Skip This
फुटतर्फ नागरिक उन्मुक्ति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २१ बुधबार
  • Saturday, 27 July, 2024
२o८o चैत २१ बुधबार o८:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फुटतर्फ नागरिक उन्मुक्ति

केन्द्रीय समिति बैठकमा नेताहरूमाथि हातपात गरेको भन्दै बागमती र गण्डकी प्रदेश अध्यक्ष निष्कासित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २१ बुधबार o८:५३:oo

सुदूरपश्चिम सरकारमा सहभागिताको विषयलाई नागरिक उन्मुक्ति पार्टीभित्र चर्किएको आन्तरिक विवाद पार्टी फुटतर्फ उन्मुख भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठकमा नेताहरूमाथि हातपात गरेको भन्दै पार्टीका दुईजना प्रदेश अध्यक्षलाई निष्कासित गरेकी छिन् । श्रेष्ठले पार्टीको बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङलाई पदमुक्त गर्दै पार्टीबाट निष्कासित गरेकी हुन् । उनीहरू दुवैजना पार्टीका संरक्षक रेशम चौधरी पक्षधर हुन् ।

पार्टीका संस्थापक केन्द्रीय सदस्यको बैठक चलिरहेका वेला संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारू र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार र कुटपिट गरेकाले पार्टी विधानअनुसार निष्कासन गरिएको अध्यक्ष श्रेष्ठले जारी गरेको पत्रमा उल्लेख छ । सोमबार भएको बैठकमा रेशम र रञ्जिता पक्षबीच हात हालाहाल भएको थियो ।

विवादको छिनोफानो गर्न भन्दै पार्टीका संरक्षक रेशम चौधरीले २३ र २४ चैतमा पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको बैठक डाकेका छन् । अध्यक्ष श्रेष्ठ पक्षलाई लक्षित गर्दै चौधरीले पार्टीमा गलत काम गर्नेलाई उक्त बैठकले कारबाही गर्ने बताएका छन् । 

केन्द्रमा सत्तागठबन्धनलाई समर्थन गरेकी अध्यक्ष श्रेष्ठ सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिनुपर्ने पक्षमा छिन् । उनका पतिसमेत रहेका पार्टीका संरक्षक रेशम चौधरी भने कांग्रेस नेतृत्वको सरकारको समर्थन कायम राख्नुपर्ने अडानमा छन् । 

रेशमनिकट महासचिव गंगा चौधरीले सोमबार जारी गरेको पत्रमा २३ र २४ गते तोकिएको बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यलाई आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर बैठकमा आउन भनिएको छ । अध्यक्ष श्रेष्ठले भने उक्त बैठक आधिकारिक नभएको जनाएकी छिन् । 

‘सरकारमा सहभागिताको सन्दर्भमा रेशम र रञ्जिता दुवै आफ्नो अडानबाट पछि हट्ने देखिएन । दुवै पक्षका गतिविधि हेर्दा पार्टी फुटतर्फ उन्मुख छ,’ नागरिक उन्मुक्तिका एक नेताले भने, ‘विवाद साम्य नभए २३ चैतमा बोलाएको बैठकबाट अध्यक्षलाई हटाएको निर्णय गर्ने सम्भावना छ ।’ तर, निर्वाचन आयोगबाट भने उक्त निर्णयले आधिकारिता पाउन नसक्ने उनको भनाइ छ ।

नागरिक उन्मुक्तिभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीसँग मंगलबार छुट्टाछुट्टै छलफल गरेका छन् । अध्यक्षसँगको छलफलमा प्रधानमन्त्रीले पार्टी एकता बचाएर जान तथा संघ र प्रदेश सरकारमा सहभागी हुन आग्रह गरेको संस्थापक केन्द्रीय सदस्य चौधरीले बताए ।