१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० चैत १६ शुक्रबार १५:१७:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा वार्षिक ३३ हजारको आँखा उपचार गर्दै नेत्रज्योति संघ

बर्सेनी पाँच सय नागरिकको मोतियाबिन्दुको शल्यक्रिया

Read Time : > 2 मिनेट
२०८० चैत १६ शुक्रबार १५:१७:००

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीले बार्षिक करिव ३३ हजार नागरिकको आँखाको उपचार र करिब पाँच सय नागरिकको शल्यक्रिया गर्ने गरेको छ। संघको तथ्यांकअनुसार आर्थिक बर्ष ०७८/०७९ मा ३२ हजार तीन सय ८१ जनाको आँखाको उपचार गर्दा गत बर्ष ३४ हजारको आँखाको उपचार गरिएको छ। यो आर्थिक बर्षको आठ महिनामा २० हजार छ सय २२ जनाको आँखाको उपचार गरिएको संघले जनाएको छ।

संघको जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रसहित वामी, शान्तिपुर, सिमलटारी र मदाने गरेर पाँच वटा आँखा उपचार केन्द्रहरु रहेका छन्। जहाँ १७ कर्मचारी कार्यरत छन्। जिल्लामा स्याथी रुपमा ०४५ सालबाट आँखा उपचार सेवा र ०४९ सालबाट नेपाल नेत्रज्योति संघको शाखा स्थापना भएको थियो।

नेपाल नेत्रज्योति संघ गुल्मीको २७औ सभामा प्रस्तुत बार्षिक प्रतिवेदनअनुसार संघको जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रमार्फत गत बर्ष ११ हजार पाँच सय ३८ जनालाई ओपिडी र ४६ जनाको माइनर अप्रेशन गरिएको थियो। केन्द्रले प्रत्येक महिनाको ११ र १२ गते आँखा अप्रेशन सेवा प्रदान गरिरहेको छ।

यस बर्ष हालसम्म तीन सय २७ जनाको शल्यक्रिया गरिएको संघको जिल्ला शाखाका सचिव पदम पाण्डेले जानकारी दिए। त्यस्तै वामी शाखामार्फत दुई हजार आठ सय २२, शान्तिपुरमार्फत एक हजार एक सय ८१ र सिमलटारीमार्फत सात सय छ जनाको आँखाको जाँच गरिएको पाण्डेले बताए। उनका अनुसार गत बर्ष स्थानीय तहहरुमा आयोजित एक दिने आँखा उपचार शिविरमार्फत् मुसिकोट, छत्रकोट, मदाने र रेसुंगा गरेर चार स्थानीय तहमा दुई हजार छ सय ९९ जनाको आँखाको जाँच तथा उपचार गरिएको छ।

मासिक आँखा जाँच कार्यक्रममा गत बर्ष रुरु क्षेत्र गाउँपालिकाको रिडी र सत्यवति गाउँपालिकाको जोहाङ्गमा गरेर पाँच सय ५२ जनालाई सेवा प्रदान गरिएको छ।

संघले न्यून दृष्टि भएका पाँचजना बालबालिकाको उपचार गरेको जनाएको छ। त्यस्तै यस शाखा र लुम्बिनी नेत्र बिज्ञान अध्ययन संघन भैरहवा तथा लायन्स लाकौल आँखा अस्पताल पाल्पाको सहकार्यमा हरेक बर्ष जिल्लाका विभिन्न स्थानमा निशुल्क आँखा अप्रेशन शिविर हुने गरेको छ। सोहि अभियानअन्तरगत गतबर्ष रिडी, शान्तिपुर, अर्खाबाङ्ग र वामीमा गरेर एक सय ७१ जनाको निशुल्क आँखाको अप्रेशन गरिएको संघका प्रमुख सूर्यबहादुर बस्नेतले जानकारी दिए।

संघले डाँक फाउण्डेशनको सहयोगमा नजिक नदेख्ने छत्रकोट, मदाने, रेसुंगा र मुसिकोटका ५० बर्ष नाघेका गरिव र असहाय तीन सय ५८ जनालाई निशुल्क चश्मा वितरण गरेको थियो। त्यस्तै १२ हजार सात सय ३८ विद्यार्थीहरुको आँखा परीक्षण गरेर दृष्टि कम भएका तीन सय १८ जनालाई निशुल्क चश्मा वितरण गरिएको छ। 

बस्नेतका अनुसार उपचारसंगै संघले महिला स्वास्थ्य स्वयंसेविका र बिद्यालयका शिक्षकहरु गरेर करिव दुई सयजनालाई आँखाको हेरचाह र उपचारसम्बन्धि तालिम प्रदान गरिएको छ। त्यस्तै, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र गुल्मी यातायातको सहयोगमा सवारी चालकहरुको आँखा परीक्षण गरिएको थियो। गत जेठ १४ गते डि.आर. क्याम्प आयोजना गरेर रेटिना रोग बिशेषज्ञ प्राध्यापक डाक्टर ज्ञानेन्द्र लामिछानेबाट ९२ जनाको रेटिना जाँचसमेत गरिएको थियो।

संघले शाखा बिस्तारको योजना पनि क्रमागत रुपमा अगाडी बढाएको छ। यो आर्थिक बर्षमा मदाने तथा आगामी बर्ष रिडी र कालिगण्डकीमा उपचार केन्द्र बिस्तार गर्ने योजना रहेको संघले जनाएको छ। मोतियाबिन्दुको निशुल्क अप्रेशन सेवाको लागि संघले स्थानीय तहहरुसंग समन्वय गरिरहेको छ। अहिलेसम्म पाँच स्थानीय तहले मोतियाबिन्दुको निशुल्क अप्रेशन सेवाको लागि सम्झौता गरेका संघको जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले जानकारी दिए। रेसुंगा, गुल्मीदरवार, छत्रकोट, रुरु र इस्माले सम्झौता गरेका छन्। सम्झौताअनुसार गत बर्ष रेसुंगाका ९८, गुल्मीदरवारका ५६ र इस्माका ३४ जनाको मोतियाबिन्दुको अप्रेशन गरिएको थियो।

शाखाले संघको श्रीबृद्धिको लागि योगदान गर्ने व्यक्तिहरुलाई सम्मान पनि गर्दै आएको छ। शशि पन्थी, भरत चन्द, कृष्णहरि सापकोटा, ढालबहादुर जिसी र बसन्त भुसाललाई २६औँ सभामा सम्मान गरिएको थियो। कार्कीका अनुसार कर्मचारी सन्तोष सुवेदीलाई नेत्रज्योति सम्मान पुरस्कार र पत्रकार मनु सुनारलाई संचार क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दैै पुरस्कृत गरिएको हो। त्यस्तै गत बर्ष लुम्बिनी नेत्र बिज्ञान अध्ययन संघ भैरहवाले आँखा उपचार केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेतलाई दीर्घ सेवा पदकबाट सम्मान गरेको थियो। गत बर्ष नै गुल्मी शाखाले उत्कृष्ट पुरस्कार प्राप्त गरेको कार्कीले बताए।

संघले आव ०८०÷०८१ मा प्रस्तावित नीतिगत कार्यक्रमहरु पेश गरेको छ। संघको गुल्मी शाखाका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले संघले अहिलेका सवै कार्यक्रमलाई निरन्तर र दिगो बनाउने, आँखा उपचार र निशुल्क अप्रेशन शिविर ग्रामिण बस्तीहरुमा पुर्याउने, बिद्यालय स्तरमा सचेतना र बिद्यार्थीहरुको भर्नापूर्व दृष्टि परिक्षण गर्न स्थानीय सरकारसंग सहकार्य गर्ने योजना रहेको बताए। त्यस्तै, सवैको सहयोग र समन्वयमार्फत सेवा सर्वसुलभ बनाउने, स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने र आधुनिक प्रविधिको प्रयोग गर्ने योजनामा संघ रहेको पाण्डेको भनाई छ।

संघले आँखा उपचार केन्द्रहरुमार्फत प्रदान गर्ने सेवाले नागरिकबीचमा लोकप्रियता कमाएको छ। केन्द्रले सयौं नागरिकलाई अन्धोपनाबाट जोगाएको छ भने हजारौका गुमेका आँखाको ज्योति फर्काएको छ। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले नेपाल नेत्रज्योति संघले आँखा उपचार केन्द्रमार्फत् अन्धोपनबाट नागरिकलाई बचाउन ठुलो कर्म गरिरहेको प्रतिक्रिया दिए। उनले बिमा र स्थानीय तहको समन्वयमा सवै नागरिकलाई केन्द्रसंग जोड्न आवश्यक रहेको बताए।