Skip This
प्रेरक प्रसंग : भित्ताका प्वाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १३ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १३ आइतबार o५:५६:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : भित्ताका प्वाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १३ आइतबार o५:५६:oo

एक बालक अत्यन्त रिसाहा थिए । उनी छिनछिनमै रिसाइरहन्थे । एक दिन उनका पिताले फलामे किलाको एउटा थैलो दिँदै भने– बाबु, तिमीलाई दिनमा जतिपटक रिस उठ्छ, त्यति नै पटक यो थैलाबाट निकालेर एउटा किला यो भित्तोमा ठोकिदिनू । 

बालक पहिलो दिन ४० पटक रिसाए र उनले ४० वटै किला भित्तामा ठोकिदिए । दिनदिनै किला ठोक्दै जाँदा किलाको संख्या घट्दै गयो । उनलाई किला ठोक्न यति धेरै मिहिनेत गर्नुभन्दा रिसमाथि नियन्त्रण गर्नु ठीक लाग्न थाल्यो । पछिल्लो सातामा उनले आफ्नो रिसमाथि केही हदसम्म नियन्त्रण राख्न सिके । यस्तो हुँदै जाँदा यस्तो दिन पनि आयो, जुन दिन बालकले एउटै किला पनि भित्तामा ठोक्नुपरेन । 

बालकले यसबारे आफ्ना पितालाई बताए । पिताले उनलाई पुनः अर्को काम दिए । उनले भने– अब तिमी जुन दिन एकपटक पनि रिसाउँदैनौ, त्यस दिन यस भित्ताबाट एउटा किला निकाल्ने गर । बालकले यसै गरे । धेरै दिनपछि उनले भित्ताका सबै किला निकाली भ्याए । त्यसपछि उनले खुसी हुँदै पितालाई यो कुरा सुनाए । 

छोराको कुरा सुनेपछि पिताले उनलाई सोही भित्तोनजिक लगे र भने– बाबु, तिमीले निकै राम्रो काम गर्‍यौ । तर, के तिमी यो पर्खालमा किलाले पारेका प्वाल देखिरहेका छौ ? अब यो पर्खाल पहिलजस्तो बन्न सक्दैन । यसका लागि हामीले धेरै मिहिनेत गर्नुपर्छ । जब तिमी रिसाउँछौ, त्यतिखेर रिसमा निस्कने शब्द र विचारले पनि तिम्रो व्यक्तित्वमाथि गहिरो घाउ बनाउँछन् । ती घाउ सजिलै निको हुन सक्दैनन् । त्यसैले, फेरिफेरि रिस उठ्दा यो सत्य जहिल्यै मनन गर्नू ।