१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रुसमा ज्यान गुमाएका १६ नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनले १२ फागुनमा पशुपति भष्मेश्वरघाटमा गरेको दीप प्रज्वलन 
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुसी सेनामा भर्ना भएका थप सात नेपालीको निधन

सरकारी सूचनाअनुसार मृतकको संख्या १७ पुग्यो, परिवारजन भन्छन्– २५ जनाको काजकिरिया भइसक्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१३:oo

सरकारले रुसी सेनामा कार्यरतमध्ये थप सातजना नेपालीको निधन भएको पुष्टि गरेको छ । परराष्ट्रका अनुसार यसअघिका १० जनासमेत जोड्दा रुसी सेनामा कार्यरत १७ जना नेपालीको निधन भएको छ । तर, रुसी सेनामा कार्यरत परिवारजनका तर्फबाट संकलन भएको तथ्यांकअनुसार रुसमा मृत्यु भएका २५ जना नेपालीको परिवारले काजकिरिया गरेको छ ।

‘रुसी सेनामा कार्यरत थप सातजना नेपाली नागरिकले ज्यान गुमाउनुभएको दुःखद समाचार प्राप्त भएको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ । धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको निधन भएको परराष्ट्रले जनाएको छ ।

यसअघि सरकारले सार्वजनिक गरेको मृतक सूचीमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, दार्चुलाका कुन्दनसिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरी उल्लेख छ । कन्सुलर विभागका अनुसार मृत्यु भएकामध्ये परिवारको सहमतिमा सन्दीप थपलिया, रूपक कार्की र देवान राईको अन्तिम संस्कार रुसी सेनाले सम्पन्न गरिसकेको छ ।

सरकारले बिहीबार सार्वजनिक गरेको सूचीमा उल्लेखित रसुवाका सुन्दर मोक्तान, बाँकेका सञ्जय केसी, धादिङका पूर्णबहादुर गुरुङको निधनबारे परिवारले पहिले नै थाहा पाइसकेका थिए । उनीहरूको काजकिरिया भइसकेको छ । परिवारजनले १२ फागुनमा १६ जना मृतकको नाम सार्वजनिक गर्दै पशुपतिनाथ परिसरमा उनीहरूको सम्झनामा दीप प्रज्वलन गरिसकेका छन् । परिवारजनले काजकिरिया गरिसकेका लमजुङका साजन गुरुङ र सन्तोष गुरुङ तथा दाङका जितबहादुर पुनको मृत्युबारे परराष्ट्र मन्त्रालयले अझै पुष्टि गरेको छैन । 

रुसमा रहेका नेपाली पीडितको परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना अभियान सञ्चालन गरेकी एकीकृत समाजवादीकी नेतृ कृतु भण्डारीले अहिलेसम्म २५ जना मृतकका परिवारले काजकिरिया गरिसकेको बताइन् । ‘परिवारजनले २५ जनाको काजकिरिया गरिसक्नुभएको छ । थप नेपालीको निधन भएको सूचना पनि आइरहेको छ । तर, पुष्टि गर्ने निकाय र परिवारले नभनेसम्म सार्वजनिक गर्न सक्ने अवस्था हुँदैन,’ भण्डारीले भनिन् ।

उनले रुसी सेनामा कार्यरत ६ सय १५ जनाभन्दा बढी व्यक्तिका परिवारजन आफ्नो सम्पर्कमा रहेको पनि जानकारी दिइन् । रुसी सेनामा कार्यरत नेपालीले त्यहाँ सुरक्षा कवचको रूपमा प्रयोग गरिएको, राम्रो उपचार पनि पाउन नसकिएको, दुव्र्यवहार हुने गरेको सूचना दिएको र सबै जानकारी सरकारका सम्बद्ध निकायलाई जानकारी गराइसकिएको पनि भण्डारीले बताइन् । 

परराष्ट्रले बिहीबार जारी गरेको विज्ञप्तिमा रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाइएको छ । ‘रुसी सेनामा ज्यान गुमाएका नेपालीको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ,’ परराष्ट्रको विज्ञप्तिमा छ । 

सरकारले परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको पुनः दोहो¥याएको छ । सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन सर्टिफिकेट लिएर मात्रै यात्रा गर्ने प्रावधान मिलाइएको पनि परराष्ट्रले उल्लेख गरेको छ । 

रुसी सेनामा कार्यरत रहेर युद्धमा खटिने क्रममा चारजना युक्रेनी सेनाको हिरासतमा छन् । बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनको रिहाइका लागि सरकारले युक्रेनसँग र अमेरिकी सरकारमार्फत पनि कूटनीतिक प्रयास जारी राखेको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग २४ फागुनमा टेलिफोन संवाद भएको थियो । श्रेष्ठले नेपालीको संख्याबारे सोधेका थिए, तर रुसी समकक्षीले जवाफ दिएनन् । उनले नेपालीहरूको विषयमा आवश्यक परे आफू मस्कोमा गएर सम्बद्ध अधिकारीहरूसँग वार्ता गर्न चाहेको पनि उल्लेख गरेका छन् । रुसले त्यसबारेमा जवाफ पठाइसकेको छैन । 

ad
ad