१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
ग्रासा मसेल
२o८१ बैशाख २२ शनिबार १o:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

गाजामा देखिएको नैतिक पतन 

Read Time : > 2 मिनेट
ग्रासा मसेल
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:o४:oo

लामो समयको क्रूरता र अतिक्रमणलाई अनुमति दिँदा कसरी विश्वव्यापी मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको चर्चा गर्न सक्छौँ ?

गाजामा भइरहेको अथक घेराबन्दी मानवताका लागि अँध्यारो प्रतिबिम्ब हो । विगत ६ महिनामा करिब एक लाख प्यालेस्टिनी मारिएका वा घाइते तथा बेपत्ता भएका छन् । बहुसंख्यक निर्दोष नागरिकले ७ अक्टोबर २०२३ मा भएको हमासको आक्रमणका लागि कुनै जिम्मेवारी वहन गर्दैनन् । राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्ततः तत्काल युद्धविराम र हमासलाई तुरुन्तै बन्धक रिहा गर्न 

आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । अब राष्ट्र संघका सबै सदस्य राष्ट्र विशेषतः इजरायलका राजनीतिक एवं सैन्य सहयोगी राष्ट्रले प्रस्तावलाई सकेसम्म चाँडो पूर्ण रूपमा कार्यान्वयन गर्ने सुनिश्चितता प्रदान गर्नुपर्छ ।

इजरायलको सैन्य हमलाबाट बाँचेका गाजावासी विस्थापन, भोक र रोगको घातक संयोजनलाई पर्खिन बाध्य छन् । इजरायलले गरेको मानवीय आपूर्ति, खाना र सफा पानीको नाकाबन्दीले गाजाको जीवनलाई कठिन बनाएको छ । सहायता एजेन्सीका अनुसार एनेस्थेसिस्टविना महिला सुत्केरी भइरहेका छन्, निर्जलन र कुपोषणका कारण बालबालिकाले ज्यान गुमाइरहेका छन् र सम्पूर्ण समुदाय रोगले ग्रस्त बनिरहेको छ । गाजामा कोही पनि नरसंहारबाट सुरक्षित नहुँदा त्यहाँ जनसांख्यिकीय स्तरमा विनाश भइरहेको छ ।

अहिले गाजाका जनतालाई मानसिक आघात एवं शोकले गाँजेको छ । १० लाखभन्दा बढी बालबालिकालाई मनोसामाजिक सहायताको अपरिहार्यता देखिन्छ । हालैको विध्वंसले १८ वर्षदेखिको गाजामा भएको नाकाबन्दीले दिएको पीडामाथि पीडा थपेको छ । यता वेस्ट बेंकमा प्यालेस्टिनी जनता नियमित रूपमा अतिक्रमणकारी बासिन्दाको उत्पीडन एवं विस्थापन र मनोमानी गिरफ्तारी व्यहोरिरहेका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय मानवीय कानुन बर्खिलाप हमासले सयभन्दा बढी इजरायलीलाई बन्धक बनाएको छ र त्यसमाथि ७ अक्टोबरमा मारिएका आमइजरायलीका परिवार शोकमा छन् । 

इजरायलले निकट साझेदारको चेतावनीलाई अवज्ञा गर्दै ६० हजार बालबालिकासहित १५ लाख मानिस शरणमा रहेको रफाहमा हमला गरे निकृष्ट परिस्थिति निम्तिनेछ । त्यहाँ पूर्णस्तरको सैन्य हमलालाई कुनै पनि हालतमा रोक्नुपर्छ । बालबालिकामा सशस्त्र द्वन्द्वको प्रभावबारे सन् १९९६ को राष्ट्र संघको प्रतिवेदन लेख्ने व्यक्तिका रूपमा मैले शरणार्थी शिविरमा रहेका प्यालेस्टिनीलाई उनीहरूको पीडा समाप्त हुने वाचा गरेकी थिएँ । अफसोस, हामी त्यो वाचा पूरा गर्न असफल मात्र भएका छैनौँ, हामीले प्यालेस्टाइनी बालबालिकाका लागि थप शत्रुतापूर्ण संसार पनि सिर्जना गरेका छौँ । यो असफलताले मलाई जहिल्यै पिरोलिरहन्छ । 

मेरा दिवंगत श्रीमान् नेल्सन मन्डेला र अन्य विश्व नेताले स्थापना गरेको द एल्डर्सको सदस्यका नाताले मैले केही लेख्नैपर्छ । मन्डेलाले प्यालेस्टिनी मुक्तिलाई न्यायपूर्ण र स्वतन्त्र संसार प्राप्तिका लागि अभिन्न अंगको रूपमा मान्यता दिँदै विश्वभर शान्ति, न्याय र मानवअधिकारको पैरवी गर्ने जनादेश दिएका थिए । लामो समयको क्रूरता र अतिक्रमणलाई अनुमति दिँदा हामी कसरी विश्वव्यापी मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनमाथि बहस गर्न सक्छौँ ?

गाजामा नरसंहार रोक्न नैतिक साहसको कमीबीच म इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा नरसंहार महासन्धिको उल्लंघन गरेकामा उजुरी दर्ता गर्ने दक्षिण अफ्रिकाको नेतृत्वको प्रशंसा गर्छु । अन्तर्राष्ट्रिय न्यायालयको २६ जनवरी र २८ मार्चमा भएका निर्णयले गाजामा भएको अत्याचारको स्पष्ट रूपमा निन्दा गर्छ र निर्दोष प्यालेस्टिनीको सुरक्षा गर्न इजरायललाई आवश्यक कदम चाल्न आदेश दिएको छ र यसले ठूलो मात्रामा निर्बाध मानवीय सहायता पनि सुनिश्चित गर्छ ।

इजरायल र यसलाई सैन्य एवं आर्थिक सहायता प्रदान गर्ने देशले अदालतको निष्कर्षलाई ध्यान दिनुपर्छ र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्ना दायित्व पालना गर्नुपर्छ । र, यो ठूलो पीडामा हामी असहाय छैनौँ । एउटै मानव परिवारको सदस्यका हाम्रो आफ्नै प्रभाव वृत्तमा यी अन्यायविरुद्ध बोल्नु हाम्रो नैतिक कर्तव्य हो । हामी आफ्नो व्यक्तिगत र सामुदायिक सक्रियतामार्फत सामथ्र्य जुटाउन सक्छौँ । 

हामीले गाजामा जीवन जोगाउने सहायताको अत्यधिक आवश्यकता पूरा गर्न थप मानवीय भूमिमार्ग खोल्न तुरुन्तै माग गर्नुपर्छ । सहायता वितरणका लागि सुरक्षा निरन्तर सुनिश्चित गरिनुपर्छ । एयर ड्रप र प्रस्तावित समुद्री कोरिडोर अपर्याप्त छन् र इजरायलले गाजाका नागरिकलाई उपेक्षा गर्न पाउँदैन । 

दोस्रो, विश्व नेताले इजरायललाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन बन्द गर्न र अन्तर्राष्ट्रिय न्यायालयको आदेशको पालना गर्न बाध्य पार्न सैन्य र आर्थिक लाभ प्रयोग गर्नुपर्छ । इजरायललाई सैन्य सहायता प्रदान गर्ने राष्ट्रले समीक्षा गर्नुपर्छ र भविष्यको प्रावधानका लागि नयाँ सर्त तय गर्नुपर्छ । निरन्तर हतियार आपूर्ति गर्नेले नरसंहारलाई सम्भव बनाउँछन् र ती युद्ध अपराधमा संलग्न ठहरिन्छन् ।

तेस्रो, निर्णयकर्ताले प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय राहत एजेन्सीलाई पूर्ण आर्थिक र राजनीतिक समर्थन गर्नुपर्छ । ७ अक्टोबरमा भएको आक्रमणमा इजरायलले कर्मचारीको संलग्नताको आरोप लगाएपछि दाताले राहत एजेन्सीका लागि दिइने रकम हतारमा रोकेका छन् । यो अपरिपक्व र असमान प्रतिक्रियाले अब लाखौँ प्यालेस्टिनी शरणार्थीको अधिकार र कल्याणलाई खतरामा पार्छ । राहत एजेन्सीलाई भत्काउने इजरायली सरकारको नियत स्पष्ट छ । के हामी यसलाई यो द्वन्द्वको अर्को क्षति भनेर मान्न सक्छौँ ?

परिस्थितिले न्यायपूर्ण र स्थायी शान्तिका लागि प्रतिबद्ध देशको बृहत्तर गठबन्धनबाट ठोस कदम चाल्न आह्वान गर्छ । यो शान्तिले इजरायली र प्यालेस्टिनीलाई पारस्परिक सम्मान, आत्मनिर्णय, मर्यादा र सुरक्षाको अवस्थामा सहअस्तित्वमा रहन सक्षम बनाउनुपर्छ । यदि हामीले प्यालेस्टिनी र इजरायलीको जीवन एवं सुरक्षा समान मूल्यवान् छ भनी पहिचान गर्न असफल भयौँ भने हामी निर्दोष बालबालिकालाई आगामी पुस्तासम्मका लागि बेवास्ता गरिरहनेछौँ ।

(मसेल द एल्डर्सका उपाध्यक्ष हुन्) 

प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad