१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत २ शुक्रबार ११:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पार्किङ अभावमा सडकमै ट्यांकर

Read Time : > 1 मिनेट
२०८० चैत २ शुक्रबार ११:१६:००

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२१ स्थित अम्लेखगन्जमा पूर्व–पश्चिम राजमार्गको सडकमा दायाँ र बायाँतर्फ लहरै ट्यांकर पार्किङ गरेर राखिएका हुन्छन् । ट्राफिक नियमअनुसार सडकमा सवारीसाधन पार्किङ गर्न पाइँदैन, तर त्यहाँ पुग्दा लाग्छ, सडक नै पार्किङ स्थल हो । नियमविपरीत सडकमा गरिएको पार्किङले सवारीसाधन गुडाउन मात्र होइन, पैदलयात्रुलाई हिँड्नसमेत बाधा पुगेको छ भने दुर्घटनाको सम्भावना पनि बढाएको छ । 

तर, पार्किङ गरिएका साधन निजी सवारीसाधन भने होइनन् । यी सबैे नेपाल आयल निगम अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थ बोक्न र खाली गर्ने ट्यांकर हुन् । ट्यांकरहरू सडकमा नै पार्किङ गर्दै आएको निगमले अहिले भने पार्किङ स्थलका लागि पहल थालेको छ । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन पार्किङका लागि निगमले उपमहानगरलाई पत्र पठाएर अमलेखगन्जमा तीनदेखि चार बिघा जग्गा उपलब्ध गराइदिन अनुरोध गरेको छ । साथै, निगमले सो पत्रको बोधार्थ निगमको केन्द्रीय कार्यालय काठमाडौं, इन्जिनियर परियोजना तथा सूचना प्रविधि विभाग, जितपुर–सिमरा वडा नं २१ र २२ मा पनि पठाएको छ ।

दैनिक तीन सय ट्यांकर डिजेल बोकेर निगमको अमलेखगन्ज डिपोबाट छुट्ने गर्छन् । इन्धन लिन देशभरबाट दैनिक सयौँको संख्यामा आउने ट्यांकरहरू सडकमै पार्किङ गर्दा नागरिकले सास्ती खेप्नुपरेको छ । पाइपलाइनबाट ०७६ भदौ २४ गतेदेखि डिजेल आयात हुन थालेपछि निगमको अमलेखगन्ज डिपोबाट हुने बिक्रीबाहेक लोड भएर विराटनगर, जनकपुर, भैरहवा, पोखरा तथा काठमाडौंसम्मका कार्यालयहरूका लागि आवश्यक डिजेल जाने गर्छ । 

पछिल्लो समय मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम भइरहेको छ । सो काम सकिएसँगै दैनिक करिब चार सयभन्दा बढी ट्यांकर आवतजावत हुन सक्ने निगमको अनुमान छ । जसका लागि अहिलेकै ठाउँमा पार्किङ सम्भव नहुने आयल निगम अमलेखगन्ज डिपोका प्रमुख इन्जिनियर विनीतमणि उपाध्यायले बताए । उनले भने, ‘निगमले भोग्दै आएको समस्यामध्ये प्रमुख समस्या पेट्रोलियम ट्यांकर पार्किङ नै हो । पार्किङमा अहिले नै धेरै समस्या छ, पाइपलाइनको दास्रो चरणको काम केही महिनामा सम्पन्न हुन्छ र त्यसपछि झनै गाह्रो हुनेछ ।’ 

पेट्रोलियम ट्यांकर पार्किङका निम्ति जग्गाको व्यवस्थापनका निम्ति निगमले उपमहानगरसँग लिखित र मौखिक रूपमा पटक–पटक अनुरोध गरेको भए तापनि हालसम्म कुनै टुंगो लाग्न नसकेको उपाध्यायले बताए । हाल आयल निगम अमलेखगन्ज डिपोको दक्षिणपट्टि रहेको करिडोरमा पार्किङ गरिरहे पनि पछि नयाँ निर्माण भएको डिपोसम्म आउन–जान यही करिडोर प्रयोग गर्नुपर्ने भएकाले ट्यांकर पार्किङका लागि समस्या हुन सक्ने निगमको ठहर छ । 

यता जितपुर–सिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेलले निगमको ट्यांकर पार्किङका लागि जग्गा खोजी भइरहेको बताए । ‘यसबारे वडा २१ र २२ का वडाध्यक्षसँग खाली सरकारी जग्गाको बारेमा छलफल भइरहेको छ,’ उनले भने, ‘निगमलाई जग्गा वडा नम्बर २१ र २२ मै उपलब्ध गराउनुपर्छ । अन्य स्थानमा जग्गा दिएर यो समस्याको समाधान हुँदैन । त्यहाँ भएका सरकारी वा एैलानी जग्गाको अवस्थाबारे नगरपालिकाले जानकारी लिइरहेको छ ।’

निगमलाई उपमहानगरपालिकाले पूर्ण रूपमा सहयोग गर्ने पौडेलले बताए । हाल जग्गा खोजी भइरहेको हँुदा जग्गा फेला पर्नेबित्तिकै निगमलाई दिने उपमहानगरपालिका उपप्रमुख भोलाप्रसाद अधिकारीले बताए । उनले भने, ‘त्यस ठाउँमा ट्यांकरहरूको अव्यवस्थित पार्किङले गर्दा सडकमा सवारीको चाप वृद्धि भएको छ, आवागमनमा समेत प्रत्यक्ष असर पुगेको छ । यसको विकल्पका निम्ति उपमहानगरपालिका सकारात्मक र गम्भीर छ ।’

निगमले सो पत्रको बोधार्थ निगमको केन्द्रीय कार्यालय काठमाडौं, इन्जिनियर परियोजना तथा सूचना प्रविधि विभाग, जितपुर–सिमरा वडा नं २१ र २२ मा पनि पठाएको छ ।हाल पेट्रोलियम पदार्थ लोड भएका वा खाली ट्यांकरहरू अमलेखगन्जआसपासका स्थानीयका घरआँगन, सडकपेटीमा पार्किङ हुँदै आएका छन् । अति प्रज्वलनशील पदार्थ बोकेका ट्यांकरहरू यसरी जथाभावी पार्किङ गर्दा जुनसुकै वेला ठूलो दुर्घटना निम्तिन सक्ने देखिन्छ ।