मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडाैं
२०८० फाल्गुण १२ शनिबार ०६:२१:००
Read Time : > 10 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

धमाधम खुल्दै लक्जरी रिसोर्ट

देशभर डेढ दर्जन यस्ता रिसोर्ट खुलेका छन्, जहाँ बस्न प्रतिदिन २५ हजारदेखि तीन लाखसम्म खर्च गर्नुपर्छ । खर्चालु पर्यटक देश भित्र्याउन पनि भूमिका खेलिरहेका यस्ता रिसोर्टहरूले रोजगारी सिर्जनामा पनि योगदान गरेका छन् ।

Read Time : > 10 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० फाल्गुण १२ शनिबार ०६:२१:००

अमेरिकाको नेसनल जियोग्राफिकले माघमा जोमसोमको ‘शिन्तामणि मुस्ताङ’लाई विश्वका उत्कृष्ट होटेलको सूचीमा राख्यो । उसको उत्कृष्ट सूचीमा एसियाबाट तीनवटा होटेल परेका छन्, जसको पहिलो नम्बरमा मुस्ताङको शिन्तामणि छ ।

स्थानीय ढुंगाहरू कुँदेर बनाइएको रिसोर्ट साउनदेखि सञ्चालनमा आएको हो । रिसोर्टमा बस्न एक जोडी विदेशीले प्रतिरात तीन लाख र नेपालीले डेढ लाख रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

यसै वर्ष मात्र खर्चालु पाहुना लक्षित गरी पोखरामा दोर्जे रिसोर्ट र काभ्रेमा दुसित थानी हिमालय रिसोर्ट सञ्चालनमा आए । गत वर्ष नगरकोटमा तीन अर्ब लगानीमा काव्या रिसोर्ट सञ्चालनमा ल्याइएको छ । रिसोर्टमा नौलो डिजाइनका आकर्षक भिल्ला निर्माण गरिएको छ । यहाँ एक जोडीले एक रातको बसाइका लागि न्यूनतम ३९ हजार पाँच सय रुपैयाँ खर्च गर्नुपर्छ । 

मेघौलीमा ताज सफारी र बाराही जंगल लज खुलेको धेरै भइसक्यो । काठमाडौंनजिकैको द्वारिकाज धुलिखेल हाइप्रोफाइलको गन्तव्य भइहाल्यो ।

यी भए प्रतिनिधि उदाहरण मात्र । पछिल्लो समय नेपालमा आरामदायी विलासी रिसोर्ट खुल्ने क्रम बढ्दो छ । विभिन्न ठाउँमा दर्जनभन्दा बढी लक्जरी रिसोर्ट खुलेका छन् । कतिपय सञ्चालनको तयारीमा छन् । यी रिसोर्टमा प्रतिरात ३० हजारदेखि तीन लाखसम्म खर्च गर्न सक्ने मात्र बस्न सक्छन् । 

खर्चालु पर्यटकलक्षित रिसोर्टमा लगानी पनि धेरै हुन्छ । लक्जरियस भौतिक संरचना र सेवा–सुविधामा कुनै सम्झौता गरिँदैन । नगरकोट, धुलिखेल, लाँकुरीभञ्ज्याङ, खुम्बु क्षेत्र, पोखरा, मेघौली, अमलटारी, मुस्ताङ, बर्दियालगायत ठाउँमा लक्जरी रिसोर्ट खुलिरहेका छन् । 

लक्जरी रिसोर्टको बसाइ पाँचतारे होटेलको भन्दा खर्चिलो हुने कोरा टुर्स एन्ड ट्राभलका सिइओ विजय अमात्य बताउँछन् । रिसोर्ट सहरी कोलाहलभन्दा बाहिर शान्त र रमणीय ठाउँहरूमा सञ्चालन गरिन्छ । रिसोर्टमा अग्ला भवन नबनाई छुट्टाछुट्टै भिल्ला निर्माण गरिने हुँदा ठूलो ठाउँ चाहिन्छ । रिसोर्टमा आफ्नै अग्र्यानिक फार्म हुन्छन् । 

लक्जरी रिसोर्ट सहरी कोलाहलभन्दा बाहिर ग्राहकमैत्री तरिकाले सञ्चालन गरिने उनको भनाइ छ । ‘नेपालमा पनि खर्चालु पर्यटकलाई लक्षित गरेर धमाधम लक्जरियस रिसोर्ट खुलिरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय नेपाली पर्यटन ‘लक्जरी क्लास’मा मार्केटिङ हुन थालेको छ ।’ 

यस्ता हुन्छन् लक्जरी रिसोर्ट 
लक्जरी क्लासका रिसोर्टमा मौलिकता झल्काउने स्विट भिल्ला निर्माण गरिएको हुन्छ । रिसोर्टमा ठूलो बेडरुम, फराकिला बाथरुम, निजी स्विमिङ पुल, साउना, स्पा, मेडिटेसनलगायत सुविधा हुन्छन् । मौलिक र आधुनिक शैली फ्युजन गरेर निर्माण गरिने भिल्ला उच्चस्तरको सामान प्रयोग गरी ‘वल्र्ड क्लास’ फिनिसिङ गरिएको हुन्छ । रिसोर्टमा शान्त र खुलापन महसुस हुनुपर्छ ।

रिसोर्ट सहरको बीचमा हुँदैनन्, नदी र तालको किनार, डाँडाकाँडा वा जंगलको बीचमा खोलिन्छ । आतिथ्य सत्कार पनि बेग्लै हुन्छ । सम्भव भएसम्म रिसोर्टले अग्र्यानिक खाना खुवाउँछन् । मेडिटेसन मुख्य आकर्षण हुने गर्छ । यी सुविधाका लागि पर्यटकले जति पनि पैसा तिर्न तयार हुने अमात्यको भनाइ छ । 

लक्जरी रिसोर्टमा धेरै कोठा बनाइँदैन । भुटानको ‘अमनकोरा थिम्पु’मा १६ कोठा मात्रै छन्, जहाँ बस्नका लागि एक जोडी पर्यटकले प्रतिदिन साढे २४ सय डलर खर्चिनुपर्ने हुन्छ । अमनकोराले भुटानमा थिम्पु, पारो, पुनाखा, ग्याङगटी र बुमथाङमा पाँचवटा रिसोर्ट चलाइरहेको छ । यी पाँचवटा रिसोर्टमा ७२ कोठा मात्रै छन् । नेपालका पाँचतारे होटेलले सयवटा कोठा बिक्री गरेर गर्ने आम्दानी अमनकोराले थोरै कोठाबाटै गर्छ । नेपालमा पनि थोरै कोठा प्रिमियम मूल्यमा बिक्री गर्ने गरी लक्जरी रिसोर्ट खोल्न थालिएको छ ।

नेपालका होटेलमा धेरै कोठा बनाउन प्रतिस्पर्धा चल्छ । धेरै कोठा हुने होटेल प्रिमियममा जान नसक्ने अमात्यको बुझाइ छ । रिसोर्टले कोठाभन्दा पनि स्तरीय सेवा र देशको स्टोरी बिक्री गरेर पर्यटकबाट डलर झार्नुपर्छ । भुटानमा अमनकोराले त्यसै गरिरहेको छ । ‘रिसोर्टको भौतिक संरचना र सेवा–सुविधा ‘वाह’ भन्ने खालको हुनुपर्छ, अनि पर्यटकले मनग्ये पैसा खर्च गर्छन्,’ अमात्य भन्छन्, ‘महँगा रिसोर्ट भरिभराउ हुनुपर्दैन, आधा चले पनि पुग्छ ।’ 

टाइगरटप्स : लक्जरी पर्यटनको सुरुवातकर्ता 
चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगरटप्स जंगल पर्यटन र लक्जरी पर्यटनको कोसेढुंगा मानिन्छ । सन् १९६४ मा चारवटा कोठाबाट सुरु भएको टाइटर टप्समा पछि २० कोठा पुर्‍याइएको थियो । बेलायती नागरिक जिम एडवर्डस्ले विश्वभरि मार्केटिङ गरेर होइप्रोफाइल र खर्चालु पर्यटक ल्याउँथे, त्यसमा राजघरानादेखि उच्च खान्दानीसम्म हुने गर्थे । टाइगरटप्समा बस्ने पर्यटकले ३० वर्षअघि नै पाँच सय डलरभन्दा धेरै खर्च गर्थे । 

जिम एडवर्डस्ले नै नवलपुरमा टाइगरटप्स थारू लज र बर्दियामा टाइगरटप्स कर्णाली लज सञ्चालनमा ल्याए । यस्तै, चितवनको निकुञ्जभित्र टेम्पल टाइगरलगायतका अन्य रिसोर्टहरू पनि खुल्दै गए । यी रिसोर्टमा बेलायती राजकुमारदेखि अमेरिकी राष्ट्रपतिसम्म पाहुना बन्ने गर्थे । विश्वका हाइप्रोफाइल पाहुनाको ‘जङ्सन’ बन्ने गरेको टाइगरटप्स, टेम्पल टाइगरलगायत जंगलका रिसोर्टहरू बन्द भएको दशक भयो । नेपालमा लक्जरी पर्यटनको सुरुवात त्यहीँबाट भएको थियो । 

टाइगरटप्सका पाहुना भिआइपी र भिभिआइपी हुन्थे । उनीहरू त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि त्यहीँबाट सीधै चार्टर्ड विमान चढेर मेघौली विमानस्थल हुँदै टाइगरटप्स पुग्थे । तर, टाइगरटप्स बन्द भएपछि हाइप्रोफाइल र खर्चालु पर्यटक आउन धेरै कम भएको छ ।

अहिले शिन्तामणि मुस्ताङ, चितवनको मेघौली सेराई, द्वारिकाज धुलिखेल, लाँकुरीभञ्ज्याङको द टेरेसेस, पोखराका दी पेभिलियन हिमालयज, दोर्जे रिसोर्ट, अन्नपूर्ण भ्यु, टाइगर माउन्टेन र रूपाकोट रिसोर्ट, सराङकोट माउन्टेन लज, काभ्रेको दुसित थानी, मेघौलीको बाराही जंगल लज, अमलटारीका टाइगरटप्स थारू लज र टेम्पल टाइगरलगायत धनाढ्य सौखिन पर्यटकको आकर्षण बन्दै आएका छन् । आधा दर्जन लक्जरी रिसोर्ट निर्माणाधीन छन् । 

शिन्तामणि मुस्ताङ
मुस्ताङमा खुलेको ‘शिन्तामणि’ देशकै महँगो रिसोर्ट हो । शेर्पा हस्पिटालिटीले जोमसोममा दुई हजार सात सय मिटर उचाइमा सञ्चालन गरेको रिसोर्ट सम्भवतः देशकै महँगो रिसोर्ट हो । ठूलो झ्यालसहितका कोठाबाटै प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । रिसोर्टमा दुईवटा जुनियर स्विट, नौवटा ग्राउन्ड फ्लोर स्विट, १४ वटा टप फ्लोर स्विट र एउटा बाल्कोनी स्विट गरी २९ कोठा छन् । 

एक जोडी पर्यटकले प्रतिदिन न्यूनतम दुई लाख ३९ हजारदेखि दुई लाख ९३ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । शिन्तामणि रिसोर्टमा पर्यटक कम्तीमा पाँच दिन अनिवार्य बस्नुपर्ने शेर्पा हस्पिटालिटी ग्रुपकी मार्केटिङ म्यानेजर एलिना सेनले बताइन् । जुनियर स्विटको करसहित एक हजार आठ सय डलर छ, जहाँ पाँच दिन बसेको ११ लाख ९७ हजार रुपैयाँ तिर्नुपर्छ । 

ग्राउन्ड फ्लोर स्विटको प्रतिदिन एक हजार नौ सय डलरका दरले पाँच दिनको १२ लाख ६३ हजार तिर्नुपर्ने हुन्छ । टप फ्लोर स्विटको दुई हजार डलर छ । सबैभन्दा धेरै कोठा यही श्रेणीका छन्, जहाँ पाँच दिन बसेको १३ लाख ३० हजार लाग्छ । बाल्कोनी स्विटमा पाँच दिन बसेको १४ लाख ६३ हजार रुपैयाँ लाग्छ । 

नेपालीलाई ५० प्रतिशत छुट दिइएको सेनले बताइन् । नेपालीका लागि विशेष प्याकेज बनाइरहेको उनको भनाइ छ । कोरा टुर्सका सिइओ अमात्य भन्छन्, ‘शिन्तामणि नयाँ लक्जरी ब्रान्ड हो, यसको सेवा, सुविधा र भौतिक संरचना वाह भन्ने खालको हुन्छ ।’

द्वारिकाज धुलिखेल रिसोर्ट
नेपाल आउने अधिकांश हाइप्रोफाइलको रोजाइ बत्तीसपुतलीस्थित द्वारिकाज होटेल हुने गर्छ । यस्तो युनिक प्रडक्ट अब अर्को बन्ला वा नबन्ला, यसै भन्न सकिन्न । उनै अम्बिका श्रेष्ठले धुलिखेलमा पनि भव्य रिसोर्ट सञ्चालनमा ल्याएकी छिन् । जहाँ एक रात बस्नका लागि पर्यटकले न्यूनतम साढे पाँच सय डलर तिर्नुपर्ने हुन्छ ।

द्वारिकाज धुलिखेलमा ३९ वटा स्विट्स र एउटा थ्री बेडरुम भिल्ला छ । २६ वटा एक्जुकेटिभ स्विट्स, १२ वटा जुनियर स्विट्स र एउटा रोयल स्विट्स छ । रिसोर्टमा सात सय ५३ र नो सय ६८ स्क्यायरफिटको बेडरुम र विशाल बाथरुम छन् । 

द्वारिकाजको मुख्य आकर्षण मेडिटेसन हो । ‘द्वारिकाजले क्वालिटी मेन्टेन गर्छ, कोभिडको समयमा पनि द्वारिकाजले मेनु कटौती गरेन,’ अमात्य भन्छन्, ‘द्वारिकाजको सेवा–सुविधामा कन्सिस्टेन्सी छ ।’ रिसोर्टमा जुनियर स्विटको करबाहेक पाँच सय ६२ डलर, एक्जुकेटिभ स्विटको सात सय ८४ र ट्यारेससहितको एक्जुकेटिभ स्विटको आठ सय २२ डलर तोकिएको छ । 

मेघौली सेराई, चितवन
चितवनको मेघौली सेराई रिसोर्टले खर्चालु पर्यटकलाई सेवा दिन्छ । रिसोर्टमा निजी स्विमिङ पुलसहितका १६ भिल्ला, एउटा प्रेसिडेन्सियल स्विट र भवनमा १२ वटा कोठा छन् । सबै कोठाबाट निकुञ्जको दृश्यावलोकन गर्न पाइन्छ । सिजी हस्पिटालिटीले ताज सफारी मेघौली सेराई सञ्चालनमा ल्याएको हो । आतिथ्य सत्कारका लागि ताज कहलिएको ब्रान्ड हो । 

‘मेघौली सेराईको क्वालिटी अफ सर्भिस कन्सिस्टेन्ट छ, रुम र खानको क्वालिटी मेन्टेन छ,’ अमात्य भन्छन् । भिल्लामा ठूलो झ्यालसहितको फराकिलो बेडरुम छ । ढुंगेधारासहितको बाथरुम छ । अग्लो घाँस रोपेर रिसोर्टलाई सफारी थिममा उतारिएको छ । रिसोर्टले मेघौली रुमको दुई सय ९० डलर, रापती भिल्लाको पाँच सय ९० र रापती महल स्विटको एक हजार चार सय ६० डलर मूल्य तोकेको छ । 

दी टेरेसेस, लाँकुरीभञ्ज्याङ    
पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले ललितपुरको लाँकुरीभञ्ज्याङमा लक्जरी रिसोर्ट ‘दी टेरेसेस’ सञ्चालनमा ल्याएका छन् । रिसोर्टमा १६ वटा डिलक्स स्विट्स, २८ वटा सुपेरियर स्विट्स र दुईवटा टेरेसेस प्रेसिडेन्सियल स्विट्स रुम रहेका छन् । ४० रोपनी क्षेत्रफलमा निर्माण गरिएको रिसोर्टमा एक अर्ब लगानी भएको बताइएको छ । डाँडोमा रहेको रिसोर्टबाट काठमाडौं उपत्यका र लस्करै हिमाल हेर्न पाइने शेर्पा बताउँछन् । रिसोर्टले न्यूनतम दुई हजार ८० डलरमा कोठा बिक्री गर्दै आएको छ । 

दुसित थानी हिमालय रिसोर्ट, काभ्रे
यसै वर्ष काभ्रेको नमोबुद्धमा दुसित थानी हिमालय रिसोर्ट खुलेको छ । रिसोर्टको व्यवस्थापन थाइल्यान्डको दुसित इन्टरनेसनलले सम्हालेको छ । ६३ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा साढे दुई अर्ब लगानी भएको बताइन्छ । रिसोर्टमा सुविधासम्पन्न भिल्लाहरूमा २८ कोठा सञ्चालनमा आएका छन् । दीर्घकालमा कोठाहरू थपेर ८९ पुर्‍याउने लक्ष्य राखिएको छ । रिसोर्टमा नेपालीलाई ३३ हजारदेखि साढे ४४ हजारसम्म र विदेशीका लागि करबाहेक चार सय र साढे चार सय डलर तोकिएको छ । लञ्च र डिनरका लागि छुट्टै तिर्नुपर्ने रिसोर्टका प्रतिनिधिले बताए । 

काव्या रिसोर्ट एन्ड स्पा, नगरकोट
नगरकोटमा नौलो डिजाइनमा काव्य रिसोर्ट खुलेको छ । विशाल कोठाबाटै रमणीय दृश्य देख्न पाइन्छ । विशाल ग्रुप, गोल्छा ग्रुप र पृथ्वीबहादुर पाँडेले तीन अर्ब लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । एक सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा जुनियर स्विट, एक बेडरुम भिल्ला र दुई बेडरुम भिल्ला रहेका छन् । रिसोर्टमा बस्न एक जोडी पर्यटकले करबाहेक स्विटको ३५ हजार, वान बेडरुम भिल्लाको ४५ हजार र टु बेडरुम भिल्लाको ८० हजार रुपैयाँ खर्चिनुपर्छ । विदेशी पर्यटकका लागि करबाहेक ५० हजारदेखि ९९ हजार रुपैयाँसम्म तोकिएको छ । 

पोखरामा केन्द्रित लक्जरी रिसोर्ट
पोखराका छेउछाउ र डाँडाकाँडा लक्जरी रिसोर्टले भरिँदै छन् । ब्रिटिस नागरिक डगलसले पोखरामा दी प्याभिलियन हिमालयज द फार्म र प्याभिलियन हिमालयज लेक भ्यु टेन्टेड क्याम्प सञ्चालन गर्दै आएका छन् । रातमाटे पुम्दीभुम्दीमा सञ्चालित लेक भ्युमा आठवटा टेन्टेड भिल्ला रहेको प्याभिलियन हिमालयजका महाप्रबन्धक राजीव देशराज श्रेष्ठ बताउँछन् । टेन्टेड भिल्लाको प्रतिव्यक्ति करबाहेक एक सय ३० डलरदेखि तीन सय डलरसम्म लाग्ने उनको भनाइ छ । पुम्दीभुम्दी चिसापानीमा रहेका द फार्ममा ४० स्विट छन् । यो देशकै एक मात्र शतप्रतिशत इकोफ्रेन्ड्ली रिसोर्ट भएको उनको भनाइ छ । द फार्ममा बस्न करबाहेक एक सय ५० डलरदेखि तीन सय ५० डलर लाग्ने उनले बताए । 

पोखराको सेदीमा नेपाली मौलिक र आधुनिक शैली फ्युजन गरी ‘दोर्जे रिसोर्ट एन्ड स्पा’ सञ्चालनमा आएको छ । ३१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको भिल्लाहरूले पुरानो गाउँकै झझल्को दिलाउँछ । पर्यटक आकर्षित गर्न नेपाली ढुंगा कुँदेर रिसोर्ट बनाएको सञ्चालक दोर्जे लामा बताउँछन् । रिसोर्टका २३ कोठाबाटै फेवातालको सुन्दर दृश्य हेर्न पाइन्छ । रिसोर्टमा नेपालीलाई प्रतिदिन २२ हजारदेखि ४० हजार रुपैयाँ तोकिएको छ । विदेशीलाई करबाहेक प्रतिदिन दुई सय ५० देखि ६ सय ५० डलरसम्म पर्ने उनले बताए । 

आँखैअगाडि माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायत हिमाल, पोखरा सहर, हेम्जाको फाँट, फेवाताल र शान्ति स्तुपा हेर्दै बस्न चाहनेलाई सराङकोट माउन्टेन रिसोर्ट उत्तम हुन सक्छ । विप्लव पौडेल नेतृत्वको बाराही ग्रुप र नारायण पहारीको लगानीमा खुलेको रिसोर्टमा ३० कोठा छन् । यो रिसोर्टको सबैभन्दा आकर्षण भनेकै रुफटप स्विमिङ पुल हो, जहाँ हिमालको छाया देखिन्छ । रिसोर्टमा विदेशीका लागि स्विटको चार सय डलर र डिलक्सको दुई सय डलर रहेको रिसोर्टका म्यानेजर कमलप्रसाद दाहालले बताए । नेपालीलाई डिलक्सको १६ हजार र स्विटको ३२ हजार तोकिएको छ । 

सराङकोटमै अन्नपूर्ण भ्यु होटेल खुलेको छ । रिसोर्टका सबै कोठाबाट हिमाल देखिन्छन् । बाथरुम पनि हिमाल देखिने गरी निर्माण गरिएको छ । पोखरामै रहेको टाइगर माउन्टेन पोखरा लज पनि महँगो रिसोर्ट हो । यो रिसोर्टमा पर्यटकलाई करबाहेक पाँच सय डलर तोकिएको छ । 

रूपाकोट रिसोर्ट पोखरा क्षेत्रमै चर्चित छ । टिपिकल नेपाली शैलीमा निर्माण गरिएका भिल्लाहरूले सिँगो गाउँकै झल्को दिन्छन् । आँखैअगाडि हिमाल, तलपट्टि बेगनास ताल, रूपाताल र लेखनाथ सहर, वरिपरि घना जंगल देखिने रूपाकोट रिसोर्ट पोखराकै युनिक प्रोपर्टी हो । पोखरा पुग्ने जोकोहीको चाहना एकपटक रूपाकोट पुग्ने हुन्छ । रिसोर्टमा नेपालीले २४ हजारदेखि ४९ हजारसम्म र विदेशीले दुई सय २५ डलरदेखि पाँच सय २५ डलरसम्म तिर्नुपर्छ । भारतीयलाई १७ हजार भारुदेखि ३३ हजार भारुसम्म तोकिएको छ ।

बाराही जंगल लज, मेघौली
बाराही ग्रुपले मेघौलीमा लक्जरी रिसोर्ट सञ्चालन गरिरहेको छ । बाराही जंगल लजले क्यान्डल नाइट डिनर, जंगलमा ब्रेकफास्ट, लञ्च, स्विमिङ पुलमा ब्रेकफास्टलगायत नौलो अनुभव गराउँछ । राप्ती नदी किनारमा रहेको रिसोर्टका कोठाहरूबाट निकुञ्ज छर्लंग देखिन्छ । भिल्लैभिल्ला रहेको रिसोर्टमा ३५ कोठा छन् । एउटा स्विट छ । लजमा दुई दिनको प्याकेज नेपालीलाई करसहित ७० हजार रुपैयाँ पर्छ । विदेशीलाई भने प्रतिदिन पाँच सय ७० सय डलर पर्ने रिसोर्टकी प्रतिनिधिले बताइन् । 

जंगलका ब्रान्ड : टाइगरटप्स र टेम्पल टाइगर
निकुञ्जभित्र टाइगरटप्स र टेम्पल टाइगर बन्द भएको दशक भयो । उनै लगानीकर्ताले निकुञ्जबाहिर पूर्वी नवलपरासीको नवलपुरमा टाइगरटप्स थारू लज र टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट सञ्चालनमा ल्याएका छन् । यी दुवै सफारी पर्यटनमा चिरपरिचित लक्जरी ब्रान्ड हुन् । नेपालमा सफारी पर्यटन सुरुवात गर्ने श्रेय टाइगरटप्सलाई जान्छ । जिम एडवार्डस्ले अफ्रिकाका जंगलमा सफारी गर्न जाने धनाढ्य र सौखिन पर्यटकलाई नेपाल भित्र्याए । वसन्त मिश्रले जंगलभित्रै सञ्चालनमा ल्याएको टेम्पल टाइगरले पनि सफारी पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याएको छ । दुवै लजले पहिलेकै प्रिमियम मूल्यमा आफ्नो सेवा बिक्री गर्न सकेका छैनन् । तर, जंगलभित्रको विरासत जोगाउन भने कोसिस गरिरहेका छन् । टाइगरटप्स ग्रुपले बर्दिया राष्ट्रिय निकुञ्जबाहिर टाइगरटप्स कर्णाली लज सञ्चालन गरिरहेको छ । जंगलभित्र कमाएको नेम र फेमका कारण अझै पनि विदेशी पर्यटक खोजी–खोजी टाइगरटप्स र टेम्पल टाइगर लजमा आउने गर्छन् । 

चन्द्रागिरि रिसोर्ट
चन्द्रागिरि रिसोर्ट उपत्यकाकै सबैभन्दा बेस्ट लोकेसन हो । नेपाली परम्परागत शैलीमा निर्माण गरिएको रिसोर्ट पनि आकर्षक छ । केबलकार चढेर सरर चन्द्रागिरि पुगेपछि १८० डिग्रीमा हिमालहरू, वरिपरि घना जंगल, तलपट्टि काठमाडौं सहर र चित्लाङको गाउँ देखिन्छ । हिउँदमा चन्द्रागिरिमै सेताम्मे हिउँ पर्छ । रिसोर्टमा एक सय कोठा र दुईवटा हेलिप्याड छन् । काठमाडौंमा आयोजना हुने ठूला कार्यक्रमहरू चन्द्रागिरिमा पनि हुन्छन् । काठमाडौं आएका हाइप्रोफाइल एकपटक चन्द्रागिरि डाँडोमा पुगेकै हुन्छन् । तैपनि रिसोर्टले आफ्नो सेवा प्रिमियम मूल्यमा भने बिक्री गर्न सकेको छैन ।

फिस्टेल लज, पोखरा
पोखराको फिस्टेल लज कुनै समयको चर्चित रिसोर्ट हो । एक समय फिस्टेल लजको बसाइ धनाढ्यकै लागि सपना हुने गथ्र्यो । तर, समयअनुसार लजको भौतिक पूर्वाधार र सेवा–सुविधाहरू स्तरोन्नति नगरिँदा रिसोर्ट ओझेलमा पर्दै गइरहेको छ । फेवातालमा बोटिङ गरेर पुगिने फिस्टेलको लोकेसन निकै प्रिमियम हो । रिसोर्टको रुमरेट २४ हजारदेखि ७२ हजारसम्म रहेको बुकिङ डटकममा उल्लेख छ ।

रोयल मुस्ताङ रिसोर्ट, लोमान्थाङ
मुस्ताङको लोमान्थाङमा सञ्चालित रोयल मुस्ता रिसोर्ट पनि खर्चालु पर्यटकलाई सेवा दिँदै आइरहेको छ । यस रिसोर्टमा पनि भौतिक संरचनादेखि सेवा सुविधासम्म उच्चस्तरको रहेको छ । रिसोर्टमा स्टान्डर्ड, डिलक्स र स्वीट रुम रहेका छन् । यो रिसोर्टले पनि प्रतिदिन तीन सयदेखि पाँच सय डलरसम्म कोठा बिक्री गर्ने गरेको पर्यटन व्यवसायी अमात्यको भनाई छ ।

के हो लक्जरी पर्यटन ?
विजय अमात्य सिइओ, कोरा टुर्स  प्रालि

लक्जरी पर्यटन ठ्याक्कै यही नै भन्ने छैन । तर, जसले प्रतिरुम तीन सय डलरभन्दा बढी खर्च गरेर बस्छन्, त्यसलाई लक्जरी भन्न सकिन्छ । जस्तो, द्वारिकाज होटेल, द्वारिकाज रिसोर्टको बसाइ । द्वारिकाज आफैँमा प्रिमियम लक्जरी रिसोर्ट हो । उसको सेवामा कन्सिस्टेन्सी छ । जुन हाइप्रोफाइलको रोजाइमा पर्छ । नेपालमा सन् १९८० तिर धुलिखेल माउन्टेन रिसोर्ट खुलेपछि रिसोर्ट नाम चल्तीमा आएको हो । अहिले हामीसँग धेरै महँगा रिसोर्टहरू छन् । नेपाल आउने धनाढ्य काठमाडौंमा द्वारिकाजमा बस्छ, अनि मेघौली सेराई जान्छ । पोखरा पुगेर पेभिलियन हिमालयमा बस्छ । फर्केर धुलिखेल वास बस्न पुग्छ । कतिपय हेलिकोप्टर चार्टर गरेर ब्रेकफास्ट खान एभरेस्ट जान्छन् । यो हो नि, लक्जरी पर्यटन ।

लक्जरी रिसोर्टमा भवन हुँदैनन्, भिल्ला हुन्छन् । ठूला कोठाहरू हुन्छन् । अग्र्यानिक परिकार पाक्छन् । सेवाको गुणस्तरमा एकरूपता हुन्छ । सेवा मात्र होइन, प्रोपर्टी पनि युनिक हुन्छ । जहाँ पर्यटकले मनग्ये खर्च गर्छन् । एउटै लक्जरी रिसोर्टमा अर्बौँ लगानी भएको छ । तर, एकातिर खर्चालु पर्यटक कम आउने र अर्कोतिर रिसोर्टको संख्या धमाधम बढ्दा व्यवसायी नचाहेर पनि मूल्य घटाएर कोठा बिक्री गर्न बाध्य छन् । 

नेपालमा धनाढ्य पर्यटक आउन थालेका छन् । यहाँ उनीहरूले हिमाल चढ्नेबित्तिकै आफ्नो देशमा सम्मान पाउँछन् । जागिरमा प्रमोसन हुन्छ । यस्ता पर्यटक खर्च गर्न पनि डराउँदैनन् । नेपालमा हिमाल चढ्नेहरूले मात्र धेरै खर्च गर्छन् । कतिपय जहाज चार्टर गरेर पनि आइरहेका हुन्छन् । हामीले अरू प्रडक्ट पनि महँगो मूल्यमा बिक्री गर्न सक्छौँ । र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी गर्न युरोपमा कति पर्छ, यहाँ कति पर्छ ? हामीले न्यून मूल्यमा बिक्री गरिरहेका छौँ । 

नेपाल जाने भनेकै हिमाल चढ्न र ट्रेकिङ गर्न मात्र भन्ने छ । साइट सिनमा पनि त्यस्तै ह्विम ल्याउन सकिन्छ । नेपाल भनेको हिमालमा मात्र होइन, सम्पदा र संस्कृतिमा पनि उत्तिकै धनी छ । यहाँ चार–पाँच हजार वर्ष पुराना सम्पदा र संस्कृति छन् । प्रकृतिको बरदान पाएको देश हो । यसलाई पनि महँगो मूल्यमा बिक्री गर्न सक्नुपर्छ । नेपाल विश्वका धनाढ्यहरूको विवाह गन्तव्य बन्न सक्छ । विदेशी फिल्म सुटिङको रोजाइको गन्तव्य हुन सक्छ । हामीले ऐतिहासिक मेला र जात्रा पनि बिक्री गर्न सकिन्छ । यहाँ विश्वकै दुर्लभ र पुराना मेला–जात्रा हुन्छन् ।