आमन्त्रित टोलीको रूपमा सहभागी भएको नेपाल वेस्ट एसियन फुटबल फेडरेसन (वाफ) वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल प्रवेश गरेको छ ।
भर्खरै सकिएको दोस्रो सेमिफाइनलमा लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि यात्रा तय गरेको हो ।
नेपाललाई फाइनलमा पुर्याउन प्रीति राईले अन्तिम समयमा निर्णायक गोल गरिन् । दोस्रो हाफको नियमित समय सकिएर थपिएको अतिरिक्त समयको चौथो मिनेटमा प्रीतिले करिब ३० यार्ड परबाट गरेको सशक्त प्रहार दोस्रो बार च्याप्दै गोलमा परिणत भयो ।
त्यसअघि ७४औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले नेपाललाई बराबरी गोल गरेकी थिइन् । वन भर्सेस वनको अवस्थामा बललाई पोस्टको दिशा दिन असमर्थ भए पनि सोही बललाई लेबनानका डिफेन्डरले क्लियर गर्ने कोसिस गरिरहेका वेला खोसेर साम्बाले गोल गरेकी थिइन् ।
त्यसअघि ३८औँ मिनेटमा नेपाल आत्मघाती गोल खाएपछि खेलमा पछि परेको थियो । डी बक्सभन्दा निकै अगाडिबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोस्टमा प्रवेश गरेपछि लेबनानले खेलमा अग्रता लिएको थियो ।
खेल अवधिभर नेपालले २० भन्दा बढी पटक गोलका लागि प्रयास गरेको थियो । एक गोलले पछि परेपछि दोस्रो हाफमा नेपाल थप आक्रामक बनेको थियो । लगातार प्रयास गर्दा पनि गोल निस्कन नसकिरहेका वेला सावित्राले डडलक तोडेकी हुन् ।
अब नेपालले उपाधिका लागि बिहीबार जोर्डनको सामना गर्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै जोर्डन फाइनल प्रवेश गरेको हो ।
जोर्डन जारी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । अन्तर्राष्ट्रिय खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आए पनि नेपाली महिला टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । जोर्डनलाई हराउन सके नेपालले उपाधि अभावको खडेरी तोड्नेछ ।