Skip This
नेपाल फेरि ब्याटिङमा चुक्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Saturday, 27 July, 2024
आइसिसी विश्वकप लिग–२ मा नामिबियाका खेलाडीसँग अंकमाल गर्दै नेपालका ललित राजवंशी । तस्बिर : दिपेन्द्र ढुंगाना/ नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार o८:o७:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल फेरि ब्याटिङमा चुक्यो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार o८:o७:oo

आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार चौथो खेलमा त्रिवि क्रिकेट मैदानमा नेपाल र नामिबियाबीचको प्रतिस्पर्धा नयाँ पिचमा खेलाइएको थियो । यसअघिको त्रिवि मैदानको नियमित पिचमा सुरुवात ब्याटिङ गर्ने टोलीले पूरै ५० ओभर खेल्न सकेनन् । सिरिजको चौथो खेलमा नयाँ पिच प्रयोग हुँदा पहिलो ब्याटिङ गर्ने टोलीले पूरै ओभर खेल्ने अपेक्षा थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले टस हारे । नामिबियाले घरेलु टोलीलाई ब्याटिङको निम्तो दियो । यद्यपि, नेपालको सुरुमै ब्याटिङ गर्ने योजना सफल भयो । तर, ब्याट्सम्यानले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसक्दा नेपाल ३७.१ ओभरमा एक सय ६८ रनमा समेटियो ।

सहज लक्ष्य पछ्याएको नामिबियाले जित निकाल्न धेरै कोसिस गर्नुपरेको थियो । निर्णायक क्षणमा विकेट पतन हुँदा खेल बराबरीको अवस्थामा जस्तै थियो । तर, प्रतिओभर ३.३८ रन आवश्यक परेको पिचमा नामिबियाका मध्यक्रमका ब्याट्सम्यानले संयमित हुँदै ब्याटिङ गरेका थिए । यसै प्रदर्शनका कारण नामिबियाले ४० ओभरमा आठ विकेट गुमाएर नेपालमाथि ६० बल अगाडि नै दुई विकेटको रोमाञ्चक जित निकाल्यो । सिरिजमा नामिबियाले लगातार नेपालमाथि दोस्रो जित निकाल्दै तालिकामा शीर्ष स्थानमाथि कब्जासमेत जमाउन सफल भयो । 

नामिबियाले तीन खेलमा चार अंक बटुलेको छ । नामिबियाले दुई जित र एक हार निकालेको छ । घरेलु टोली नेपालले समान खेलमा दुई हार र एक जितका साथ दुई अंक बटुलेको छ । नेपाल दोस्रो स्थानमा छ । एक खेल कम खेलेको नेदरल्यान्ड्स दुई अंकका साथ तेस्रो स्थानमा छ ।  

आसिफको १२औँ अर्धशतकीय इनिङ्स
ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले सुरुको पाँच ओभरमा उत्कृष्ट ब्याटिङ गरेका थिए । दुवैले अनावश्यक सट रोजेनन् । उनीहरूले मौका प्राप्त हुँदा बाउन्ड्री लगाए । सेख र भुर्तेल क्रिजमा सेट हुन लागेको समयमै नामिबियाका कप्तान ग्रेहार्ड रास्मुसले बलिङ परिवर्तन गरे । नयाँ बलर बर्नान्ड स्कोट्जले आफ्नो पहिलो ओभरमै विकेट लिँदै नेपालमाथि दबाब राखे । भुर्तेलले १६ बलमा तीन चौकाको सहयोगमा १८ रन बनाए । भुर्तेल आउट भएको ओभरमै अनिल साह पनि एलबिडब्लूको धरापमा परे । एकै ओभरमा दुई विकेट गुम्दा नेपाल दबाबमा पर्‍यो । ७.६ ओभरमा ब्रसेलले देव खनाललाई विकेट पछाडि ग्रिनबाट क्याच आउट गराए । अनिल र देवले रन नै जोडेनन् । 

देव आउट हुँदा नेपाल ४३÷३ को स्थितिमा थियो । कुशल मल्ल र सेखले चौथो विकेटका लागि ५७ रनको साझदोरी गरे । एकदिवसीय करिअरमा १२औँ अर्धशतकीय इनिङ्स लगाएसँगै सेखले आफ्नो विकेट स्कोल्टजलाई दिन पुगे । उनले ६४ बलमा आठ चौका र एक छक्का प्रहार गरी ५८ रन बटुले । कुशल र भीम सार्कीबीच गतिलो साझेदारी भयो । कुशलले ५२ बलमा तीन छक्का र एक चौका सहयोगमा ३६ रन बनाए । भीमको विकेट जाँदा नेपाल ३४.५ ओभरमा १५५–८ को नाजुक स्थितिमा रह्यो । भीमले ३६ बलमा तीन चौका प्रहार गरी २६ रन बनाए । करण केसीले १२ बलमा समान एक चौका र छक्का प्रहार गरी १२ रन जोडे । बलिङमा बर्नान्ड स्कोल्टजले १० ओभरमा दुई मेडन राखी चार विकेट लिए ।

नेपाल अब विश्वकपमा केन्द्रित हुने
आइसिसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्ससँगको खेलसँगै नेपालको एकदिवसीय टोलीले लामो समय रेस्ट पाउनेछ । यसबीच नेपालले अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी पुरुष टी–२० विश्वकपको तयारी गर्नेछ । नेपालका प्रशिक्षक देसाईले टी–२० विश्वकप केन्द्रित भएर प्रशिक्षण हुने बताएका छन् । ‘एकदिवसीय वा टी–२० फम्र्याटले प्रदर्शनमा केही पनि फरक पर्दैन, खेलाडीहरू अब एकदिवसीयपछि टी–२० मा केन्द्रित हुनेछन्,’ नामिबियासँग दुई विकेटले पराजित भएपछि उनले भने । नेपालले लिग–२ अन्तर्गत अर्को सिरिज सेप्टेम्बरमा खेल्नेछ । 

हारको जिम्मेवारी लिन्छु 
रोहित पौडेल, कप्तान, नेपाल

नामिबियाविरुद्धको दोस्रो खेलमा म आफू नै शून्यमा आउट भएँ । यसले मलाई निराश बनायो । नेपालको हारको जिम्मेवारी म स्वयं लिन्छु । हामीले सोचेजस्तो सुरुवात गर्न सफल भयौँ । हामीले पावर प्लेमा राम्रो विकेटका साथ अगाडि बढयौँ । म र दीपेन्द्र दाइको विकेट पतनसँगै टोलीमाथि दबाब भयो । यस पिचमा हामीले कम्तीमा २०० देखि २५० रन बनाउनुपर्ने थियो । स्कोर बोर्डमा जति योगफल थियो, त्यो रक्षा गर्न काफी भएन । क्रिकेटमा केही अनुमान गर्न सकिँदैन । जितका लागि नामिबियाले पनि मिहिनेत गरेको थियो । उनीहरूको तयारी निकै राम्रो छ । हाम्रा बलरले जितका लागि शतप्रतिशत मिहिनेत गरेका थिए । ब्याटिङमा केही कमजोरी भएका कारण नै नेपाल पराजित भएको हो । 

तीन विकेट गएपछि दबाब बढ्यो 
मोन्टी देसाई, प्रशिक्षक, नेपाल 

यस पिचमा हामीले पहिला ब्याटिङको योजना बनाएका थियौँ । सुरुमा योजना सफल भएको थियो । हामीले पाँच ओभरमा राम्रो सुरुवात गर्‍यौँ । ओपनर कुशल आउट भएपछि अनिल पनि दुर्भाग्यवश आउट हुन पुगे । खेलमा यस्तो भइरहन्छ । १० ओभरको पहिलो पावरप्लेमा तीन विकेट गुमेपछि दबाब सुरु भएको थियो । त्यसपछि कुशल मल्ल र आसिफ शेखले राम्रो साझेदारी गरे । कप्तानसहित अन्य मुख्य ब्याट्सम्यानले आफ्नो भूमिकामा केन्द्रित हुन नसक्नु नै कमजोरी पक्ष हो । वास्तवमा आरिफ शेखलाई बेन्चमा राख्ने निर्णय गाह्रो रह्यो । आजको खेलमा करण केसीलाई राख्ने योजनाअनुरूप नै आरिफ बाहिरिएको हो । दोस्रो इनिङमा नेपालले बलिङ र फिल्डिङमा राम्रो प्रदर्शन गरेको थियो । तर, स्कोर बोर्डमा पर्याप्त योगफल भएन । 

मध्यक्रमले सम्हालिएको नामिबिया
नामिबियाको सुरुवात पनि गतिलो हुन सकेन । इनिङ्सको ४.१ ओभरमा नामिबियाले दुई विकेट गुमाएको थियो । निकोलास डविन र ज कोटजेको विकेट गुम्दा नामिबिया १७–२ को स्थितिमा रह्यो । त्यसपछि माइकल भान र रास्मुसले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । माइकल सेखबाट स्टम्पिङ भए । उनले ३४ बलमा दुई छक्का र चार चौका प्रहार गरी ३१ रन बनाए । 

नामिबियाको ब्याटिङमा कप्तान रास्मुसले कप्तानी इनिङ खेले । उनले ५६ बलमा दुई छक्का र आठ चौका प्रहार गरी ५२ रनको योगदान दिए । मध्यक्रममा जे स्मिटले नटआउट रही ६६ बलमा ३४ रन बनाए । उनले दुई छक्का र एक चौका प्रहार गरे । नेपालका बलरले अन्तिमसम्म पनि नामिबियाका ब्याट्सम्यानमाथि दबाब राख्ने कोसिस गरेका थिए । कुशल भुर्तेलले ५ ओभरमा २८ रन खर्चेर तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले समान एक विकेट लिए ।