१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १३:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङमा निःशुल्क बृहत् स्वास्थ्य शिविर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२७:oo

खोटाङ सेवा समाज बेलायतले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्षित गरेर बृहत् स्वास्थ्य शिविरमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ। ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ ठाउँमा बृहत् स्वास्थ्य शिविर आयोजना गरेर समाजले निःशुल्क स्वास्थ्य सेवा प्रवाह सुरु गरेको हो।

विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई-दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने समाजले जनाएको छ। आफ्नो जन्मभूमि खोटाङका नागरिकलाई आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन समाजले बृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो।

खोटाङ घर भई बेलायतमा बसोबास गर्दै आएकाहरूको संस्था ‘खोटाङ सेवा समाज बेलायत’ले यही चैत–१६ गतेदेखि २३ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। बृहत् स्वास्थ्य शिविरको पहिलो चरणअन्तर्गत जिल्लाका विभिन्न चार स्थानमा एकैसाथ शिविर आयोजना गरिएको संस्थाका अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिए।

पहिलो चरणमा (चैत १६ र १७ गते) साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङबजार स्वास्थ्य चौकी, जन्तेढुंगा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको हरमटारमा शिविर सञ्चालन भएको छ। बृहत् स्वास्थ्य शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्तरोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको उपचार र परीक्षण गरी करिब ५० हजार खोटाङेको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिने आयोजकले जनाएको छ।

आयोजकले चैत १७ र १८ गते ऐँसेलुखर्क गाउँपालिकाको ऐँसेलुखर्क बजार तथा चैत २० र २१ गते चार ठाउँमा शिविर सञ्चालन गर्ने जनाएको छ। चैत २० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन हुनेछ।
 
चैत २२ र २३ गते दिक्तेल रूपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना गरिने आयोजकले जनाएको छ। 

खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट संकलित करिब रु. तीन करोड १० लाखबराबरको रकम स्वास्थ्य शिविरमा खर्च गरिने आयोजकले जनाएको छ। शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित १३० जनाभन्दा बढी स्वास्थ्यकर्मीको सहभागिता रहने समाजका महासचिव राजेन रामजङ राईले जानकारी दिए।

स्थानीय तहमा शिविर सम्पन्न गरेपछि चैत २४ गते दिक्तेलस्थित शुभम् फाउन्डेसनमा औपचारिक रूपमा समापन गरिने बताइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्मास्थित शुभम् फाउन्डेसनमा आयोजना गरिने समापन कार्यक्रममा आयोजकले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’समेत वितरण गर्ने जनाएको छ।