मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी खण्डमा चारवटा पक्की पुल निर्माण भइरहेका छन्। सम्झौताअनुसार निर्माण व्यवसायीले चारवटै पुल १८ देखि २० महिनाभित्र सम्पन्न गर्नुपर्थ्यो। तर, थपिएकै समयमा पनि काम हुने अवस्था नदेखिएपछि आयोजना कार्यालय र निर्माण व्यवसायीलाई दबाब पर्न थालेको छ।
शनिबार पूर्वमन्त्री एवं गुल्मी क्षेत्र नं २ सांसद गोकर्ण विष्ट, जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर युवराज पोख्रेलसहितको टोलीले पुलको अनुगमन तथा निरीक्षण गरेको छ।
हुलाके र धनार्जी पुलको काम ३० प्रतिशत मात्रै
सुनील–समीर निर्माण सेवाले २७ जेठ ०७९ मा हुलाके र धनार्जी खोलामा २५ मिटर लामो पुल निर्माणको ठेक्का पाएको छ। निर्माण कम्पनीले हुलाके खोला पुल पाँच करोड ७९ लाख ५३ हजार ३३ र धनार्जी खोला पुल सात करोड ४८ हजार ९९ रुपैयाँमा निर्माणको सम्झौता गरेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालयकी सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिइन्।
सम्झौताअनुसार हुलाके पुल २० महिनामा सम्पन्न गर्ने उल्लेख छ। तर, गत मंसिर २६ मै पहिलो सम्झौता सकिएर पुनः म्याद थप भएको छ। ०८१ जेठ २७ सम्म म्याद थप भएको पुलको बल्ल ३० प्रतिशत भौतिक र २२ प्रतिशत वित्तीय प्रगति देखिएको छ।
यस्तै, ३५ मिटर लामो धनार्जी पुल सम्झौताको १८ महिनामा सक्नुपर्थ्यो। यो पुलको पनि गत माघ २७ गते म्याद सकिएपछि ०८१ कात्तिक ७ गतेसम्म पुनः म्याद थप भएको छ। तर, ३० प्रतिशत भौतिक र २१ प्रतिशत वित्तीय प्रगति मात्रै भएको छ।
निर्माण व्यवसायी बाबुराम थापा कार्यालयले कामको भुक्तानी समयमै गरे वर्षात्अगाडि नै काम सक्ने दाबी गर्छन्। तर, कामको अवस्था हेर्दा नागरिक र सरोकारवाला उनको दाबीमा विश्वस्त छैनन्।
फूलबारी र घमिर खोला पुलको प्रगति ६५ प्रतिशत
मदन भण्डारी सडक खण्डका चार पुलमध्ये फूलबारी र घमिर खोलामा पन्थ निर्माण सेवाले पुल निर्माण गरिरहेको छ। निर्माण व्यवसायीले ०७८ जेठ ११ गते फूलबारी र घमिर खोला पुल निर्माणको सम्झौता गरेको हो। २० मिटर लामो फूलबारी खोला पुल तीन करोड ३२ लाख ६८ हजार ६३ रुपैयाँ र घमिर खोलाको १५ मिटर लामो पुल तीन करोड १३ लाख ८४ हजार २३ रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको हो।
दुवै पुल सम्झौता भएको मितिले १८ महिनामा काम सक्नुपर्थ्यो। पहिलोपटक थप गरिएको ०८० वैशाख १ र दोस्रोपटक थप गरिएको ०८० मंसिर १२ सम्मको म्याद पनि सकिएको छ। तर, अहिलेसम्म ६५ प्रतिशत भौतिक र ३४ प्रतिशत वित्तीय प्रगति भएको मदन भण्डारी आयोजना कार्यालय गुल्मीले जनाएको छ। पन्थ निर्माण सेवाका प्रतिनिधि भरत भुसालले जनप्रतिनिधि र सरोकारवालाको अनुगमनका क्रममा वैशाख मसान्तसम्म दुवै पुलबाट गाडी गुड्ने गरेर काम अघि बढाउने प्रतिबद्धता जनाए।
सांसद र जनप्रतिनिधिसहित कार्यालय दबाबमा
पुल निर्माण समयमै नहुँदा नागरिकले वर्षौँ सास्ती खेपे। अहिले पनि पुलको काम देखेर नागरिक ढुक्क छैनन्। जसका कारण सांसद, स्थानीय जनप्रतिनिधि र योजना कार्यान्वयन गर्ने निकाय आलोचना र दबाबमा छन्।
सामाजिक सञ्जालमा नेता, जनप्रतिनिधि र कार्यालयको व्यापक आलोचना हुने गरेको छ। पूर्वमन्त्री एवं गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण विष्टले आफू निरन्तर पुलसहितका विकास योजनाको अनुगमनमा भए पनि निर्माण व्यवसायीले समयमै काम नगर्दा आलोचना खेप्नुपरेको बताए।
कार्यालय र निर्माण व्यवसायीको सक्रियता तथा प्रतिबद्धता देख्दा अहिले भने बर्खाअगावै काम हुने आशा देखिएको विष्टको भनाइ छ। मदन भण्डारी आयोजना कार्यालयका प्रमुख युवराज पोख्रेलले आफूहरू पनि बर्खाअगावै पुलबाट गाडी गुडाउने गरेर निर्माण व्यवसायीको सहजीकरणमा लागेको बताए।