१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं भ्यु टावर : १२ तला ढलान भएपछि थप कति बनाउने भन्नेमा अन्योल

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:३४:oo

- पाँच वर्षमा टावर निर्माण सक्ने गरी ०७१ मा सम्झौता, कात्तिक ०७२ मा शिलान्यास 
- पुल्चोक इन्जिनियरिङ क्याम्पसको अध्ययनअनुसार २७ तलासम्म निर्माण गर्न सकिने
- सम्झौता हुँदा तीन अर्ब ८५ करोड लागत अनुमान, तर अहिले करिब आठ अर्ब पुग्यो

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा बहुउद्देश्यीय भवन काठमाडौं भ्यु टावर निर्माण सुरु गरेको आठ वर्ष भयो । यसबीचमा १२ तलासम्म ढलान पनि भइसकेको छ । तर, अझै कति तला थप्ने भन्ने यकिन नहुँदा अलपत्र बनेको छ । 

निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि अझै कहिले बन्ने र कति तला बन्ने भन्ने विषय नटुंगिँदा बर्सेनि लागत बढिरहेको छ । ०७१ सालमा पाँच वर्षमा टावर निर्माण सक्ने सम्झौता भए पनि कात्तिक ०७२ मा शिलान्यास भएको थियो । हाल टावरको भूमिगत पार्किङ भने प्रयोग गर्न थालिसकेको छ । 

नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगरपालिका
अहिलेसम्म कति तला निर्माण हुने भन्ने टुंगो लागेको छैन । २० तला निर्माण हुने वा १२ तलामै सीमित राख्ने निर्णय हुन सकेको छैन । जारी कार्यपालिका बैठकमा यसबारे एजेन्डा पनि छैन ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक टोलीको अध्ययनअनुसार टावर २७ तलासम्म निर्माण गर्न सकिनेछ । सोही अध्ययनअनुसार २० तला निर्माण गर्ने महानगरको निष्कर्ष थियो । यसबारे महानगरको कार्यपालिकाबाट निर्णय भएको भने छैन । आइतबार बसेको कार्यपालिका बैठकमा यो विषयले प्रवेश नै पाएन । ‘अहिलेसम्म कति तला निर्माण हुने भन्ने टुंगो लागेको छैन । २० तला निर्माण हुने वा १२ तलामै निरन्तरता दिनेबारे निर्णय हुन सकेको छैन । जारी कार्यपालिका बैठकमा यसबारे एजेन्डा पनि छैन,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने । क्याम्पसले बुझाएको अध्ययन प्रतिवेदनलाई महानगरको प्राविधिक पक्षले गरेको अध्ययनअनुसार २० तला मात्र निर्माण गर्न सकिनेछ । साउनको पहिलो साता क्याम्पसको टोलीले प्रतिवेदन बुझाएको थियो । 

लागत दुगुनाले बढ्यो
भ्यु टावर निर्माणका लागि निर्माण व्यवसायीसँग भने २९ तलाको सम्झौता भएको थियो । पछि ०७२ सालको भूकम्पपछि सहरी विकास मन्त्रालयले १२ तलाभन्दा अग्लो भवन बनाउन नमिल्ने जनाएको थियो । सोहीअनुसार भदौ ०७२ मा महानगरले १२ तले भवनको नक्सा पास गरेको थियो । सोही वर्ष २५ कात्तिकमा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं भ्यु टावरको शिलान्यास गरेका थिए । निर्माण सम्पन्न नभए पनि ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स कम्पनीले करिब एक करोड राजस्व भने बुझाउँदै आएको महानगरले जनाएको छ । महानगरका अनुसार टावर निर्माणको सम्झौता हुँदा तीन अर्ब ८५ करोड रुपैयाँ लाग्ने अनुमान थियो । तर, अहिले उक्त रकम वृद्धि भई करिब आठ अर्ब पुगिसकेको छ । 

भूमिगत पार्किङ जोखिमपूर्ण 
निर्माणाधीन भ्यु टावरको भूमिगत पार्किङ भने सञ्चालनमा आएको छ । पार्किङको प्रयोग साना तथा दुईपांग्रे निजी सवारीसाधनले मात्र गर्न पाएका छन् । तर, भवन निर्माणाधीन अवस्थामा रहेकाले पार्किङ जोखिमपूर्ण छ । निर्माण सामग्री ओसारपसार भइरहने वा माथिबाट सामग्री झर्न सक्नेलगायत जोखिम छ ।

२२ वैशाखदेखि यहाँको पार्किङ सञ्चालनमा आएको हो । महानगरले बागबजार, दरबारमार्ग, कालीमाटी, कलंकी, कुलेश्वर, चाबहिल, बौद्ध, माछापोखरीलगायत ठाउँको पार्किङ हटाएसँगै निर्माणाधीन भ्यु टावरको पार्किङ खोल्ने निर्णय गरेको थियो । आयोजनाका अनुसार टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा तीन सय सवारीसाधन अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । महानगरपालिकाका अनुसार निर्माण हुने पार्किङ क्षेत्रले रत्नपार्क र न्युरोडआसपास पार्किङ भइरहेका सम्पूर्ण सवारीसाधनलाई धान्नेछ । जुन निर्माण सुरु भएको ६ महिनामै सञ्चालनमा आउने भनिएको थियो । भवनमा भूमिगत पार्किङ जुन उद्देश्यअनुसार निर्माण भएको थियो, त्योअनुसार भने अझै काम हुन सकेको छैन । 

दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुनेछन् । टावर भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण भइरहेको छ । ०७२ कात्तिकमा शिलान्यास भए पनि टावर निर्माण भने जलेश्वर, स्वच्छन्द र बिकोईले ०७३ साउनदेखि सुरु गरेको हो । टावर निर्माणका लागि महानगर र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २२ फागुन ०७१ मा सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्ष भोगचलन गर्न सक्नेछ । टावर २३ रोपनी पाँच आना जग्गामा निर्माण भइरहेको छ । पाँच वर्षमा निर्माण सम्पन्न हुने भने पनि हाल टावर अलपत्रमा परेको छ ।

ad
ad