिहासप्रति गर्व गर्ने सेनेगल रहेको क्षेत्रको इतिहास भने भिन्न छ । त्यही भेगमा पछिल्लो केही वर्षभित्रै गिनी, माली, बुर्किना फासो, निजेयर र ग्याबोनजस्ता देशले एकपछि अर्को सैन्य विद्रोहको सामना गरे ।

प्रजातन्त्रतर्फको संक्रमणमा सेनेगलले पनि सानातिना समस्या सामना नगरेको होइन । विशेषतः निवर्तमान राष्ट्रपति म्याकी सालको शासनमा देशको प्रजातान्त्रिक अभ्यासमा उतारचढाव बढ्दै गएको थियो । यही निर्वाचनमा पनि अन्तिम समयसम्म उनी संविधानले तोकेको समय सीमा उल्लंघन गरेर पुनः अर्को कार्यकालमा उठ्ने चिन्ता कायम थियो । आमचिन्ताबीच साल लामो समयसम्म मौन थिए । सडकमार्फत आन्दोलनकारीको बढ्दो दबाबमा झुक्दै अन्ततः उनले अर्को कार्यकालमा नउठ्ने घोषणा गरे । त्यस्तो घोषणापछि उनले पुनः जनादेशको म्याद समाप्त भएको लामो अवधिसम्म चुनावलाई पछि धकेलिरहे । 

यसको विरोधमा देशव्यापी प्रदर्शन भयो । कैयौँको ज्यान गयो । कैयौँ जेल परे । व्यापक जनदबाब र संवैधानिक अदालतको एक निर्णयपछि अन्ततः राष्ट्रपति चुनाव गराउन बाध्य भए । गत मार्च २४ मा सम्पन्न निर्वाचनमा चुनावको समय जेलमा रहेका उम्मेदवार बास्सिरो डिओमाये फाय  निर्वाचित भए् । पूर्वकर निरीक्षक फायलगायत उनका राजनीतिक गुरु ओस्मान सोनकोसँगै देशभर हजारौँ राजनीतिक अभियन्ता जेलमा राखेए यो निर्वाचन गरिएको थियो । सोनकोलाई त निर्वाचनको उम्मेदवारी दिन पनि रोकिएको थियो । सोनकोको राजनीतिक दल पास्टेफ (सेनेगलका देशभक्त) गत ग्रीष्ममा विघटन गरिएको थियो । 

स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका फायको चुनावी एजेन्डा देशमा व्याप्त भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने र आर्थिक सार्वभौमसत्ता प्रवर्द्धन गर्ने भन्ने थियो । यस एनेन्डाले देशका देशभक्त तथा आर्थिक प्रगतिको चाहना गर्ने ठूलो संख्याका युवा जनसंख्यालाई आकर्षित गर्‍यो । सेनेगलका युवामा अहिले पनि स्वतन्त्रतापछिको युगकै झझल्को दिने देशभक्ति देखिन्छ । आजको द्रुत रूपमा विकसित भूराजनीतिक वातावरणमा धेरै अफ्रिकी समाज तिनको चासोलाई थप दृढतापूर्वक पछ्याउने अवसर देख्न थालेका छन् । र, अन्य धेरै अफ्रिकीजस्तै युवा सेनेगाली नेतासँग निराश छन् । हुन पनि अफ्रिकी नेता आफ्नै व्यक्तिगत स्वार्थमा फस्दै जाने र देशको प्राथमिकतामा ध्यान केन्द्रित गर्न अक्षम वा अनिच्छुक सावित हुँदै गएका छन् । 

अफ्रिका महादेशमा आर्थिक उदारीकरणलाई प्रायः अन्तर्राष्ट्रिय संस्थाहरूले लगानीलाई बढावा दिन प्रवर्द्धन गरे । तर, अहिले यस नीतिले उल्टै असर गरेको देखिन थालेको छ । कमजोर भ्रष्टाचार नियन्त्रण गर्ने निकाय तथा कानुनले राजनीतिज्ञ र विदेशी कम्पनीबीचको दुर्नियतपूर्ण गठजोडमा वृद्धि हुन थालेको छ । सेनेगलमा अफ्रोब्यारोमिटरले गरेको सर्वेक्षणले सन् २०२२ मा देशका ७३ प्रतिशत नागरिकले तिनको देशको पहिलेदेखिको भ्रष्टाचार थप बढेको धारणा व्यक्त गरेको देखाएको थियो । अफ्रिकीहरूको मनस्थिति बुझ्न सन् २०१७ मा ब्रिटिस पेट्रोलिमय (बिपी)ले सेनेगलको तटनजिक ठूलो तेल र ग्यास भण्डार भेट्दाको समयलाई ख्याल गर्दा उचित हुन्छ । 

त्यस खोजपछि सुरुमा धेरै सेनेगाली नागरिकले तिनको देशको आर्थिक रूपान्तरण हुने आशा गरेका थिए । तर, आयोजना निर्माणमा देखिएको ढिलासुस्ती, त्योसँग जोडिएका एकपछि अर्को भ्रष्टाचार काण्ड र वातावरणीय ह्रासको चिन्ताले मानिसमा निराशा बढाउन थाल्यो । त्यस्तै, सेनेगलको ठूलो व्यवसायको रूपमा विकसित मत्स्य क्षेत्रको आर्थिक समावेशीकरण नहुँदा आममानिसले यसबाट खासै लाभ लिन सकेका छैनन् । सीमित ठूला कम्पनीले अत्यधिक माछा मारेर विदेश निर्यात गर्छन् भने सर्वसाधारण सेनेगाली नागरिक त्यो व्यवसायको मूकदर्शक मात्र भएर बसेका छन् । 

पछिल्ला तथ्यांकले सेनेगलको आर्थिक वृद्धिको बलियो सम्भावना देखाएका छन् । देशभित्र चरम गरिबीमा उल्लेखनीय गिरावट पनि आइरहेको छ । बिजुलीमाथिको आमपहुँचमा निरन्तर वृद्धि भइरहेको छ । तर, यसका बाबजुद युवा सेनेगालीले ज्यान जोखिममा पारेर गैरकानुनी युरोप जाने आप्रवासी भिडमा मिसिने क्रम बढ्दो छ । आर्थिक सुधारको सम्भावना र नकारात्मक धारणाबीचको यो बेमेल अफ्रिकामा पनि अन्यत्र देख्न सकिन्छ । शिक्षित तथा सामाजिक सञ्जालमा जोडिएको वर्तमान युवा जनसंख्याको महत्वाकांक्षा विगतका पुस्ताभन्दा उच्च छ । यसले राजनीतिक नेताबाट अपेक्षा बढाएको छ । तर, नेताहरूबाट औसतसमेत काम हुन सकेको छैन । त्यसमाथि पानी, सडक, विद्यालयजस्ता सेवाहरू उपलब्ध हुँदा पनि तिनको कमजोर पूर्वाधार तथा देशमा बढ्दो भ्रष्टाचारले युवामा निराशा बढाउन योगदान गरेको छ । निराशासँगै आममानिसमा उच्च आक्रोश र असन्तुष्टि पनि देखिन्छ ।

फायले चुनावको समयमा समाधान गर्ने वाचा गरेको अर्को मुख्य मुद्दामा पश्चिम अफ्रिकी आर्थिक र मौद्रिक संघ–सम्बन्धमा जोडिएको अनिश्चिततासँग जोडिएको छ । सैन्य कुपछि बुर्किना फासो, नाइजर र मालीले भर्खरै एक गठबन्धन घोषणा गर्दै उनीहरूले आफूहरूमाथि लगाइएको प्रतिबन्ध तथा अन्य कारबाहीको कारण पश्चिम अफ्रिकी राज्यको आर्थिक समुदाय छोड्ने बताएका छन् । यद्यपि पछि उनीहरूमाथि लगाइएका प्रतिबन्ध हटाइएको छ । तर, यसका बाबजुद ती मुलुकका सैन्य नेता तिनको पूर्वघोषित कार्यक्रममा अघि बढ्नेमा प्रतिबद्धजस्तो देखिएका छन् । पश्चिम अफ्रिकी राज्यको आर्थिक समुदाय छाडेपछि ती मुलुक एक संयुक्त रक्षा बल बनाउने बताइरहेका छन् । साथै तिनले हाल पश्चिमी अफ्रिकी राज्यको आर्थिक समुदायका सदस्य रहेका आठ मुलुकले प्रयोग गरिरहेको ‘सिएफए फ्य्रांक’को प्रयोग अन्त्य गर्ने घोषणा गरेका छन् ।

फ्रान्सले बनाइदिएको यस मुद्रा (सिएएफ फ्य्रान्क)लाई परित्याग गर्ने घोषणाले आफ्नो सार्वभौमसत्तामाथि दाबी गर्न चासो राख्ने आममानिसलाई आकर्षित त गर्छ । तर, यो मुद्रा प्रयोग गर्ने संघबाट अलग्गिँदा त्यसले छोटो अवधिमा राम्रोभन्दा बढी हानि हुनेछ । यदि फायले पश्चिम अफ्रिकी देशको समूहको एकता जोगाउने प्रबन्ध गरे भने त्यो परिणाम उल्लेखनीय उपलब्धि हुनेछ । आखिरमा राम्ररी अघि बढाइयो भने पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय अफ्रिकाभित्र बृहत्तर क्षेत्रीय एकता प्रक्रियालाई शक्ति दिने इन्जिन बन्न सक्छ । सन् २०२१ मा कोभिड महामारीको समयमा सदस्य राष्ट्रहरूले एक–अर्काको सामानमा भन्सार छुट गर्न थालेदेखि नै यसको सकारात्मक प्रभाव देखिन थालेको थियो । तथापि यसमा अरू विभिन्न अवरोध अझै रहेकाले तिनलाई पनि सामाधान गर्न सक्ने व्यापारमा थप सुधार गर्न सकिन्छ । यसले सीमापार लगानी र व्यापारलाई मात्र उत्प्रेरित गर्दैन; कृषि, दूरसञ्चार, विद्युत् र वित्तजस्ता प्राथमिकताका क्षेत्रमा महाद्वीपीयस्तरको एकीकरणलाई पनि प्रवर्द्धन गर्नेछ । यस सन्दर्भमा, अफ्रिकाको बढ्दो जनसंख्याले थप स्थानीय उत्पादन र रोजगारी सिर्जनाका लागि प्रोत्साहन प्रदान गर्न सक्छ ।

फायको सानदार विजयले उनलाई भ्रष्टाचारविरोधी कदम लागू गर्न र आर्थिक समावेशीकरणलाई बढावा दिन बलियो जनादेश दिएको छ । तर, आफ्नो चुनावी वाचा पूरा गर्न, उनले पहिले देशको राजनीतिक नियन्त्रण र सन्तुलनलाई सुदृढ गर्नुपर्छ । त्यो तब मात्र सम्भव हुन्छ, जब देशको न्यायपालिकाको स्वतन्त्रतामाथि उठेको कालो बादल हटाइनेछ र सरकारका सबै तहमा पारदर्शिता सुनिश्चित गरिनेछ । सेनेगलको प्रजातान्त्रिक संस्थानलाई सबल बनाउन असफल भएमा देश भर्खरै भएकोजस्तै राजनीतिक ह्रासमा फस्नेछ । अफ्रिका महादेशभर विशेषगरी युवाले परिवर्तनको माग गरिरहेका छन् । सेनेगलका नवनिर्वाचित ४४ वर्षीय राष्ट्रपति तिनको माग पूरा गर्ने पहिलो हुन नेता हुने सम्भावना छ, अब उनको परीक्षा सुरु भएको छ । 

(प्रोजेक्ट सिन्डिकेटबाट)

‘फ्रेन्च नेसनल सेन्टर फर साइन्टिफिक रिसर्च’ अनुसन्धान निर्देशक एरेज्की फाउन्डेसन फर स्टडिज एन्ड रिसर्च अन इन्टरनेसनल डेभलपमेन्ट र हार्वर्ड केनेडी स्कुलका वरिष्ठ फेलो हुन् ।

ad
ad