
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखले गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा भइरहेको स्थलगत आक्रमण रोक्न इजरायललाई आग्रह गरेका छन्।
डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले ट्विटरमार्फत जारी सन्देशमा लेखेका छन्, ‘रफाहमाथि इजरायलले स्थलगत आक्रमण गर्ने योजनाले मलाई निकै चिन्तित तुल्याएको छ।’
उनले थपे, ‘घना बस्ती भएको यस क्षेत्रमा हिंसाको थप वृद्धिले धेरैको मृत्यु र पीडा निम्त्याउनेछ। विशेष गरी स्वास्थ्य संस्थाहरू पहिले नै क्षमताभन्दा बढी सेवा दिन बाध्य भइरहेका छन्। आक्रमणपछि यहाँको स्वास्थ्य अवस्था थप अस्तव्यस्त हुनेछ।’
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार रफाहमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका थिए।
डब्लुएचओ प्रमुख टेड्रोसले यो मानवीय विपत्तिलाई अझ खराब हुन दिनु नहुने बताउँदै इजरायललाई सैन्य अभियान अघि नबढाउन र ‘मानवताका लागि’ शान्तिको बाटो तय गर्न आग्रह गरेका छन्।