१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बंगलादेशसँग डलरमा विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

प्राधिकरणको टोली बंगलादेशमा, प्रतियुनिट ९.३१ रुपैयाँमा पिपिए गर्ने तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:o८:oo

बंगलादेशमा निर्यात गरिने बिजुलीको खरिद–बिक्रीदर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश प्रस्थान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो । टोलीले बिहीबार बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद–बिक्रीदर टुंगो लगाउनेछ । टोलीमा प्राधिकरणका उच्च अधिकारीसहित कानुन तथा विद्युत् व्यापार बिभागका प्रतिनिधिहरू छन् । बिहीबार छलफलले पीपीए दरसँगै भुक्तानी गर्ने समयसीमा, विद्युत् उपलब्ध गराउन नसके हुने पेनाल्टीलगायत बिषयमा पनि सहमति गरिनेछ । 

ह्विलीङ चार्ज भने बंगलादेशले नै तिर्ने प्रारम्भिक सहमति भएको छ ।बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो । त्यसलगत्तै प्राधिकरणले बंगलादेशमा पेस गरेको प्रस्तावमा बिहीबार छलफल गरी अन्तिम रूप दिइने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

‘बंगलादेशमा विद्युत् बिक्री गर्न भारतलाईसमेत समावेश गराएर छुट्टै त्रिपक्षीय सम्झौता हुँदै छ । जुन सम्झौता विद्युत् व्यापारसम्बन्धी सर्त तथा प्रावधानमा केन्द्रित हुनेछ,’ बंगलादेश प्रस्थान गर्नुअघि उनले भने, ‘त्योबाहेक बंगलादेशमा बिक्री गरिने विद्युत्को मूल्य तय गर्न छुट्टै द्विपक्षीय सम्झौता आवश्यक थियो । त्यसपछि खरिद प्रक्रियामार्फत यसको मूल्य तय गरिँदै छ । बिहीबारकै छलफलबाट त्यो दर तय हुनेछ ।’ 

प्राधिकरणकाकार्यकारी निर्देशककुलमान घिसिङ भन्छन्–बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावट विद्युत् किन्ने नेपालसँग प्रस्ताव मागेको थियो । त्यसपछि प्राधिकरणले बंगलादेशमा पेस गरेको प्रस्तावका बिषयमा बिहीबार छलफल गरी अन्तिम रूप दिइने छ । अहिले प्राधिकरणले भारतमा मध्यकालीन मोडेलमा प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ)मा विद्युत् बिक्री गरेको छ । त्योभन्दा उच्चदरमा बंगलादेशसँग पिपिए हुनेछ । 

बिहीबार तय हुने मूल्यदरलाई बंगलादेशले आफ्नो मन्त्रीस्तरीय बैठक वा मन्त्रिपरिषद्बाट स्वीकृत गर्नेछ । त्यसपछि प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् खरिद–बिक्री सम्झौता हुनेछ । यस्तै, कार्यकारी निर्देशक घिसिङले त्रिपक्षीय सम्झौता पनि छिट्टै हुने बताए । ‘त्रिपक्षीय सम्झौतापत्रको मस्यौदामा नेपाल, भारत र बंगलादेशले सहमति जनाइसकेका छन् । तसर्थ, अब त्रिपक्षीय सम्झौता पनि छिट्टै हुन्छ,’ उनले बताए । प्राधिकरण, बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौता हुनेछ । 

नेपाल र बंगलादेशबीच सीमा नजोडिएको कारण दुई देशबीच डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन पनि छैन । त्यसैले, तत्काललाई भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पु¥याउने योजना छ । त्यसबापत भारतले ह्विलिङ चार्जबापत केही रकम पाउनेछ । 

 बंगलादेशसँग डलरमा पिपिए गरिने
बंगलादेशसँग तय हुने विद्युत् खरिद–बिक्रीदर (मूल्य) डलरमा तय गरिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । प्रतियुनिट सात सेन्ट (बुधबारको विनिमयदरअनुसार ९.३१ रुपैयाँं) हाराहारीमा पिपिए दर निर्धारण हुन सक्ने प्राधिकरणको भनाइ छ । अहिले प्राधिकरणले भारतमा मध्यकालीन मोडेलमा प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ)मा विद्युत् बिक्री गरेको छ । त्योभन्दा उच्चदरमा बंगलादेशसँग पिपिए हुने घिसिङको भनाइ छ । जिएमआरले नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट विद्युत् बंगलादेशमा बिक्री गर्दै छ । त्यसमा भने बंगलादेशले प्रतियुनिट ७.७१२ सेन्टमा विद्युत् किन्ने गरी जिएमआरलाई ०१९ मै आशयपत्र पठाएको थियो । तर, प्राधिकरणले भने त्योभन्दा कम मूल्यमा पिपिए गर्ने सम्भावना रहेको छ ।

  आउँदो बर्खाबाटै विद्युत् बिक्री 
आउँदो बर्खाबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना प्राधिकरणले बनाएको छ । हरेक वर्ष १ असारदेखि ३० कात्तिक (जुन १५ देखि नोभेम्बर १५)सम्म विद्युत् निर्यात गर्ने बंगलादेशसँग सम्झौता हुनेछ । प्राधिकरणले गएकै बर्खाबाट बंगलादेशमा विद्युत् बिक्री गर्ने योजना बनाए पनि त्रिपक्षीय सम्झौता नहुँदा सफल भएन । ‘अब बंगलादेशसँग खरिद–बिक्रीदर तय भइहाल्छ, यो आफैँमा महत्वपूर्ण चरण हो । त्रिपक्षीय सम्झौताको मस्यौदामा पनि तीनै देशको सहमति जुटिसकेको छ,’ घिसिङले भने, ‘अब यसमा ढिलाइ हुँदैन । आउँदो बर्खादेखि बंगलादेशमा विद्युत् निर्यात सुरु हुन्छ । सांकेतिक रूपमा यो नेपालका लागि महत्वपूर्ण उपलब्धि हो ।’

बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिँदै छ । उक्त आयोजनाको बिजुली आफ्नो प्रसारण लाइन हुँदै बंगलादेश लैजान भारतले यसअघि नै स्वीकृतिसमेत दिइसकेको छ । बंगलादेशमा पनि विद्युत् निर्यात गर्न निश्चित आयोजनालाई स्रोत देखाएर भारतबाट पूर्वस्वीकृति लिनुपर्ने भारतीय सर्त छ । योसँगै नेपाल अन्तरदेशीय विद्युत् व्यापारबाट क्षेत्रीय विद्युत् व्यापारमा पनि प्रवेश गर्नेछ । अहिले नेपाल–भारतबीच विद्युत् व्यापार भइरहेको छ । सीमै नजोडिएको बंगलादेशसँग विद्युत् व्यापार हुनु आफैँमा ठूलो उपलब्धि रहेको घिसिङ बताउँछन् । 

 बंगलादेशमा विद्युत् व्यापारको घटनाक्रम
नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्न सन् ०१८ मा सहमति भएको थियो । सोहीअनुसार ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिसमेत गठन भएको थियो । सोही समितिको बैठक हरेक वर्ष बस्दै नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको अवधारणा अघि बढाइएको थियो । ०७९ भदौमा काठमाडौंमा सम्पन्न ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेशले कात्तिक ०७९ भित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो । तर, भारतसँग समयमै समन्वयन नहुँदा त्यो सफल हुन सकेन । 

गत फागुनमा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले आफ्नो प्रसारण प्रणालीबाट नेपालको ५० मेगावाटसम्म विद्युत् बंगलादेश लैजान दिने सहमति गरेको थियो । त्यसपछि नेपालले बंगलादेशमा विद्युत् बिक्री गर्न थप प्रक्रिया अघि बढाएको थियो । त्यसपछि गत जेठमा भएको नेपाल बंगलादेश ऊर्जा बैठकमा गएकै बर्खामा विद्युत् व्यापार गर्ने योजना थियो । तर, त्यो सफल भएन । 

यद्यपि, यो आउँदो बर्खादेखि बंगलादेशमा विद्युत् निर्यात हुने प्राधिकरणको विश्वास छ । भारतले सहमति जनाइसकेको र बंगलादेश आफैँ अग्रसर भएको अवस्थामा यो सम्भव हुने प्राधिकरणको दाबी छ । सन् २०३५ सम्म बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य छ । बंगलादेशले कोइला तथा डिजेल प्लान्टबाट विद्युत् उत्पादन गर्दै आएको छ । 

ad
ad