१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ३ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत ३ शनिबार o६:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले गर्‍यो संसद् अवरुद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत ३ शनिबार o६:o४:oo

प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा बोल्दै कांग्रेस सांसदहरूले सहकारी अनियमितता प्रकरणमा मुछिएर अनुसन्धानको दायरामा रहेका लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनु स्वार्थको द्वन्द्व हुने भन्दै राजीनामाको माग गरेका हुन् । 

सांसद प्रदीप पौडेलले प्रश्न र अनुसन्धानको घेरामा रहेका गृहमन्त्रीले नैतिकता देखाएर राजीनामा दिनुपर्ने बताए । ‘आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो, अनुसन्धानको घेरामा रहेका व्यक्तिलाई अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित होइन,’ उनले भने, ‘गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्न अनुरोध गर्दछु ।’ अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारीपीडितको माग सम्बोधनको आशा गर्न नसकिने उनको भनाइ थियो ।

पौडेलले प्रश्नैप्रश्नले घेरिएका मान्छेलाई मन्त्रालय जिम्मा लगाएर प्रधानमन्त्रीले कस्तो सुशासन ल्याउन खोजेको भन्दै प्रश्न गरे । ‘प्रश्नैप्रश्नले घेरिएका मान्छे बोकेर प्रधानमन्त्रीले कस्तो सुशासन ल्याउनुहुन्छ ? जसको अनुसन्धान जुन मन्त्रालयले गर्नुपर्ने हो, त्यही मन्त्रालयको तालाचाबी तिनै व्यक्तिलाई सुम्पिएर सुशासन आउन सक्छ ?’ उनले सोधे । अन्य सांसदहरूले पनि सहकारी अनियमितता प्रकरणमा अनुसन्धानको घेरामा रहेका लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनु स्वार्थको द्वन्द्व भन्दै राजीनामा मागेका थिए । 

अभियोग लागेका र प्रश्न उठेका मन्त्रीहरू हटाउन यसअगाडि संसद्मा अवरोध भएको, सभामुखले पटक–पटक रुलिङ गरेको र प्रधानमन्त्रीले गठबन्धन परिवर्तन गरेर मन्त्री हटाउँदै समाधान दिएको नजिर उल्लेख गर्दै कांग्रेसले लामिछानेको हकमा प्रधानमन्त्रीसँग जवाफ मागिरहेको छ । 

प्रधानमन्त्रीबाट जवाफ नआएको भन्दै कांग्रेसले शुक्रबार प्रतिनिधिलाई कार्यसूचीमा प्रवेश गर्न दिएन । करिब दुई घण्टा आकस्मिक, शून्य र विशेष समय चलाएको प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक पेस गर्ने र बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गर्ने कार्यसूची थियो । 

तर, गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्रीबाट जवाफ माग्दै कांग्रेसले सदनमा अवरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । गृहमन्त्री लामिछानेले दलसम्बन्धी विधेयक प्रस्तुत गर्न लाग्दा कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक झन्डै डेढ घण्टापछि बस्दा कांग्रेसले वेल घेराउ गरेपछि आइतबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।