१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० फाल्गुण १८ शुक्रबार ०६:११:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

फागुनमा एनओसी लिने जापान जाने धेरै

एनओसी कार्यालयमा विद्यार्थीको भिड, जनशक्ति अभाव हुँदा दश हजार एप्लिकेसन पेन्डिङ

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० फाल्गुण १८ शुक्रबार ०६:११:००

२०२३ मा चार वर्षयताकै धेरै एक लाख ११ हजार आठ सय विद्यार्थीले लिएका थिए एनओसी

करिब एक महिनाअघिसम्म क्यानडाका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक थियो । तर, फागुन महिना लागेपछि यो तथ्यांक बदलिएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा सबैभन्दा बढी विद्यार्थीले जापानमा अध्ययनका लागि एनओसी लिएका छन् । अझ पछिल्लो तीन दिनयताको जापानका लागि एनओसी लिनेको संख्या अत्यधिक बढेको देखिन्छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयका अनुसार फागुन १ देखि १७ गतेसम्म जापानका लागि तीन हजार ६८ जनाले एनओसी लिएका छन् । सोही अवधिमा क्यानडामा ३४३, युकेमा २९३, अस्ट्रेलियामा २८४, कोरियामा १०६, युएसएमा ९२ लगायत गरी चार हजार ६१४ जनाले एनओसी लिएका छन् । एनओसी कार्यालयका प्रमुख शान्तिराम पौडेलका अनुसार पछिल्लो एक महिनाको तथ्यांक हेर्दा जापानमा विद्यार्थीको आकर्षण बढेको देखिन्छ । 

‘दैनिक ६ सय हाराहारीले एनओसीको फारम भर्ने गरेकोमा पछिल्लो तीन दिनयता एक हजारभन्दा बढीले एनओसी एप्लाई गरेका छन्, यो देख्दा देश कता जाँदै छ भन्ने लाग्छ,’ उनले भने, ‘युवा जनशक्तिको एनओसी लिन आएको दृश्यले देश रित्तिँदै छ भन्ने चिन्ता पनि हुन्छ ।’

यसबाहेक बिहीबारसम्म एनओसी कार्यालयमा करिब १० हजार एनओसी एप्लिकेसन पेन्डिङमा छन् । यी एप्लिकेसन भेरिफाई गर्न बाँकी छ । एनओसी लिने अत्यधिक भएको र नयाँ निवेदन धेरै आएकाले कतिपय निवेदन पेन्डिङमा रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । 

एनओसी कार्यालयले अनलाइन तथा भौतिक दुवै तरिकाले एनओसी लेटर प्रदान गर्दै आइरहेको छ । यहाँ शिक्षा मन्त्रालयको दरबन्दीअनुसारका कर्मचारी खटिन्छन् । हाल करार र स्थायी गरी १५ कर्मचारी मात्रै छन् । एकजनाले दिनभरिमा डेढ सयसम्म एनओसी एप्रुभ गर्न सक्छ । तर ,यति जनशक्तिले काम गर्न निकै कठिन छ । 

अत्यधिक निवेदन परेका कारण सेवा दिन हम्मेहम्मे परेको कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । ‘बिहान ७ बजेदेखि नै हामी सेवा दिन खटिएका छौँ, अझ जनशक्ति कम छ, सेवाग्राहीको चाप हुने ठाउँमा कर्मचारी संख्या पनि बढी हुनुपथ्र्यो,’ उनले भने, ‘ओभरटाइम सेवा दिँदा पनि दश हजार एप्लिकेसन पेन्डिङमा छ ।’ उनका अनुसार हाल पेन्डिङमा भएका एप्लिकेसन अप्रुभ गर्न दश दिन लाग्छ । जनशक्ति पर्याप्त हुने हो भने यो काम छिट्टै सकिन्छ ।

सर्भर बिग्रिँदा सास्ती
एनओसी कार्यालयको सर्भर डाउन हुँदा सेवाग्राहीले थप सास्ती पाएका छन् । बुधबार र बिहीबार छिनछिनमा सर्भर डाउन भएको थियो । सोही कारण पनि बिहीबार एनओसी कार्यालयमा विद्यार्थीको अत्यधिक भिड बढ्यो । 

बिहान ७ बजेदेखि नै सेवाग्राहीको भिड लागेको एनओसी कार्यालय दिउँसो चार बजेसम्म यस्तै भिडभाड थियो । सर्भर तथा अनलाइन सिस्टमले काम नगर्दा सेवाग्राहीहरू भौतिक रूपमै एनओसी लिन सानोठिमीस्थित एनओसी कार्यालय पुगेका थिए । हाल करिब दश हजार अनलाइन आवेदन पेन्डिङमा छन् । 

साउनयता ६१ हजार ७३२ ले लिए एनओसी 
चालू आर्थिक वर्षको साउनदेखि १७ फागुनसम्म विश्वका विभिन्न ५९ देशमा अध्ययनका लागि ६१ हजार ७३२ जनाले एनओसी लिएका छन् । जसमध्ये क्यानडामा १३ हजार ५५३, जापानमा १२ हजार १२७, अस्ट्रेलियामा ११ हजार ८२, युकेमा सात हजार ७३७, युएसएमा पाँच हजार ७६३, कोरियामा तीन हजार ४१८ लगायत ५९ देशका लागि ६१ हजार ७३२ जनाले एनओसी लिएका हुन् । यसमध्ये तीन हजार ३४३ एप्लिकेसन क्यान्सिल भएका छन् । अन्य महिनामा क्यानडामा जाने विद्यार्थीको संख्या धेरै देखिएपछि फागुन महिनामा भने जापान जान एनओसी लिनेको संख्या धेरै छ । 

जापान जानेमध्ये अधिकांश मध्यमवर्गीय परिवारका विद्यार्थी रहेको कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार यो सिजनमा जापानमा भाषा परीक्षा पनि हुने भएकाले धेरै विद्यार्थी जापान जानका लागि एनओसी लिएका हुन् ।