साहित्यकार सुभाष घिमिरेका दुई उपन्यास ‘मौन विद्रोह’ र ‘द साइलेन्ट रिबिलियन’ को लोकार्पण भएका छन्। शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा घिमिरेद्वारा लिखित दुई उपन्यासको लोकार्पण भएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरे, कार्यक्रमका सभापति शिखा बुक्सका पुष्पराज पौडेल, विशेष अतिथि श्यामल, समीक्षकद्धय उदय अधिकारी र राजकुमार बानियाँ तथा लेखक सुभाष घिमिरेले दुवै उपन्यासको सामूहिक लोकार्पण गरेका थिए।
शिखा बुक्सले प्रकाशनमा ल्याएको मौन विद्रोह एक नेपाली नारीले परम्परागत सामाजिक मान्यतालाई तोडेर आफ्नो जीवन साथी रोजेको विषयमा केन्द्रित छ।
विमोचन समारोहका प्रमुख अतिथि घिमिरेले साहित्य सरस र हृदयस्पर्सी हुने अनुभव आफूले प्रतिरक्षी वकिलको रूपमा बहस गर्दा पनि पटक-पटक गरेको उल्लेख स्मरण गरे।
समारोहका विशेष अतिथि श्यामलले साहित्यिक कृति आकारले भन्दा त्यसमा निहित कथ्यले पठनीय हुने उल्लेख गरे। कार्यक्रममा समीक्षक उदय अधिकारीले पहिले अनुवाद र संक्षिप्त लेखनमा देखिएका घिमिरेले आख्यान विधामा प्रवेश गरेर उत्कृष्ट कृति नेपाली साहित्यलाई उपहार दिएको बताए।
उनले नेपाली लेखकलाई अंंग्रेजीमा लेख्न प्रेरित गर्दै भने, ‘हामीले लेखेको प्रोजेक्ट रिपोर्ट विश्वभरका अंग्रेजी जान्नेले पढ्न र बुझ्न सक्छन्, हाम्रो अनुवाद बुझ्छन् भने हामीले लेखेको साहित्य नबुझ्ने कुरा हुन सक्दैन। भारतका चर्चित लेखक सलमान रुस्दीले आफ्नो अंग्रेजी लेखन भारतीय शैली, भाषा र स्तरअनुसार हुन्छ भनेर हामीलाई पनि नेपाली शैली र स्तरमा लेख्न प्रेरित गर्नुभएकै छ।’
अर्का समीक्षक बानियाँले उपन्यास नयाँ शैलीमा आएको उल्लेख गरे। उनले मौन विद्रोह एक महिला पात्र अनामिकाको बाल्यकालदेखिको मनोभाव र विद्रोहसम्मका कुराहरूलाई आफैँले प्रस्तुत गरेको सुन्दर अभिव्यक्तिको संग्रहको रूपमा लिन सकिने बताए।
कार्यक्रममा लेखक तथा उपन्यासकार सुभाष घिमिरेले आफूलाई उपन्यासको आकार सानो भयो कि भन्ने द्विविधा भइरहेको उल्लेख गर्दै भने, ‘मेरो मूल पात्रले भन्न खोजेको कुरा सकियो। त्यसपछि त रोकिनै पर्यो। अरू गन्थन जोड्ने कुरा भएन। मलाई कवि श्यामलको अभिव्यक्तिले ढाडस दिएको छ। आकार हैन कथानक मूल कुरा हो। सन्देश मूल कुरा हो। यसमा विमति जनाउने ठाउँ छैन।’
उनले आफू अध्ययन र कामको सिलसिलामा दुई दशक अमेरिका बसेको उल्लेख गर्दै विदेश बस्ने नेपाली र अझ विदेशमा नै जन्मिएको नयाँ पुस्ताका लागि अंग्रेजीमा किन नलेख्ने भनेर त्यही कथावस्तुलाई ‘द साइलेन्ट रिबिलियन’मा पस्किएको सुनाए।