Skip This
बेलहिया नाका व्यवस्थित र पर्यटकमैत्री बनाइँदै, पर्यटक वाहनलाई सीमामै सवारीपासको व्यवस्था
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १८ शुक्रबार २o:१७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बेलहिया नाका व्यवस्थित र पर्यटकमैत्री बनाइँदै, पर्यटक वाहनलाई सीमामै सवारीपासको व्यवस्था

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार २o:१७:oo

लामो समयदेखि बेथितिको अड्डा बनेको बेलहिया नाका व्यवस्थित गर्ने कार्य सुरु भएको छ । भारत तथा तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल भ्रमणका लागि आउनेमध्ये ठूलो संख्या यही नाका भएर भित्रिन्छन् । 

विगतमा नाका व्यवस्थित नहुँदा पर्यटकले अनेक समस्या भोग्दै आएका थिए । अब भने बेलहियालाई व्यवस्थित गर्न चरणबद्ध काम सुरु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । ‘बेलहिया नाका अब पर्यटकमैत्री बन्ने छ,’ प्रजिअ अर्यालले नयाँ पत्रिकासँग भने । 

यही कार्यको थालनीस्वरूप नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई मध्यनजर गर्दै यातायात व्यवस्था कार्यालयले बेलहियाबाटै आरटिओ (पटकेपास) दिन सुरु गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा प्रजिअ अर्यालले नेपाल प्रवेश गर्ने पाउनालाई स्वागत गर्ने संस्कारको विकास गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

‘भारत तथा तेस्रो मुलुकका पर्यटकले नेपाल भ्रमणका क्रममा आउँदा ल्याउने सवारीसाधन नेपाल प्रवेशका लागि सुविधा दिन खोलिएको कार्यालयमा सहज रूपमा सेवा पाउने अवस्था बनोस्, झन्झटिलो नहोस्,’ उनले भने । उनले पास लिएर हिँडेका सवारीसाधन फर्किन ढिला भएमा सीधै कारबाही गर्नेतर्फ भन्दा सहजीकरण गरेर काम गर्ने वातावरण मिलाउन कर्मचारीलाई निर्देशन दिए ।

यसअगाडि पटके पास लिनका लागि बेलहिया नाकादेखि करिब सात किलोमिटर टाढा भैरहवाको अञ्चलपुर आउनुपर्ने थियो । सो अवसरमा बोल्दै प्रजिअले नेपाल–भारत सीमा क्षेत्रलाई पर्यटक मैत्री बनाउने पहिलो कार्य सुरु भएको बताए । 

सीमानाकालाई व्यवस्थित बनाउन आफूले स्टेप एक, स्टेप दुई, स्टेप तीन गरेर काम गरिरहेको उनले बताए । ‘अहिले हामीले नेपाल भ्रमणका लागि आउने भारतीय पर्यटकहरूलाई लक्षित गरेर सीमा नाकामै पटके पास दिन सुरु गरेका छौँ,’ प्रजिअ अर्यालले भने, ‘त्यसैगरी हामीले बेलहियामा चेकजाँच गरिएको पर्यटक साधनलाई रुपन्देहीभरि चेक गर्न नपर्ने तरिकाले स्टिकर टास गर्ने तयारी गरेका छौँ ।’

खुला सीमालाई व्यवस्थित गर्न सीमानाकामा परिचयपत्र अनिवार्य र चेकिङ मेसिन राख्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए । 

यातायात व्यवस्था सेवा कार्यालय भैरहवा रुपन्देहीका प्रमुख ईश्वरचन्द्र  अर्यालले भैरहवाबाट दुईपांग्रे सवारीको दर्ता प्रक्रिया सुरु गर्न आग्रह गरे । बेलहियामा पटके सेवा सुरु भएसँगै प्रदेशको राजस्व वृद्धि हुने उनले अपेक्षा गरे । 

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ होटेल एसाेसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ सार्वजनिक यातायात प्रालिका सञ्चालक सियाराम यादव, पर्यटन व्यवसायी सञ्जय बजिमय, यातायात व्यवस्था सेवा कार्यालय भैरहवाका नरबहादुर अर्याल, माधव कोइरालालगायतले आ–आफ्नो धारणा राखेका थिए ।