मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १४:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१८:oo

गुल्मीमा बुधबारबाट दादुरा–रुबेलाविरुद्ध खोप अभियान सुरु भएको छ। जिल्लामा नौ महिना पुगेर पाँच वर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकालाई खोप लगाइँदै छ।

जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले मुसिकोट नगरपालिका– ७ को वामी शेर खोप केन्द्रमा खोप कार्यकर्तालाई भ्याक्सिन क्यारियर प्रदान गरेर अभियानको शुभारम्भ गरेका हुन्।

जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुँदै छ। पहिलो चरणमा फागुन १६ देखि २० गतेसम्म मुसिकोट नगरपालिका तथा इस्मा, मालिका, धुर्कोट र मदाने गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए। 

दोस्रो चरणमा फागुन २१ देखि २५ गतेसम्म रेसुंगा नगरपालिका तथा गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र, सत्यवती, चन्द्रकोट र कालीगण्डकी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ। जिल्लाका तीन सय ३० नियमित खोप केन्द्रबाट खोप सञ्चालन हुने जनस्वास्थ्य अधिकृत आचार्यले बताए।

बालबालिकाको संख्याको आधारमा जिल्लामा सात खोप केन्द्र थप भएका छन् । खोप अभियानका लागि जिल्लाभर तीन सय ३७ स्वास्थ्यकर्मी, ६ सय ७४ स्वयंसेवक र एइएफआईको अनुगमन गर्ने १२ जना चिकित्सकको टोली रहने आचार्यले बताए। त्यसबाहेक जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरूबाट अभियानको अनुगमन तथा निरीक्षण हुने बताइएको छ। 

गत वर्ष नेपालमा दादुराको महामारी भएको थियो। लुम्बिनी प्रदेशका अर्घाखाँची, दाङ, बाँके, बर्दिया र कपिलवस्तुसहित १९ जिल्लामा दादुराको प्रकोप देखिएको थियो। गत वर्ष नेपालमा एक हजार तीन सय ४९ जनामा दादुरा संक्रमण पुष्टि भएपछि अभियानको सुरुवात गरिएको हो। सन् २०२६ सम्म दादुरा निवारण गर्न यो अभियान सुरु भएको स्वास्थ्य कार्यालय गुल्मीकी वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले बताइन्। ०४५ सालबाट खोप सुरु भएको र हालसम्म कुनै जटिल समस्या नदेखिएकाले ढुक्क भएर खोप लगाउन उनले आग्रह गरेकी छिन्।

अभियानमा जिल्लाका ठूला विकास निर्माण भइरहेका स्थलहरूमा रहेका बालकालिकाको समेत तथ्यांक यकिन गरेर अभियानमा पूर्णतया समाहित गर्ने योजना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।