१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय अनुदानमा ललितपुरको जेष्ठ वर्ण महाविहार तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:३१:oo

भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण भएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नयाँ भवन उद्घाटन भएको छ।

सहरी विकासमन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार भवन संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रका लागि भारतले दिएको पुनर्निर्माण अनुदान सहयोगमा भवन निर्माण भएको भारतीय राजदूतावासले जनाएको छ। उद्घाटन समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदातालगायत सहभागी थिए।

‘नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत यो परियोजनाको निर्माण भएको हो,’ भारतीय दूतावासले भनेको छ। ०७२ सालको विनाशकारी भूकम्पले जेष्ठ वर्ण महाविहारमा क्षति पुर्‍याएको थियो। यसको पुनर्निर्माणका लागि भारत सरकारले १३ करोड ७८ लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो।

नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास)ले यो परियोजना कार्यान्वयन गरेको हो।

सहरी विकासमन्त्री बुढाले भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरे। भारतीय राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रूपमा रहेको उल्लेख गरे।

भारत सरकारले नेपालका सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ। यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास, आठवटा जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा दशवटा जिल्लामा एक सय ३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ।

ad
ad