१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २५ आइतबार
  • Saturday, 21 September, 2024
२o८o चैत २५ आइतबार १५:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

करका दर घटबढ हुँदा कारणसहित प्रस्ट पार्नेछौँ : अर्थमन्त्री पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २५ आइतबार १५:२८:oo

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताएका छन्।

अर्थ मन्त्रालय र वीरगन्ज उद्योग वाणिज्य संघले आज राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री पुनले विगतका वर्षमा बजेट वक्तव्यमार्फत करको दररेट बढाउँदा वा घटाउँदा विवादास्पद विषय बनेको भन्दै आगामी आवमा करको घटबढ हुनुको कारणसहित स्पष्टीकरण समेट्ने बताए।

‘आगामी आवको बजेट निर्माण गर्दा करका दर घटाउँदा वा बढाउँदा त्यो गर्नुको उद्देश्य स्पष्ट ढंगले खुलाउनेछौँ,’ उनले भने, ‘राजस्वको दररेट घटाउनुको बाध्यतासहितको कारण खुलाउनेछौँ। यसले विगतका समयमा जस्तै आएको विवादलाई निरुपण गर्ने अपेक्षा लिएका छौँ।’

अर्थमन्त्री पुनले कुनै व्यक्ति वा उद्योग विशेषलाई फाइदा पुग्ने गरी राजस्व वा करको दररेट परिवर्तन नगर्ने प्रतिबद्धता व्यक्त गरे। ‘यो वर्ष करका दररेटमा कुनै पनि विवाद नआउने गरी काम गर्ने तयारी गरिरहेका छौँ। हामीले प्रस्टैसँग हाम्रो सीमा निर्धारण गरेर सोहीअनुसार काम गर्नेछौँ,’ उनले भने।

वीरगन्जका उद्योगी व्यवसायीले ‘आर्थिक नगरी’ स्थापना गर्न माग गरेपछि अर्थमन्त्रीले पनि सहजीकरण गर्ने आश्वासन दिए। अर्थमन्त्री पुनले वीरगन्जलाई औद्योगिक नगरीको रूपमा अघि बढाउन संघीय सरकारको समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।

‘भर्खरै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ। पोखराको स्थानीय तह र प्रदेशको अगुवाइमा भएको घोषणा कार्यक्रममा प्रधानमन्त्री स्वयं उपस्थित भएर पर्यटकीय नगरी घोषणा गर्नुभएको छ,’ अर्थमन्त्री पुनले भने, ‘वीरगन्जलाई आर्थिक नगरी घोषणा गरियोस् भन्ने उद्योगी–व्यवसायीको माग निकै सकारात्मक छ। यो घोषणा गर्नका लागि वीरगन्ज महानगरपालिका र मधेश प्रदेशले प्रस्ताव गरेको खण्डमा संघीय सरकारको समर्थन रहनेछ।’

वीरगन्ज औद्योगिक नगरीको साथसाथै आर्थिक राजधानीको सहर पनि भएको उनले दाबी गरे।