१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ८ मंगलबार ०७:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेयर बालेनलाई अभियन्ताले भने– हाम्रो भोट फिर्ता देऊ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ८ मंगलबार ०७:२१:००

खुलामञ्चलाई खुला गर्नेबारे औपचारिक जानकारी नआएको भन्दै अभियन्ताहरूले विरोध जनाएका छन् । विरोधस्वरूप उनीहरूले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई आफ्नो भोट फिर्ता गर्न आग्रह गरेका छन् ।

सोमबार खुलामञ्चमा ‘मुक्त टुँडिखेल’ अभियानले आयोजना गरेको कार्यक्रममा अभियन्ता आलोक सिद्धि तुलाधरले मेयर बालेनले आधिकारिक रूपमा खुलामञ्चमा फुटबल मैदान बनाउने निर्णय फिर्ता लिनुपर्ने, होइन भने आफूहरूले दिएको भोट फिर्ता दिनुपर्ने बताए । ‘खुल्लामञ्चमा दुई वटा फुटबल मैदान बनाउनेबारे मेयर बालेनले फेसबुक स्टाटस त लेख्नुभयो, तर यो स्टाटस आधिकारिक होइन । हामीलाई मान्य छैन । उहाँले स्टाटसमा जति पनि कुरा भन्नुभएको छ, हामीलाई विश्वास छैन । स्टाटसमा फुटबल मैदान बनाउने वा नबनाउनेबारे खुलस्त उल्लेख गरिएको पनि छैन,’ अभियन्ता तुलाधरले भने । बृहत् नागरिक आन्दोलनका अभियन्ता गोविन्द छन्त्यालले खुलामञ्च जनताको भएकाले जनताकै स्वामित्वमा आउनुपर्ने बताए । ‘खुलामञ्चलाई सार्वभौमिकता लोकतन्त्र, गणतन्त्र र संघीयताको अभ्यास गर्ने बिम्बको रूपमा विकसित गर्नुपर्छ,’ उनले भने ।

महानगरपालिका मेयर बालेन्द्र साहले ४ फागुनमा सामाजिक सञ्जाल फेसबुकमा खुलामञ्चमा दुईवटा फुटबल मैदान बनाउने अफवाह मात्रै भएको लेखेका थिए । उनले खुलामञ्च सधैँ खुलै हुनुपर्ने र त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहुउपयोगी महŒवको बनोस् भन्नेमा सचेत रहेको उल्लेख गरेका थिए । महानगरले खुलामञ्चमा फुटबल मैदान बनाउन लागेको विषयमा चौतर्फी विरोध हुन थालेपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका थिए । सामाजिक सञ्जालमा बालेनले लेखे पनि विश्वास गर्ने कुनै आधार नभएको अभियन्ता गणपतिलाल श्रेष्ठले बताए । आधिकारिकताका लागि सूचनाको हक प्रयोग गरेर सूचना माग्ने र सूचना प्राप्तिपछि थप कार्यक्रमका साथ अगाडि बढ्ने उनले बताए ।  

एक वर्षअघि २९ कात्तिकमा बसेको महानगरको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो । अव्यवस्थित पार्किङको समस्या समाधान गर्न पार्किङस्थल निर्माण गर्न डिपिआर बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको पनि विरोध भएपछि महानगर पछि हटेको थियो । तर, महानगर प्रवक्ता नवीन मानन्धर भने भूमिगत पार्किङ केही समयका लागि स्थगित मात्र भएको बताउँदै आएका छन् । खुलामञ्चको आफ्नै इतिहास भएकाले यसलाई खुलै राख्नुपर्ने भन्दै अभियन्ताहरूले विरोध गर्दै आएका छन् ।

नौ दिनको पैदलयात्रापछि काठमाडौं आइपुगे ईः
गत आइतबार बिहान साढे ८ बजेबाट लुम्बिनीबाट पैदल यात्रा थालेका अभियन्ता ईः नौ दिनपछि काठमाडौं आइपुगेका छन् । सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र र सहरी गरिबको पक्षमा लुम्बिनीदेखि सिंहदरबार पैदलयात्रा सुरु गरेका ईः सोमबार काठमाडौं आइपुगेका हुन् । अभियन्ता ईः सहितको टोलीले २० मिनेट मौनधारणपछि प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए । सडक व्यवसाय, स्थानीय सरकारको निषेध, हिंसा गरिरहँदा पनि सिंहदबार मुकदर्शक बन्दा व्यवस्था नै कमजोर हुने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्दै ज्ञापनपत्र बुझाएको अभियन्ता ईः ले बताए ।

प्रधानमन्त्री प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ । ‘गरिब, निमुखा, सामाजिक असमानताविरुद्ध सशस्त्र संघर्ष गरेर आउनुभएको व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ । जुन वर्गका लागि उहाँहरूले संघर्ष गर्नुभएको थियो । त्यही वर्गमाथि अन्याय भएको छ । यसलाई हेरेर बस्न मिल्छ ? भनेर हामीले प्रश्न गर्‍यौँ,’ उनले भने, ‘हाम्रो प्रश्नमाथि उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । केही दिनमै महसुस हुने गरी परिवर्तन देख्न पाउनुहुन्छ भन्नुभएको छ ।’