१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० फाल्गुण १९ शनिबार ०८:५९:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

सहर गरिबका लागि पनि हो भन्ने बालेनजीले भुल्न भएन

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० फाल्गुण १९ शनिबार ०८:५९:००

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बुधबार साँझ सुन्धारास्थित फुटपाथ व्यापारीलाई आक्रमण गरेपछि विरोध भइरहेको छ । फुटपाथ व्यापारीप्रति महानगर कठोर बनेको भन्दै मेयर बालेन्द्र साहलाई समर्थन गर्नेहरूले समेत विरोध जनाइरहेका छन् । यो विषयले संसद्मा प्रवेश पायो । रास्वपाका सांसद हरि ढकालले बिहीबारको प्रतिनिधिसभा बैठकमा स्थानीय चुनावताका महानगरमा गुञ्जिएको गीत ‘गरिबको चमेली बोल्दिने कोही छैन...’ लाई उद्धृत गर्दै महानगरमाथि प्रश्न उठाए । साथै उनले घटनाबारे अध्ययन गर्न सरकारको ध्यानाकर्षणसमेत गराए । उनै सांसद ढकालसँग महानगरको कार्यशैलीबारे शिवहरि घिमिरेले ५ प्रश्न गरेका छन् :

१. स्थानीय चुनावताका तपाईं बालेन साहको समर्थनमा उभिनुभयो । तर, यति चाँडै सदनमै विरोध जनाउने अवस्थामा कसरी पुग्नुभयो ?
बालेनजीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायत क्षेत्रमा धेरै राम्रो गर्नुभएको छ । विगतको भन्दा अहिले महानगरको सरसफाइ पनि राम्रो छ । तर, नगर प्रहरीको रबैया राम्रो होइन । फुटपाथ व्यापारीमाथि बुधबार भएको घटना चरम ज्यादती हो । यो कुरामा मेयरजीले ध्यान दिनुपर्छ । मैले त सरकारले ध्यान दिनुपर्छ भनेर संसद्मा माग गरेको पनि छु । रहरले कोही सडकमा व्यापार गर्न आउँदैनन् । विकल्प नभएर सडकमा आएकालाई महानगरले मात्रै होइन, जहाँसुकैको स्थानीय तहले पनि विकल्प दिनुपर्छ । संसारका हरेक सहरमा फुटपाथ पसल छन्, तर त्यसलाई व्यवस्थित गर्ने हो । रोजीरोटी माग्न आउँनेलाई पिट्ने होइन । 

२. महानगरले सडक व्यवसायीमाथि ज्यादती गरेको भन्दै तपाईंले चुनावताका गुन्जिएको ‘गरिबको चमेली बोलिदिने कोही छैन...’ र ‘प्रकाश सपुतको ‘यो देश मेरो पनि होइन र...’ गीत पनि सदनमा स्मरण गर्नुभयो । मेयर साहले चुनावमा गरेका वाचाअनुसार काम गर्न नसकेको तपाईंको निष्कर्ष हो ?
बालेनभन्दा अघिल्ला मेयरको कार्य सम्पादन शैली र प्रगति विवरण हेर्दा बालेनजीको कामको शैली र सम्पादन निकै राम्रो छ । महानगरमा नयाँ केही अभ्यास पनि भइरहेको देखिन्छ । उहाँप्रति युवाहरूको आशा भरोसा पनि छ । तर, मुख्य कुरा के हो भने काठमाडौंमा गरिब पनि बस्न पाउँछ, सहरमा गरिबलाई नो इन्ट्री भन्न मिल्दैन । सहर गरिबका लागि पनि हो भन्ने बालेनजीले भुल्न भएन । साँच्चै भन्ने हो भने सहरी गरिबको हालत ग्रामीण गरिबको भन्दा जर्जर हुन्छ । ग्रामीण गरिबको त बरु गरिखाने वा खेतीपाती गर्ने ठाउँ हुन सक्छ । तर, सहरी गरिब कहाँ जाने, के खाने ? 

३. मेयर साहमा चुनावका वेला र अहिले कस्तो फरक पाउनुभयो ?
म र उहाँको हुटहुटी उस्तै हो । विद्रोहको स्वभाव पनि उही हो । उमेर पनि उस्तै–उस्तै हो । उहाँले शिक्षामा राम्रो गर्न खोज्नुभएको छ । सडकपेटी र सरसफाइ राम्रो व्यवस्थापन भएको छ । पदीय जिम्मेवारी वा पदमा रहेकालाई पदको उन्माद आउनुहुँदैन । उन्माद देखाउनेहरूको जमातमा विद्रोह गर्दै उहाँ आउनुभएको हो । 

४. महानगरले अब फुटपाथ व्यापारीलाई कसरी समेट्न वा व्यवस्थापन गर्न सक्ला ? 
फुटपाथ व्यापारीका लागि कुनै समय र स्थान तोकिदिनुपर्छ । संसारमा यस्तो अभ्यास धेरै ठाउँमा भइरहेको पाइन्छ । तर, बाटो रोकेर फुटपाथ दिनुपर्छ भन्ने होइन । सहरका गरिबको रोजीरोटी पनि सहज हुनुपर्छ । सहरमा पनि गरिब हुन्छन् । तिनलाई नजरअन्दाज गर्नुहुँदैन । महानगरले रोजगार वा विकल्प दिनुपर्छ । समय र स्थानको विकल्प दिएर व्यवस्थापन गर्न सकिन्छ । 

५. यसअघि फुटपाथ व्यापारीले सडक तथा फुटपाथ ओगटेर अस्तव्यस्त पारेका थिए । अहिले अधिकांश ठाउँका फुटपाथ तथा सडककिनारमा अवरोध छैन, यसले त ओहोरदोहोरमा सहज भएको छ, होइन र ?
फुटपाथ व्यापारीलाई कुनै एउटा समय र स्थान तोकिदिनुपर्छ । उनीहरूलाई सडक र फुटपाथ कब्जा गर्न दिने होइन । काठमाडौंका सडक र फुटपाथ अहिले निकै व्यवस्थित भएका छन् । कतिपय ठाउँलाई थप व्यवस्थित पारिँदै छ । तर, बुधबार नगर प्रहरीले गरेको ज्यादतीबारे मेयरजीले अध्ययन गर्नुपर्छ । त्यो त निर्ममता हो । संयमता महानगरले अपनाउनुपर्छ । बुधबारको घटनामा नगर प्रहरीले संयमता अपनाएन । काठमाडौं महानगरको नगर प्रहरी संवेदनशील छैन भनेर जनगुनासा आइरहेका छन् । नगर प्रहरीलाई जिम्मेवार बनाउने र फुटपाथ व्यापारीलाई सम्बोधन गर्नेतर्फ बालेनजीले ध्यान दिनुपर्छ ।