निर्माणको अन्तिम चरणमा पुगेको पुलको पायाँ बाढीले भासिएको करिब डेढ वर्षपछि कमला पुलको पुनर्निर्माणको भइरहेको छ । पुल भासिएपछि उच्चस्तरीय राजनीतिक नेतृत्व, विभागीय मन्त्रीहरूले पुनर्निर्माणको काम छिटो सक्न निर्देशन दिँदै आएका छन् । तर, धनुषातर्फ भासिएको तेस्रो पायाँको विषयमा सडक विभागको पुल महाशाखाले निर्णय नगर्दा पुनर्निर्माणमा ढिलाइ भएको छ ।
१८ चैतमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी सडकखण्डअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला पुलको पुनर्निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । कमला पुलको पूर्वतर्फ भइरहेको पुनर्निर्माणको स्थलगत निरीक्षण गर्दै उनले सरकारले आवश्यक स्रोत–साधनको व्यवस्था गरेको बताए । समयमै निर्माण सम्पन्न नभए निर्माण कम्पनी कारबाहीको भागीदार हुने चेतावनीसमेत दिए ।
पूर्वतर्फ काम हुँदै, पश्चिमतर्फ निर्णयको पर्खाइ
हुलाकी सडकअन्तर्गत कमलामा पुल बनाउन ३१ जेठ ०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सम्पन्न गर्नुपर्थ्यो । कुल २८ करोड १५ लाखमा पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो ।
पुल निर्माणको अन्तिम काम चलिरहेका वेला १७ असार ०७८ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फको दोस्रो पायाँ र त्यही वर्षको तीन कात्तिकमा धनुषातर्फबाट तेस्रो पायाँसमेत भासिएको थियो । कुल १२ वटा स्पान र १३ पिल्लर रहेको पुलको पूर्वपट्टि भासिएको पायाँको डिजाइन परिवर्तनपछि वर्षाअगाडि पाइल क्यापसम्मको निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले बताए । ‘बाढीले भासिएको धनुषातर्फबाट तेस्रो पायाँको विषयमा विभागको पुल महाशाखाले अहिलेसम्म के गर्ने भन्नेबारे केही निर्णय नै दिएको छैन,’ उनले भने, ‘पूर्वतर्फ जसरी डिजाइन परिवर्तन गर्ने हो या के गर्ने हो भन्ने निर्णय नआएकाले त्यसको पर्खाइमा छौँ ।’ परिवर्तित डिजाइनअनुसार पूर्वतर्फ भासिएको दोस्रो पायाँको ठाउँमा एउटा थप गरी दुईवटा बनाइएको उनले बताए । उनका अनुसार त्यसमा तीनवटा पिल्लरको सट्टा एउटै पिल्लर बनाएर दुईवटा स्ल्याब १२ वटा फलामको बिममा राखिनेछ ।
अदालतमा बिमा रकमको विवाद
१५ फागुन ०७९ मा तत्कालीन उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कमला पुलको स्थलगत निरीक्षण गरेको करिब दुई महिनापछि २४ वैशाखमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र निर्माण कम्पनीबीच ०८१ असार मसान्तसम्म भासिएको पुलको पुनर्निर्माण गर्ने सम्झौता भएको थियो । पुलको अन्तिम निर्माण चलिरहेका वेला बाढीले पायाँ भासिएपछि कम्पनीले क्षतिवापत् बिमा कम्पनीबाट आठ करोड रकम नपाएको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकाले समयमा पुनर्निर्माणको काम सम्पन्न गर्न समस्या भएको साइट इन्चार्ज थापाले बताए ।
बाँसको पुलमा जोेखिमपूर्ण यात्रा
पुल भासिएपछि वर्षाको समयमा निजी रूपले सञ्चालन गरिएका डुंगा र हिउँदमा स्थानीयले बनाएको बाँसको पुलमा जोखिमपूर्ण यात्रा गर्नु बाध्य रहेको स्थानीय बासिन्दाले बताए । सिराहा नगरपालिका–६ बसबिट्टाका विन्देश्वर यादव भन्छन्, ‘बाँसकै पुल भए पनि तत्काल राहत भएको छ ।’ पुलको दक्षिणपट्टि बाँसको खम्बामा मोटो प्लाई हालेर बनाइएको दुईवटा पुल पनि जीर्ण भएपछि त्यसको बीचभागमा फेरि त्यस्तो पुल बनाएपछि आवतजावत गरिएको यादवले बताए । उनका अनुसार पैदल र साइकलयात्रीलाई निःशुल्क तथा मोटरसाइकललाई ५० रुपैयाँ शुल्क लिने गरिएको छ ।