Skip This
अस्थिरताको मुख्य कारक मिश्रित निर्वाचन प्रणाली हो : कांग्रेस बागमती प्रदेश सभापति बानियाँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २१ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २१ बुधबार २३:३७:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

अस्थिरताको मुख्य कारक मिश्रित निर्वाचन प्रणाली हो : कांग्रेस बागमती प्रदेश सभापति बानियाँ

भ्रष्टाचारमुक्त, सुशासनयुक्त देश बनाउने अभियानको नेतृत्व अब कांग्रेसले गर्नुपर्ने भनाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २१ बुधबार २३:३७:oo

नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मुलुकमा अस्थिर सरकारको मुख्य कारक संविधानमा रहेको मिश्रित निर्वाचन प्रणाली भएको बताएका छन्। 

कांग्रेस मण्डनदेउपुर नगर सम्मेलन उद्घाटन गर्दै सभापति बानियाँले यस्तो निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने बताए।

मिश्रित निर्वाचन प्रणालीको कारण कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन नसक्ने र साना दलले बारम्बार च्याँखे दाउ थापिरहेर सरकारलाई अस्थिर बनाइरहने अवस्था बनेको उनको भनाइ थियो। उनले यही अस्थिरताको कारण जनतामा वर्तमान संविधान र यसका व्यवस्थाहरूप्रति नै असन्तोष बढिरहेको पनि बताए।

प्रत्यक्ष निर्वाचित प्रणालीमा गए कांग्रेस एक्लैले स्पष्ट बहुमत ल्याउन सक्ने भन्दै हिजोको गठबन्धन त्यही मिश्रित निर्वाचन प्रणालीको बाध्यात्मक अवस्थाका कारण उत्पन्न भएको बताए।

संविधानमाथि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बारम्बार धावा बोलेका कारण त्यसविरुद्ध एक ठाउँमा उभिएका दलहरूबीच नै पछि चुनावी गठबन्धनसमेत बनेको चर्चा गरे।

‘तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान मिचेर पटकपटक प्रतिनिधिसभा भंग गरेपछि संविधान रक्षाका लागि कांग्रेसले माओवादी, एकीकृत समाजवादी, जनमोर्चालगायतका वामपन्थी दल सम्मिलित आन्दोलनको नेतृत्व गरेको थियो। ओलीको प्रतिगमनलाई पूर्ण रूपमा परास्त गर्न ती दलहरूबीचकै बहुमत आवश्यक थियो । एक्ला एक्लै चुनावमा जाँदा बहुमत आउने अवस्था थिएन । त्यसैले हिजो बाध्यात्मक रूपमा गठबन्धन गरियो,’ प्रदेश सभापति बानियाँले भने, ‘त्यसरी बनेको गठबन्धनका कार्यकर्ताको मत लिइसकेपछि अहिले माओवादीले धोका दियो र त्यही हिजोको प्रतिगमनकारी एमालेसँग सत्तासाझेदारी गर्न पुग्यो ।’

बागमती प्रदेश सभाका सांसदसमेत रहेका बानियाँले यो निकट इतिहासले पनि अब मिश्रित निर्वाचन प्रणाली त्यागेर प्रत्यक्ष निर्वाचित प्रणालीमै जानुपर्छ भन्ने पुष्टि गरेको बताए । साथै, उनले अब कांग्रेसले मिश्रित निर्वाचन प्रणालीको संवैधानिक व्यवस्था संशोधनका लागि पनि नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरे।

‘हिजो कांग्रेस एक्लैले राणासँग लड्यो, पञ्चायतसँग लड्यो । बन्दुकबाट सत्ताकब्जा गर्छौँ भन्ने माओवादीलाई शान्तिप्रक्रियामा ल्यायो । हामी कोहीभन्दा कमजोर छैनौँ । हामी एक्लै लडेर पनि बहुमत ल्याउन सक्छौँ । त्यसैले अब कांग्रेसले संविधान संशोधनको नेतृत्व लिनुपर्छ,’ उनले थपे । 

प्रदेश सभापति बानियाँले विकृत निर्वाचन प्रणाली सच्याएर प्रत्यक्ष निर्वाचित प्रणालीअनुसारको चुनावमा गए मात्र दलहरूको वास्तविक अवस्था थाहा हुने बताए।
उनले कांग्रेसभित्र पनि टिकट वितरणको प्रणालीमा आमुल सुधारको खाँचो रहेको औँल्याए। उपयुक्त पात्रलाई टिकट दिन नसक्दा निर्वाचनका वेला घातप्रतिघात बढ्ने खतरा हुने भन्दै उनले जुन तहको निर्वाचन हो, त्यही तहको पार्टी कमिटीले टिकट वितरण गर्नु वैज्ञानिक हुने धारणा व्यक्त गरे।

साथै, उनले पार्टीभित्र लोकतन्त्र अझ बलियो बनाउनुपर्ने, शुद्धीकरण र सुदृढीकरणमा जोड दिनुपर्ने भन्दै टिकट नपाएकै कारण पार्टी छाड्ने र जसले टिकट दिन्छु उतैतिर हाम्फाल्नेहरू कांग्रेसको विचारबाट निर्देशित छैनन् भन्ने बुझिने बताए । कांग्रेस संघर्ष, बलिदान र त्यागको इतिहास भएको पार्टी भएको चर्चा गर्दै उनले विचारलाई प्रधान मान्न कार्यकर्तालाई आग्रह गरे। 

फरक प्रसंगमा उनले सहकारीको रकम अपचलनको गम्भीर आरोप लागेका व्यक्ति मुलुकको गृहमन्त्री बनिरहन नहुने धारणा व्यक्त गरे । ‘हिजो कांग्रेसको नेतृत्वमा सरकार भएका वेला माओवादीका जनार्दन शर्मा अर्थमन्त्री थिए । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै सञ्चारमाध्यमहरूमा समाचार आएपछि सदनमा प्रमुख प्रतिपक्षी एमालेले संसदीय छानबिन समितिको माग गर्यो । कांग्रेसले समिति बनायो, शर्मालाई राजीनामा गर्न पनि लगायो । पछि छानबिनले निर्दोष पाइएपछि उहाँलाई पुनः अर्थमन्त्री बनाइयो,’ उनले भने, ‘सहकारीको रकम अनियमितता गरेको स्पष्ट प्रमाणहरू आउँदा पनि रवि लामिछाने गृहमन्त्री बने । संसदीय समिति बनाउन प्रधानमन्त्री प्रचण्ड तयार छैनन् । यसले यो सरकार सुशासनप्रति थोरै पनि प्रतिबद्ध छैन भन्ने नै पुष्टि गर्छ ।’

उनले सहकारी ठगीको गम्भीर आरोप लागेका व्यक्तिलाई प्रधानमन्त्री र प्रहरी प्रमुखले न्यायाधीश बनेर निर्दोष करार गर्न थालेपछि यो देशमा अब न्याय पाइएला भनेर जनताले आशा गर्ने दिन सकिएको जिकिर गरे।

कांग्रेस आफ्नै पार्टीका नेताहरूले गलत गरेका छन् भने पनि तिनलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने पार्टी भएको बताउँदै उनले भने, ‘सरकारमै हुँदा पनि कांग्रेसका कतिपय नेतामाथि अनुसन्धान भए । कांग्रेसले अनुसन्धान प्रभावित गर्न प्रयास गरेन । किनभने, कांग्रेस कानुनी राज्यको पक्षमा छ । आफ्नै नेताले गलत गरेका छन् भने पनि तिनले छुट पाउनुपर्छ भन्दैन ।’ 

कांग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेलको सभाध्यक्षमा भएको कार्यक्रममा बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, बागमती प्रदेश सदस्यहरू गणेश फुँयाल, प्रज्वल दवाडी, नेता विष्णुमणि नेपाल, रामेश्वर ढकाल,  कमल लामा, पुरुषोत्तम ठकुरीलगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो।