
सन् २०१३ मा अल्बानियाकी २२ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको मुद्दामा ब्राजिलियन अदालतले रोबिन्होलाई दोषी ठहर गर्दै जेल सजायको आदेश दिएको छ
ब्राजिलका पूर्वमिडफिल्डर रोबिन्होलाई बलात्कार मुद्दामा नौ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०१३ मा अल्बानियाकी २२ वर्षीया एक युवतीलाई अपार्टमेन्टमा सामूहिक बलात्कार गरेको मुद्दामा उनी दोषी ठहरिएका हुन् । अदालतको आदेशअनुसार म्यानचेस्टर सिटी र रियल म्याड्रिडका पूर्वखेलाडी रोबिन्होले नौ वर्ष सजाय पूरा गर्नुपर्ने हुन्छ ।
यसअघि सन् २०१७ मै इटालीको अदालतले रोबिन्होलाई सामूहिक बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । यसपटक ब्राजिलको अदालतले पनि उनलाई दोषी ठहरको आदेश दिएको हो । अदालतले ब्राजिलमै बसेर उनलाई नौ वर्ष जेल सजाय बस्नुपर्ने जनाएको छ ।
इटालीको अदालतको आदेशपछि रोबिन्हो ब्राजिलमै बस्दै आइरहेका थिए । ब्राजिलियन सरकारले आफ्ना कुनै पनि नागरिकलाई अन्य देशमा सुपुर्दगी गर्दैन । तर, इटालीको आग्रहमा ब्राजिलको अदालतले रोबिन्होले सजाय भुक्तानी गर्नुपर्ने आदेश दिएको हो ।
उनी आदेशविरुद्ध पुनरावेदन गर्न सक्छन् । सामूहिक बलात्कारको घटनाका वेला रोबिन्हो सिरिए लिगअन्तर्गत एसी मिलानमा आबद्ध थिए । उनले इटालीमा फैसलाविरुद्ध पुनरावेदन राखेका थिए । उनी मुद्दामा पराजित भए ।
सन् २०२२ मा इटालीको सर्वोच्च अदालतले उनीविरुद्धको सजायलाई कायम गरेको थियो । त्यसपछि इटालीका अधिकारीले उनीविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो । ब्राजिलियन अदालतको आदेशविरुद्ध रोबिन्होका वकिलहरूले सर्वोच्चमा अपिल गर्ने तयारी गर्दै छन् ।
उनका वकिलले आफ्ना क्लाइन्टलाई जेल नलैजान माग राखेका छन् । तर, सर्वोच्च अदालतले यस मागलाई अस्वीकार गरेको थियो । रोबिन्होले अहिले पनि बलात्कार नगरेको र सहमतिमै सम्बन्ध राखेको दाबी गरेका छन् ।
ब्राजिलबाट २८ गोल
उनले ब्राजिलको राष्ट्रिय टोलीबाट सय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । सन् २००३ देखि ०१७ सम्म उनले राष्ट्रिय टोलीबाट सय खेलमा २८ अन्तर्राष्ट्रिय गोल गरेका थिए । व्यावसायिक क्लब लेभलमा उनले समग्रमा २००२ देखि २०२० सम्म पाँच सय ८७ खेलमा एक सय ९५ गोल गरेका थिए । सन् २००८ मा उनी रियल म्याड्रिडबाट ३.२५ मिलियन पाउन्डमा म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए । रियलमा रहँदा उनले दुई उपाधि हात पारे । सिटीमा दुई सिजन बिताउँदा उनले दुई उपाधि हात पारे ।
त्यसपछि उनले पाँच वर्ष एसी मिलानबाट खेले । फुटबल करिअरमा रोबिन्होले चीनको लिगसमेत खेले । चीनको ग्वाङझाउ एभरग्रान्डेबाट व्यावसायिक फुटबल खेलेका उनले अन्तिम समयमा ब्राजिलको एट्लेटिको मिनेरोबाट प्रतिस्पर्धा गरेका थिए । सन् २०२० मा उनी ब्राजिलको चर्चित क्लब सान्तोषमा आबद्ध भएका थिए । तर, उनले एक खेल पनि खेलेनन् ।