Skip This
डिजेल चोरी गर्दागर्दै समातिएको ट्यांकर काठमाडौं ल्याइयो, कर्मचारीको संरक्षणमा चोरी भएको आशंका
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १६ शुक्रबार
  • Saturday, 27 July, 2024
अजित अधिकारी काठमाडौं
२o८o चैत १६ शुक्रबार ११:४६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

डिजेल चोरी गर्दागर्दै समातिएको ट्यांकर काठमाडौं ल्याइयो, कर्मचारीको संरक्षणमा चोरी भएको आशंका

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १६ शुक्रबार ११:४६:oo

बिहीबार दिउँसो हेटौँडा उपमहानगरपालिका– ९ स्थित नवदुर्गा आयल स्टोर्सको कम्पाउन्डमा डिजेल चोरी गर्दैगर्दा पक्राउ परेको ना.७ ख २७९४ नम्बरको ट्यांकरलाई काठमाडौंको थानकोटस्थित आयल निगमको बागमती प्रादेशिक कार्यालय ल्याइएको छ ।

शुक्रबार बिहान करिब १० बजे ट्यांकर डिपोभित्र आएको र अहिले चोरी घटनाबारे बुझ्ने काम भइरहेको थानकोट डिपो प्रमख अशोक साहले जानकारी दिए । ‘डिजेल चोरीमा संलग्न ट्यांकर केही समयअघि डिपोभित्र आएको छ । अहिले कसरी तेल चोरी भएको हो, संलग्नलाई के–कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।डिपोले चोरी घटनामा चालकलाई दोष देखाएर कारबाहीका लागि केन्द्रीय कार्यालयमा सिफारिस गर्ने तयारी गरेको छ । यद्यपि, थानकोट डिपोको अपरेसन विभागमा कार्यरत कर्मचारीको संरक्षणमा चालकले डिजेल चोरी गरेको आशंका गरिएको छ ।

अपरेसन विभागमा कार्यरत कर्मचारीले चालकबाट आर्थिक लाभ लिएर ट्यांकरमा भएभन्दा बढी तेल रहेको उल्लेख गर्दै अभिलेख राख्ने गरेको स्रोतको भनाइ छ । ‘पछिल्लो समय थानकोट डिपोको अपरेसन विभागमा कार्यरत कर्मचारीले ट्यांकरमा आएको तेलको सही डिप लिन छाडेका छन् । चालकले जति तेल छ भन्यो, त्यसलाई नै सदर गर्ने प्रवृत्ति बढेको छ,’ स्रोतले भन्यो ।

ट्यांकरमा थोरै तेल भए पनि कर्मचारीले मिलेमतोमा धेरै तेल रहेको देखाएर भण्डारणगृहमा खन्याउने गरेका छन् । भण्डारणगृहमा खन्याउदा अपुग हुन आएको परिमाणबराबरको तेल तापक्रम र ढुवानीका क्रममा नोक्सानी भएको देखाउने गरिएको छ । यो प्रवृत्तिले चालक–सहचालक र कर्मचारीलाई आर्थिक लाभ भए पनि निगमलाई भने संस्थागत नोक्सानी हुने गरेको छ ।

कम तेल लिएर आएका ट्यांकरमा बढी तेल रहेको अभिलेख राखिदिएबापत थानकोट डिपोको अपरेसन विभागमा रहेका कर्मचारीले चालकबाट एक हजारदेखि पाँच हजार रुपैयाँसम्म दरले असुल्ने गरेको स्रोतको भनाइ छ । त्यस्तै पेट्रोलपम्पका लागि ‘डाइभर्ट’ हुने ट्यांकरमा रहेको तेलको समेत नापजाँचमा  लापरबाही गर्ने गरिएको स्रोतको भनाइ छ ।

‘पम्पलाई  पठाउने ट्यांकरमा के–कति तेल छ भनेर नापजाँच नै नगरी पठाउँदा कतिपय पम्पले मागेभन्दा कम तेल पाएको भनेर गुनासो गर्न थालेका छन्,’ स्रोतले भन्यो । ललितपुरका एक पम्प सञ्चालकले केही दिनअघि मात्रै निगमको थानकोट डिपोले कम तेल दिएको भन्दै पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनमा गुनासोसमेत गरेका थिए । थानकोट डिपो प्रमुख साहले भने कर्मचारीलाई कुनै पनि घटनामा आशंका गर्न नमिल्ने दाबी गरे । ‘कर्मचारीको कमजोरी छ भन्ने कुरामा मलाई विश्वास छैन,’ उनले भने ।

बिहीबार दिउँसो हेटौँडा प्रहरीले स्थानीय बासिन्दाको उजुरीपछि डिजेल चोरी गर्दैगर्दा ट्यांकर नियन्त्रणमा लिई चालक अलाम हवारी र नवदुर्गा आयल स्टोर्सका कर्मचारी वीरेन्द्र साहलाई पक्राउ गरेको थियो । सो पम्पमा बारम्बार ट्यांकर रोकेर तेल चोरी हुने घटना दोहोरिन थालेपछि स्थानीयले प्रहरीलाई उजुरी दिएका थिए ।

बिहीबार दिउँसो नयाँ पत्रिकाको सम्पर्कमा आएका हेटौँडा रातोमोटेका एक स्थानीयले पटक–पटक ट्यांकरबाट तेल झिकेर चोरी गर्न थालेपछि प्रहरीलाई खबर गरेको बताएका थिए । ‘यहाँ ट्यांकर रोकेर तेल झिक्ने क्रम बढ्न थालेपछि हामीले प्रहरीलाई खबर गरेर समाउन लगाएका थियौँ,’ ती स्थानीयले नयाँ पत्रिकामा टेलिफोन गरी भनेका थिए ।