१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o९:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिक उन्मुक्तिमा किचलो कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:३८:oo

केन्द्रदेखि प्रदेशसम्म गठबन्धनलाई सघाउने नागरिक उन्मुक्तिको निर्णय, अमान्य हुने चौधरी समूहको भनाइ

नागरिक उन्मुक्ति पार्टीले केन्द्रसहित प्रदेशमा एमाले–माओवादीसहितको सत्तागठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार कैलाली टीकापुरमा बसेको बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले केन्द्रसँगै प्रदेशहरूमा पनि गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । ‘गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ,’ टीकापुर नगरपालिकाका मेयरसमेत रहेका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूले भने, ‘संघ र हाम्रो प्रतिनिधित्व रहेका प्रदेशका सरकारमा हाम्रो सहभागिताबारे गठबन्धनसँग छलफल गर्छौँ ।’ प्रतिनिधिसभामा नागरिक उन्मुक्तिका चार सांसद छन् भने मधेश, लुम्बिनी र सुदूरपश्चिममा पनि प्रदेश सांसद छन् । 

सुदूरपश्चिम प्रदेशमा त सरकार गठनका लागि नाउपा सात मतसहित निर्णायक छ । केन्द्रीय सदस्य थारूका अनुसार गठबन्धनसँग भागबन्डाको विषय टुंगिएपछि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिइनेछ । नाउपालाई सुदूरपश्चिममा मुख्यमन्त्री दिनेबारे केन्द्रमा छलफल भइरहेको छ । योसँगै अल्पमतमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नाउपाको यो निर्णयसँगै थप अप्ठेरोमा परेका छन् ।

अध्यक्ष रञ्जिताका पतिसमेत रहेका संरक्षक रेशम चौधरी पक्षधर केन्द्रीय सदस्यले बहुमतविना नै बैठक बसेको दाबी गर्दै उक्त बैठकका निर्णय मान्य नहुने बताएका छन् । नाउपा सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीका संरक्षक र बहुमत संस्थापक सदस्य अनुपस्थित रहेको बैठकका निर्णय संसदीय दलले स्वीकार नगर्ने बताए ।

‘यो सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय दलको बैठकले गरिसकेको छ, हाम्रो समर्थन फिर्ता लिदैनौँ,’ प्रदेशका आर्थिक मामिलामन्त्रीसमेत रहेका उनले भने, ‘पार्टीका संरक्षक जापान गएका वेला गरिएको अल्पमतको बैठकको निर्णय मान्य हुँदैन ।’ नागरिक उन्मुक्तिका सातजना प्रदेश सांसदमध्ये पाँचजना अहिले प्रदेश सरकारका मन्त्री छन् । 

टीकापुर बैठकमा नाउपाका २१ जना संस्थापक सदस्यमध्ये १२ जनाको उपस्थिति रहेको संस्थापक केन्द्रीय सदस्य रमेश विकले जानकारी दिए । उनका अनुसार दुईजनाले यसअघि नै पार्टी परित्याग गरिसकेका छन् । सुदूरपश्चिमका विनाविभागीयमन्त्री लक्ष्मणकिशोर चौधरीले पार्टीका संरक्षक र सबै संस्थापक सदस्यको सहभागितामा बैठक बस्दा उपयुक्त हुने धारणा आफूले बैठकमा राखेको बताए । पार्टीमा हुने दुईथरी निर्णयले आफूहरू अन्योलमा रहेको उल्लेख गर्दै उनले परिपक्व निर्णय हुनुपर्ने बताए ।

‘पार्टीका संरक्षकको उपस्थितिमा बैठक बस्नुप¥यो । एक पक्षले एउटा निर्णय गर्ने, अर्कोले अर्कै निर्णय गर्दा जनप्रतिनिधि र जनता अन्योलमा छौँ । दुवै पक्ष बसेर परिपक्व निर्णय हुनुप¥यो,’ उनले भने, ‘निर्णयमा सहमति, असहमतिभन्दा पनि यी कुरा बैठकमा राखेँ ।’

ad
ad