१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १० बिहीबार ०६:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एभरेस्ट अस्पताललाई काठमाडौं महानगरको कारबाही, फोहोर उठाउन छाड्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १० बिहीबार ०६:४८:००

जोखिमयुक्त र संक्रमणजन्य फोहोर पनि निर्मलीकरण नगरेको पाइएपछि काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेस्ट अस्पतालको फोहोर उठाउन बन्द गरेको छ । 

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परिवार नेतृत्वको टोलीले बुधबार स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापनबारे अनुगमनका क्रममा एभरेस्ट अस्पतालले फोहोरको वर्गीकरणको मापदण्ड पूरा नगरेको र फोहोर निर्मलीकरण गर्ने अटोक्लेभ मेसिन बन्द रहेको पाइएपछि कारबाहीस्वरूप फोहोर संकलनमा रोक लगाइएको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले हानिकारक र संक्रमणजन्य फोहोर निर्मलीकरणपछि सामान्य फोहोर हुने प्रणाली कार्यान्वयनमा आएको सुनिश्चित भएपछि मात्र कारबाही फुकुवा हुने बताए । 

महानगरभित्रका अस्पताल, औद्योगिक प्रतिष्ठानको फोहोर महानगरले अतिरिक्त शुल्क लिएर छुट्टै कन्टेनरमार्फत संकलन गर्ने गर्छ । तर, स्वास्थ्य संस्थाजन्य हानिकारक फोहोरले मानव तथा प्राणी स्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पार्ने भन्दै महानगरले कारबाही गरेको हो ।

अनुमगनमा सहभागी जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य संस्थाले फोहोर संकलनका लागि रातो, पहेँलो, नीलो, हरियो, कालो गरी पाँचवटा बाल्टिन राख्नुपर्छ, भने संकलित फोहोरमध्ये संक्रमणजन्य फोहोरको निर्मलीकरण गरेपछि मात्र ल्यान्डफिल साइटमा पठाउनुपर्छ । तर, एभरेस्टले फोहोर संकलनका लागि तीनवटा बाल्टिन मात्र राखेको थियो भने ती सबै बाल्टिनमा सबैखाले फोहोर थिए । एभरेस्टले मापदण्ड पालना नगरेपछि महानगरले ०७९ मै नौबुँदे सुधारका सुझाव दिएर पत्र पठाइएको थियो । तर, अहिले पनि सुधार नभएको पाइएको छ ।

महानगरले यसअघि १ फागुनबाट महाराजगन्जस्थित कान्ति बाल अस्पतालले फोहोर वर्गीकरण र  ढुवानीका मापदण्ड उल्लंघन गरेपछि कारबाहीस्वरूप फोहोर संकलन रोकेको थियो । अहिले पनि फुकुवा भएको छैन । महानगरले बुधबार ने मीनभवनस्थित सिभिल अस्पतालमा पनि अनुगमन गरिएको छ । अस्पताल फोहोर संकलनका लागि राखिएका सबैजसो बाल्टिन काला रङका छन् । बिर्को हरियो, पहेँलो, नीलो राखिएका छन् । ‘अस्पतालले फरक–फरक मापदण्डको पालना गर्दा फोहोर उत्पादक सर्वसाधारण झुक्किन्छन् । यसकारण, अब हामी राष्ट्रिय मापदण्ड कार्यान्वयनका लागि सार्वजनिक आह्वान गर्छौँ,’ अनुगमनपछि प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘कुन बाल्टिनमा कस्तो फोहोर हाल्ने हो भन्ने कुराको स्पष्ट संकेतका लागि अक्षर र चित्र दुवै राख्नुपर्ने सुझाव दिएका छौँ ।’