मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १o:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले बारा अधिवेशन : निर्वाचन प्रक्रिया सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२२:oo

नेकपा एमाले बारा जिल्ला कमिटीको अधिवेशनअन्तर्गत मंगलबारबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन कार्यक्रम मंगलबार साँझदेखि सुरु भएको हो । निर्वाचन कार्यक्रम कलैयास्थित जानकी सिनेमा हलमा भइरहेको प्रमुख निर्वाचन अधिकृत महम्मद रफिक मियाँले जानकारी दिए । 

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित एक सय २५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने एमाले निर्वाचन कमिटीले जनाएको छ। अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ । एमालेले बारामा मतदानबाटै नयाँ नेतृत्व चयन गर्ने सम्भावना देखिएको छ । 

निर्धारित समयभन्दा ढिला गरी एमालेले मंगलबार साँझ मतदाता नामावली प्रकाशन गरेको छ भने बुधबार १२:३० बजेपश्चात् उम्मेदवारको मनोनयन हुने बताइएको छ। निर्वाचन समितिले मंगलबार निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । जसअनुसार बुधबार बिहान १०:१५ पछि अन्तिम नामावली प्रकाशन गर्ने तालिकामा उल्लेख छ ।

मतदानको समय भने बिहीबार बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ । अध्यक्षका लागि कोल्हबी नगरपालिकाका पूर्वनगरप्रमुख भरतबहादुर भण्डारी, तीन कार्यकालसम्म जिल्ला सचिव भएका अध्यानन्द पाण्डे र नेकपा एमाले बाराको निवर्तमान उपाध्यक्ष टिना सुवेदीले दाबी गरेका छन् । निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने अधिवेशन प्रतिनिधिहरूले बताएका छन ।

‘विभिन्न चरणमा छलफल र सहमतिको प्रयास जारी छ। सहमति हुँदा नयाँ नाम पनि आउन सक्ला,’ मधेश प्रदेशका सचिव मनोज पौडेलले भने, ‘तर, निर्वाचन हुँदा चर्चामा रहेका उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । मतदान हुने संकेत पाएपश्चात् अन्य नेताहरू ब्याक हुन थाल्नुभएको छ । समय बाँकी छ हेरौँ केही होला, केही नभए उम्मेदवारी दर्ताको कार्यतालिका पनि आइसकेको छ, साथीहरू चुनावमा जाने बाटो त छँदै छ नि।’

यसैबीच, अध्यक्ष पदका आकांक्षीहरूले अधिवेशन प्रतिनिधिहरूसँग भेटघाट र मत माग्न सुरु गरिसकेका छन् । यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भए पनि यसपटक भने मतदानबाट नै नेतृत्व चयन हुने देखिएको छ । 

अधिवेशनमा आठ सय प्रतिनिधि चयन भएका छन् । सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेकाले निर्वाचन तालिकाभन्दा केही ढिलाइ भएको एमाले निर्वाचन समितिले जनाएको छ । एमालेले सोमबार बाराको कलैयास्थित होटेल करण राज प्यालेसमा अधिवेशनको उद्घाटन र मंगलबार बिहानबाट कलैयास्थित जानकी सिनेमा हलमा बन्दसत्र गरेको थियो । नयाँ नेतृत्वका लागि मतदानसमेत जानकी सिनेमा हलमा गर्ने भएको छ ।

नेकपा एमालेका तीन पोलिटब्युरो सदस्य रहेको बारामा आफूनिकटका व्यक्तिहरूलाई अध्यक्षमा निर्वाचित गराउने ध्याउन्नमा छन् । निर्वाचनमा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहका समर्थकहरू नेतृत्वको आकांक्षी देखिएका छन् । नेताहरू पनि आफू पक्षका कार्यकर्तालाई उम्मेदवार बनाउने र जिताउने रणनीतिमा सक्रिय बनेका छन् । कतिपयले यो निर्वाचनलाई नेताहरूको शक्ति परीक्षणको रूपमा पनि हेरेका छन् । 

यसअघि नेकपा एमालेको १०औँ जिल्ला अधिवेशनमा सर्वसम्मत रूपमै पदाधिकारीसहित एक सय ३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको थियो ।