१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
स्टुअर्ट पिएम म्याकिन्टोस
२o८१ जेठ २ बुधबार १o:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

चीनले हरित ऊर्जामा मारेको फड्को

Read Time : > 2 मिनेट
स्टुअर्ट पिएम म्याकिन्टोस
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:१८:oo

गम्भीर जलवायुसम्बद्ध समाचार आइरहेका वेला द्रुत हरित संक्रमणलाई पछ्याउने चीनको हालैको निर्णय एक दुर्लभ एवं उत्कृष्ट कदम हो । मार्चको सुरुवातमा वार्षिक राष्ट्रिय जन–कांग्रेसमा प्रधानमन्त्री ली छ्याङले देशले स्वच्छ ऊर्जा परियोजनामा लगानीलाई गति दिने घोषणा गरेका थिए । यो योजना उद्योगको ‘नयाँ तीन’का लागि अर्थात् सौर्य प्यानल, विद्युतीय वाहन (इभी) र लिथियम ब्याट्रीका लागि हो, जसले कपडा, फर्निचर र उपकरणको ‘पुरानो तीन’लाई प्रतिस्थापन गर्नेछ । देशको आर्थिक मन्दीलाई उल्ट्याउन लक्षित उद्योगमा लगानी पर्याप्त नहुने भए पनि पश्चिमले लीको घोषणाको प्रभावको कदर गर्नुपर्छ ।

विश्वव्यापी हरित संक्रमण पहिल्यैदेखि राम्रो गतिमा चलिरहेको छ । यस चरणमा मुलुक र कम्पनी ठूलो मात्रामा स्वच्छ ऊर्जामा परिवर्तनतर्फ लम्किरहेका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार नवीकरणीय क्षमतामा वार्षिक वृद्धि सन् २०२३ मा करिब ५० प्रतिशतले बढेर पाँच सय सात गिगावाट पुगेको छ जुन विगत दुई दशककै तीव्र वृद्धिदर हो । युरोपियन युनियन, अमेरिका र विशेषतः ब्राजिलले नवीकरणीय ऊर्जा क्षमतालाई कीर्तिमानी मात्रा स्थापित गरेका छन् । तर, चीनले हालसम्मकै ठूलो वृद्धिको अनुभव गरेको छ । उसले सन् २०२३ मा सन् २०२२ मा सम्पूर्ण विश्वले निर्माण गरेजति प्यानल निर्माण गरेको छ । र, आफ्नो वायु ऊर्जा क्षमतालाई वर्षमा ६६ प्रतिशतले बढाएको छ ।

चीन, अमेरिका र युरोपियन युनियनले हरित उत्पादनको निष्पक्ष र स्वतन्त्र व्यापारमा सहमत हुन आवश्यक छ 

हरित ऊर्जामा खर्च बढाउने चीनको निर्णयले यस युगको परिवर्तनलाई थप गति दिन सक्छ तथा जीवाश्म–इन्धनको प्रयोग र हरितगृह–ग्यास उत्सर्जनलाई घटाएर दीर्घकालीन जलवायु लक्ष्य भेट्टाउन मद्दत गर्न सक्छ । यसबाहेक स्थान–आधारित औद्योगिक नीतिले ‘डिकार्बनाइजेसन’मा अवरोध नभई सहजीकरण गर्दै छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो आठ खर्ब डलरको मुद्रास्फीति न्यूनीकरण ऐन (आइआरए) मा ऊर्जा र जलवायु खर्चमा तीन खर्ब ९१ अर्ब डलर छुट्याएका छन् । त्यसैगरी, उनको १२ खर्ब डलरबराबरको द्विपक्षीय पूर्वाधार कानुन (बिआइएल) समावेश गरी विश्वलाई अमेरिकाले औद्योगिक नीतिको नयाँ युगमा प्रवेश गराएको छ । यो रणनीतिले युरोपियन युनियनलाई हरित अनुदानमा आफ्नै योजना बनाउन प्रेरित गरेको छ । र, चीनले डेकार्बनाइजेसनमा थप स्रोत प्रयोग गरेर आफ्नो आर्थिक समस्यालाई सम्बोधन गरिरहेको छ ।

उदीयमान प्रविधिमा चीनको लगानीले किफायती वातावरणमैत्री उत्पादनमा ठूलो उपलब्धता हुने सम्भावना छ, तर औद्योगिक नीतिप्रति अमेरिकाको प्रतिबद्धताले यी उत्पादनलाई आफ्नो बजारमा प्रवेश गर्नबाट रोक्नेछ । अमेरिकी सरकारले रणनीतिक चिनियाँ आयातमा पहिले नै कर लगाएको छ । घरेलु स्वच्छ ऊर्जा उत्पादन र परिचालनमा आइआरए र बिआइएलबाट महत्वपूर्ण लगानी गरेर बाइडेन प्रशासनले अमेरिकी बजारमा चीनको सम्भावित निर्यातलाई कटौती गर्ने संरक्षणवादी उपायमा विचार गरिरहेको छ । 

यो अवस्था खुला व्यापारका मुखर पैरवीकर्ताका लागि निराशाजनक छ, किनभने सस्तो चिनियाँ सौर्य प्यानल, इभी र ब्याट्री निकट भविष्यमा अमेरिकामा उपलब्ध हुनेछैनन् । नोभेम्बरमा डोनाल्ड ट्रम्पको सम्भावित विजयले अवस्थालाई थप खराब बनाउनेछ किनभने उनले सबै चिनियाँ आयातमा ६० प्रतिशत करको प्रस्ताव गरेका छन् । यद्यपि ऊर्जा संक्रमण अमेरिकीका लागि निकै महँगो मूल्यमा आउँदै छ, तर यो रकम स्वाभाविक हो ।

आफ्नो घरेलु उद्योगको रक्षा गरेर अमेरिकी सरकारले चिनियाँ उत्पादनलाई अन्य देशमा विशेषतः विकासोन्मुख देशमा प्रवाहित गराउन सक्छ जसले उपभोक्तालाई न्यून मूल्यमा स्वच्छ प्रविधि उत्पादन खरिद गर्ने सुविधा दिनेछ । महत्वपूर्ण के छ भने विकासोन्मुख देशले यो अवसरलाई सदुपयोग गरेमा यी मुलुकले आफ्नै हरित संक्रमणलाई गति दिन सक्छन् ।

भारतमा सन् २०७० सम्ममा कुल शून्य उत्सर्जनमा पुग्ने योजना अत्यन्त अपर्याप्त रहेको सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको बढ्दो हरित–प्रविधिको फाइदा लिनुपर्छ । छोटो अवधिमा यसको अर्थ भारतको स्वच्छ ऊर्जा उद्योगमा रहेको खाडललाई पुर्न चिनियाँ उत्पादनको प्रयोग गर्नु हो । मोदीले चिनियाँ कम्पनीलाई भारतमा थप उत्पादन कम्पनी निर्माण गर्न मनाउनुपर्छ । यसले प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना र हरित प्रविधिको लागत घटाउन सहज गराउनेछ ।

अफ्रिकी नेताले पनि चीनको हरित उत्पादन र प्रविधि प्रयोग गरेर आफ्नो अर्थतन्त्रलाई विद्युतीकरण गर्नुपर्छ । जसरी धेरै अफ्रिकी देशले ल्यान्डलाइन टेलिफोन छोडेर मोबाइल सञ्जालमा फड्को मारेका छन्, त्यसरी नै अफ्रिकी नेताले पनि जीवाश्म इन्धनलाई उछिन्दै स्वच्छ ऊर्जामा जानैपर्छ । निःसन्देह चुनौती भए पनि स्वच्छ ऊर्जा प्रचुर मात्रामा सौर्य र वायु स्रोत भएको महादेशका लागि उपयुक्त छ । 

विभिन्न प्रमुख कार्यकारी अधिकृत र नीति–निर्माता जलवायु सम्मेलन वा डाभोसमा भेट्छन् । ती सबै हरित संक्रमण न्यायसंगत हुनुपर्छ भन्छन् । त्यसका लागि न्यून र मध्यम आय भएका देशमा वार्षिक १० खर्ब डलरको स्वच्छ–ऊर्जा लगानी चाहिन्छ जुन हालको अवस्थाभन्दा सात गुणाले बढी हो । लगानी अत्यधिक आवश्यक भएको सन्दर्भमा स्वच्छ ऊर्जामा चीनको बढ्दो लगानी समाधानको एक हिस्सा हुन सक्छ ।

चीन, अमेरिका र युरोपियन युनियनले हरित उत्पादनको निष्पक्ष र स्वतन्त्र व्यापारमा सहमत हुन आवश्यक छ । यद्यपि, कुल शून्य उत्सर्जन हासिल गर्न तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै हामीले अमेरिकी उद्योगमा पार्ने प्रभावबारे सतर्क रहँदै चीनको लगानी योजनालाई अँगाल्नुपर्छ । हाल, म फोर्ड वा टेस्लाजस्ता अमेरिकी इभीलाई छनोट गर्न सक्छु, तर म भविष्यमा चीनको बिवाइडी इभी खरिदका लागि तत्पर छु । जे भए पनि म न्यून प्रदूषणकारी भविष्यतर्फ लम्किन प्रतिबद्ध छु ।

(म्याकिन्टोस ग्रुप अफ थर्टीका कार्यकारी निर्देशक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad