१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २० आइतबार १७:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमपातले नाग्म - गमगढी सडक पुनः अवरुद्ध

सवारीसाधन बाटोमै अलपत्र, सयाैँ यात्रुको बिचल्ली

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २० आइतबार १७:१४:००

कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्ड अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ। मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट आउने सवारीसाधन बाटोमै रोकिएका छन्। 

लगातारको हिमपातले सडकमै बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू बाटोमै अलपत्र परेका छन्। यसले सयौँ यात्रु बिचल्लीमा परेका हुन्। 

एक साताअघि पनि सो खण्डमा हिउँ जमेर यातायात प्रभावित भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाले हिउँ पन्छाएर बाटो खोलेको थियो। तर, शुक्रबारदेखि लेकतिर हिउँ र बेँसीतिर पानी पर्न थालेपछि पुनः बाक्लो हिमपात भई सडक पुनः अवरुद्ध भएको हो। 

झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टीचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए। मौसममा सुधार आउनासाथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने उनले बताए। 

कार्यालयले एक सूचना जारी गरी हिउँ निरन्तर परिरहेकाले यस खण्ड भएर यात्रा गर्ने सबैलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ।  

सडक अवरुद्ध हुँदा नेपालगन्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालबाहक सवारीसाधन बुलबुलेमा रोकिएका छन्। नाग्म–गमगढी सडकको यो खण्ड उच्च हिमाली भाग भएकाले हिउँदमा हिउँ जमेर र वर्षामा पानीले पर्दा पहिरो आएर अवरुद्ध हुने गरेको छ।

नेपालकै ठूलो तथा गहिरो रारा ताल र नेपाली भाषाको उद्गमस्थल सिँजा उपत्यका यही सडक भएर जाने भएकाले यो सडक सधैँ व्यस्त हुने गर्छ। पर्यटकीय सडक भएकाले पर्यटकले दुःख भोग्न नपरोस् भनेर सडक डिभिजनले अवरोध हटाउन स्काभेटर र सडक रक्षक तैनाथ अवस्थामा राख्दै आएको छ। कार्यालयले सडक स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइरहेको जनाएको छ।