Skip This
बागलुङका दुई स्थानीय तहलाई क्षयरोगमुक्त घोषणाको तयारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १० शनिबार
  • Saturday, 27 July, 2024
२o८o चैत १० शनिबार १६:४o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङका दुई स्थानीय तहलाई क्षयरोगमुक्त घोषणाको तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o चैत १० शनिबार १६:४o:oo

बागलुङका दुई स्थानीय तहलाई क्षयरोगमुक्त बनाउने अभियान सञ्चालन गरिएको छ। जिल्लाको बडिगाड गाउँपालिका र गलकोट नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित स्वास्थ्य कार्यालय बागलुङ र सम्बन्धित स्थानीय तहले काम अघि बढाएका छन्।

यस क्षेत्रमा क्षयरोग संक्रमणको दर उच्च रहेकाले निवारण पनि यहीँबाट सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। कार्यालयका अनुसार प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामीको संख्या भएमा क्षयरोग अन्त्य भएको मानिनेछ।

क्षयरोगमुक्त बनाउनका निम्ति सरोकारवाला निकाय र स्थानीय सरकारले पालिकाभित्र क्षयरोग खोज पड्तालका कार्यक्रमहरू सञ्चालन गरेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट

निरीक्षक अधिकृत देवप्रकाश घिमिरेले जानकारी दिए।

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित बागलुङमा क्षयरोग निवारणको अभियान थालिएको छ। जिल्लाभरिका सबै पालिकामा परीक्षणको दायरा बढाएर क्षयरोग पत्ता लगाउने दर पनि बढ्दै गएको छ।

क्षयकुष्ट निरीक्षक घिमिरेले भने, ‘परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या पनि उल्लेख्य भेटिएको छ। संक्रमितले नियमित औषधि सेवन गरे सर्ने दर पनि घट्दै जान्छ, यसले निवारणमा सहयोग पुग्ने विश्वास लिएका छौँ।’

कार्यक्रमअन्तर्गत क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सूक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्यको थालनी गरिएको छ।

क्षयरोगका बिरामीको खोजपड्ताल
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र बडिगाड गाउँपालिकाले केही समय पहिले क्षयरोगका बिरामीको खोजपड्तालका निम्ति शिविर नै आयोजना गरेको थियो।  क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्न लगाउने, तीनपटक परीक्षण गर्ने र संक्रमितको परिवारका सदस्यको समेत खकार परीक्षण गर्ने योजना घिमिरेले सुनाए।

एकजना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकाले यो कोरोनाभन्दा पनि जोखिम भएको उनले भनाइ छ। ‘हामीले सामान्य मानेका छौँ, तर यो भयानक संक्रमण हो’ घिमिरेले भने, ‘सामान्यजस्तो लाग्नेले पनि क्षयरोगका ब्याक्टेरिया बोकेर हिँडेका छौँ।’

रोग प्रतिरोधी क्षमता कमजोर भएको समयमा ती ब्याक्टेरिया सक्रिय बन्ने उनको भनाइ छ। नेपालका ६० प्रतिशत युवामा क्षयरोगका ब्याक्टेरिया भएको बताइन्छ। धुम्रपान र मध्यपान गर्नेलाई संक्रमण बढी हुने तथ्यले देखाएको घिमिरेले बताए।

आठ महिनामा २२७ बिरामी
स्वास्थ्य कार्यालयका अनुसार बागलुङमा गत वर्ष २३५ जनामा क्षयरोग संक्रमण भएकोमा चालू वर्षको ८ महिनामै यो संख्या २२७ पुगेको छ। यही दरले बढे अघिल्लो वर्षको तुलनामा क्षयरोगीको संख्या झनै वृद्धि हुने अनुमान गरिएको छ। 
पछिल्लो समय क्षयरोगको परीक्षणको दायरा बढेसँगै संक्रमित पनि बढेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले बताए। जिल्लाका १४ वटा ल्याबबाट क्षयरोग परिक्षण हुने गरेको छ। जटिल प्रकारको अवस्थाबाहेक सबै क्षयरोगका शंकास्पद बिरामीको खकार  ती ल्याबबाट खकार परीक्षण गरिँदै आएको छ। क्षयरोगको उपचारका लागि जिल्लाका ८५ वटै वडा तहबाट नियमिति औषधि सेवन गर्न पाइन्छ।

यस वर्ष चारजनाको मृत्यु
जिल्लामा क्षयरोगकै कारण अघिल्लो वर्ष चारजनाको मृत्यु भएको थियो भने यस वर्ष पनि चारजनाले ज्यान गुमाएका कार्यालय प्रमुख आचार्यले जानकारी दिए। अघिल्लो वर्ष मृत्यु हुनेमा बडिगाड गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र निसीखोला गाउँपालिकामा एक–एकजना रहेका छन्। यस वर्ष भने चारैजना बडिगाड गाउँपालिकाका रहेका छन्।

क्षयरोगका कारण हुने मृत्युदर घटाउन समयमै यसको पहिचान आवश्यक रहेको आचार्य बताउँछन्। ‘बागलुङमा क्षयरोगको नियन्त्रण र अन्त्य गर्न नियमित औषधि सेवन नगर्नु, शंकास्पद देखिएमा खुल्न नसक्नु र ढिलो परीक्षण गराउनुलगायतका चुनौती छन्,’ उनले भने, ‘लुकेर बसेका क्षयरोगी पत्ता लागेमा बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिन्छ। त्यसैले, अब परीक्षण र उपचारमा जोड दिनुपर्छ।’ 

आचार्यका अनुसार गत वर्ष पुरुष संक्रमितको संख्या धेरै रहे पनि यस वर्ष बडिगाडमा सञ्चालन गरिएको शिविरमा महिलाको संख्या बढी पाइएको बताए। पुरुषभन्दा महिलाको पहुँच कम हुँदा महिलाहरूमा संक्रमण दर अझै बढी देखिएको उनको भनाइ छ।